देश विदेश

मलेसियामा सुरु भयो कोरोना विरुद्दको खोप अभियान, गलत हल्ला फैलाए कडा सजाय हुने चेतावनी | देश परदेश

शेयर गर्नुहोस्

मलेसियामा कोरोना (कोभिड १९) विरुद्दको खोप अभियान सुरु भएको छ । सुरुमा प्रधानमन्त्री मुहियाद्दिन यासिनले खोप लगाएका छन् । उनले कोरोना विरुद्दको खोप अन्य सामान्य ईन्जेक्सन जस्तै भएको र यसले कुनै दुखाई अनुभव नभएको बताएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

मलेसियाका प्रधानमन्त्री मुहियाद्दिनले आफूलाई खोप लगाएको बेलामा कुनै अप्ठ्यारो नभएको भन्दै कसैलाई पनि नआत्तिन र स्वाभाविक रुपमा खोप लगाउन आव्हान गरे । उनले सवैलाई खोप लगाउन अग्रसर हुन पनि अनुरोध गरे ।

यसअगाडी मलेसियाले फेब्रुअरी २६ देखि खोप अभियान सञ्चालन हुने बताए पनि एक दिन अगावै अभियान सुरु भएको हो । मलेसियाको सारवाकमा १३ जना बरिष्ठ पत्रकारलाई पनि सुरुमा खोप दिइने भएको छ । अग्रमोर्चामा खटिएकाहरुका लागि सुरुमा खोप दिने नीति बमोजिम पत्रकारहरुलाई पनि खोप दिन लागिएको हो ।

अग्रमोर्चामा खटिने तथा सन्देश दिनका लागि पनि पत्रकारहरुलाई सुरुमै खोप दिइनु पर्ने माग त्यहाँको पत्रकारहरुको संगठनले राख्दै आएको समाचारमा जनाइएको छ । १३ जनालाई प्रतिनिधिमुलक रुपमा सुरुमा खोप दिइने र अन्यले दोश्रो चरणमा खोप लगाउन सक्ने जनाइएको छ ।
मलेसियामा कोरोना विरुद्दको खोप निःशुल्क रुपमा विदेशी श्रमिकलाई दिइनु पर्ने विषयमा विवाद छ । विदेशी श्रमिकलाई पनि प्राथमिकताका साथ खोप दिइने समाचार सार्वजनिक भइरहेका बेला पहिले स्वदेशी नागरिकलाई खोप दिइएपछि मात्र विदेशीलाई खोप दिनुपर्ने माग सुरु भएको हो । यसको नेतृत्व श्रमिकको संगठनले नै गरेको छ । मलेसियन ट्रेड यूनियन कंग्रेस (एमटीयूसी) ले सरकारले पहिले स्वदेशी नागरिकलाई खोप दिइएपछि मात्र विदेशी श्रमिकलाई खोप लगाउन सुरु गर्नुपर्ने माग राखेको हो । एमटीयूसीका महासचिव कमारुल बहरिन मन्सुरले यस्तो तर्क गरेको स्थानीय सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो ।

तर मलेसियाका सरकारी अधिकारीलाई उधृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले मलेसियाली सरकारले आफ्नो सुरक्षा गरौं, सवैलाई सुरक्षित बनाउँ अभियान अन्तर्गत आफ्नो मुलुकमा कार्यरत विदेशी श्रमिकलाई खोप दिने लेखेका थिए । यसरी दिइने खोप निःशुल्क रुपमा उपलव्ध हुने र अवैधानिक रुपमा बस्दै आएकाहरुले पनि सो सुविधा प्राप्त गर्ने जनाइएको छ । मलेसियाले आफ्नो नागरिकको संख्या भन्दा धेरै मात्रामा खोपको मात्रा उपलव्ध हुने र त्यसबाट त्यहाँ कार्यरत विदेशी श्रमिकलाई पनि खोप पुग्ने बताएको छ । खोपमा विदेशी श्रमिकलाई वेवास्ता गर्नु उनीहरु प्रति अन्याय हुने रोजगारदाताहरुको संगठनले बताएको छ । विदेशी श्रमिकलाई खोप नदिइएमा यसले मलेसियालाई कोरोना संक्रमणविहिन बनाउने अभियानमा धक्का लाग्ने उनीहरुको भनाई छ ।

यसैबीच मलेसियाली अधिकारीले कोरोना विरुद्दको खोपका बारेमा गलत हल्ला फैलाउनेलाई कडा सजाय हुने चेतावनी दिएका छन् । मलेसियाली प्रहरी उपप्रमुखले त्यसरी हल्ला फैलाउनेलाई कानुनको कडा प्रावधान अन्तर्गत कारवाही हुने भन्दै यसमा समयमै सहज रहन चेतावनी दिएका हुन् । हालसम्म भनें कसैले त्यसरी हल्ला फैलाएको कुनै गुनासो दर्ता नभएको भन्दै भविष्यमा कुनै रिपोर्ट प्राप्त भएमा कडा कारवाही गरिने बताएका हुन् । मलेसियाले फाइजर तथा बायोएनटेकले उत्पादन गरेको खोपलाई प्रयोगमा ल्याएको हो ।

१३ फाल्गुन २०७७, बिहीबार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/02/11752/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *