देश विदेश

देउवा ७ पटक प्रधानमन्त्री हुन्छन् भन्ने ज्योतिषले भने, ‘राजसंस्था जीवित हुने योग परेको छ’

शेयर गर्नुहोस्

काठमाडौं। पछिल्लो समय सामाजिक सञ्जालमा एक व्यक्तिलाई खोजी गर्ने क्रम ह्वात्तै बढेको छ । विवादका कारण नेकपा दुई समूहमा विभाजन भएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने हल्ला चलेपछि उनको खोजी हुन थालेको हो।

२०७४ सालको निर्वाचनका बेला देउवाले आफूलाई ज्योतिषीले ७ पटक प्रधानमन्त्री हुने योग छ भनेको बताएका थिए । अहिले पुनः देउवा प्रधानमन्त्री बन्ने अवस्था आएको भन्दै सामाजिक सञ्जालमा उनै ज्योतिषीलाई खोजी गर्न थालिएको छ । देउवा यसअघि ४ पटक प्रधानमन्त्री भइसकेका छन् । अहिले पुनः देउवा प्रधानमन्त्री बन्ने अवस्था आएमा यो उनको पाँचौं प्रधानमन्त्रीत्व हुनेछ ।

देउवाको प्रधानमन्त्रीत्वबारे भविष्यवाणी गर्ने ज्योतिष हुन् – सुरेशचन्द्र रिजाल। रिजाल दक्षिण एसीयाली ज्योतिष महासंघ नेपालका महासचिव पनि हुन्। उनीसँग डिसी नेपालले कुन प्रसंगमा देउवालाई ७ पटक प्रधानमन्त्री हुने कुरा बताउनु भएको थियो भनी सोधेका थियौं।

‘हामी खगोलमा हुने हलचल र खगोलीय परिस्थितिलाई गणित गरेर देखिएको कुरा बताउँछौं’ रिजालले भने, ‘देउवालाई यो कुरा भनेपछि अन्य व्यक्ति र अन्य प्रसंगमा पनि धेरै कुरा भनेका छौं र देखिएका पनि छन्। अहिलेको दशैंको घटस्थापना शनिबारको दिन परेको छ, छत्रभंग योग पर्छ भनेका थियौं। प्रतिनिधिसभा विघटन हुनु भनेको छत्रभंग योग नै हो।’

शक्तिपीठहरुमा पनि मानिसहरुको आवागमले दैवीशक्ति बढ्ने रिजालको भनाई थियो। रिजालले भने, ‘जसरी एउटा नेता जनताको धेरै मतका कारण शक्तिशाली बन्छ त्यस्तै शक्तिपीठहरु पनि भक्तजनहरुको आवागमनका कारण शक्तिशाली हुने गर्छन। यो कुराले के संकेत गर्छ भने नेपालमा छत्रभंग योग परेपछि सबै शक्तिपीठहरु बन्द थिए। उनीहरुको पनि शक्ति क्षिण हुँदै गएको थियो। त्यसैकारण पनि यी समस्या आएका हुन्।’

रिजालका अनुसार २०७२ सालबाट वृश्चिक राशीलाई साढेसातिको दशा चलेको थियो। नेपालको राशी पनि वृश्चिक भएका कारण त्यो ग्रहले अहिलेसम्म अशान्ति, जनता दुःखी हुने अवस्थाको सृजना गरेको थियो। उनले भने, ‘गएको कात्तिक २९ गतेदेखि साढेसातीले छोडेको छ। अझै शनिभन्दा पहिला वृहस्पति आउनका लागि १ वर्ष बढी लाग्छ। तसर्थ २०७९ साल नआउँदासम्म देश र जनताले सुखको अनुभूति गर्न पाउँदैनन्।’

नेपाल हिन्दू सनातन धर्म मान्ने देश भएको उनले बताए। उनले भने, ‘गौतमबुद्धको रुपमा नारायण र सीताको रुपमा लक्ष्मीको जन्म भएको देशले संसारलाई लिड गर्नु पर्ने । तर, त्यसो भएन। अझै पनि धर्म नासिदै जाने, धर्म नमान्नेलाई हामीले सत्ता, सरकार सुम्पिने हो भने समस्या बढ्दै जाने छ।’

प्रधानमन्त्री ओलीतर्फ संकेत गर्दै रिजालले भने, ‘ग्रन्थ अध्ययन गरेकाहरुले नै धर्मको रक्षा गर्न सक्छन्। धर्म, संस्कार र संस्कृतिको रक्षा नै राष्ट्र र राष्ट्रियताको रक्षा हो। यस्ता व्यक्तिलाई सबैले साथ दिनु हुन्छ।’ नेपाली कांग्रेसले पनि धर्म रक्षा गर्नेलाई नै सरकार गठनका लागि सहयोग गर्ने विश्वास रिजालको थियो।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि धमिलिएको राजनीतिक वातावरण पुनःस्थापनसँगै केही सहज भए पनि स्थिरता नहुने भने प्रष्ट छ। राजनीतिक संकट परेमा चाल्न सकिने अन्य कदमहरुका बारेमा पनि ज्योतिष रिजालले संकेत गरेका छन्। उनले भनेका छन्, ‘२०७८ मा राजा र मन्त्री दुबै मंगल ग्रह छन्। मंगल न्याय र सुरक्षाको कारक मानिन्छ। त्यो बेलामा देशमा न्यायलय र सुरक्षा बलियो हुने अवस्था आउन सक्छ।’

राजनीतिक संकट परेका बेला सुरक्षा निकायले आफैले सत्ता संचालन गर्न सक्नेतर्फ पनि ज्योतिष रिजालले संकेत गरे। उनका अनुसार पुरानो शाहवंशीय राजा नआए पनि राजसंस्था जीवित हुने संजोग पनि परेको छ। ‘२०७८ को जेष्ठ, असार, कार्तिक, मंसिर र पुसमा सावधानी अपनाउनु पर्नेछ। यी महिनाहरु अलि शुभ छैनन्,’ ज्योतिष रिजालले भने।

प्रतिनिधिसभाको पुनःस्थापना भएपछि नेकपा (प्रचण्ड–नेपाल)समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। बुधबार चितवनको आमसभालाई छोडेर काठमाडौं आए लगतै अध्यक्षद्वयले देउवालाई उनकै निवास बुढानिलकण्ठमा गएर भेट गरेका थिए।

नेकपाको आन्तरिक विवादका कारण दुई समूहमा विभाजन भएपछि नेपाली कांग्रेसको हातमा सरकारको चावी पुगेको छ। सरकारको चावी पुगेपछि नेपाली कांग्रेसलाई फकाउन नेकपाका दुवै समूहहरु सक्रिय भएका छन्।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/229982/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *