देश विदेश

योद्घा

शेयर गर्नुहोस्

ऊ दस वर्षपछि राजविराजको जेलको मूल ढोकाबाट बाहिर निस्कँदा बिहानको एघार भइसकेको थियो । श्रीमती र छोरा लिन आएका थिए । श्रीमतीलाई हेर्यो । श्रीमती मुसुक्क हाँसी । अगाडिका कपालहरू फुलेछन् । अनुहार ख्याम्स्याङ्ग भएछ । उसलाई श्रीमतीको त्यसैत्यसै माया लागेर आयो । ऊ पनि फिस्स हाँस्यो । ऊ जेल पर्नुभन्दा पहिले उसकी श्रीमती पोटिली थिई । राम्री थिई । छोरो टुकुटुकु हिँड्थ्यो । उसले छोरोलाई हेर्यो । लाठे भएछ । छोरो एकटकले उसलाई अपरिचितझैं हेरिरहेको थियो । उनीहरू एउटा रिक्सामा बसे । एउटा सानो ट्याङ्का र उनीहरू तिन जना । लाठे भए पनि छोरालाई आमाले काखमा राखी । उसले रिक्सामै छोरालाई सुम्सुम्यायो । श्रीमतीको उडेको कपाल मिलाइदियो । श्रीमती फेरि फिस्स हाँसी ।

उसले रिक्सावालालाई भन्यो– ‘नेता चोक दिसँ चल’ (नेता चोकतिर हिँड्)

रिक्सावाला ठसठसी कनिरहेको थियो । उहिल्यै पिच गरिएको र अहिले खाल्डा खाल्डी मात्रै भएको सिराहा रोडमा रिक्सा घच्याक्क हुन्थ्यो । नेता चोकमा पुगेपछि रिक्सावालालाई उसले भन्यो– ‘रूपनी रोड दिसँ चल’

नेता चोकमा जङ्गला भेट भयो । चिच्यायो– ‘रे छोटलाल, कैया छुट्लिही ?’ (ए छोटेलाल, कहिले छुटिस् ?)

ऊ हाँस्यो मात्र । रिक्सा अगाडि बढ्दै थियो । उसले मुखको खैनी भुइँमा प्याच्च थुक्यो र भन्यो– ‘सारसब राजविराजके और रद्दी बनादेल्के, शोषकसब’ (सालेहरूले राजविराजलाई रद्दी बनाइदिए, शोषकहरू)

श्रीमतीले भनी– ‘कि कर्बे ?, सारसब फँस्यादेल्के’ (के गर्ने ?, सालेहरूले फँसाइदिए)

ऊ बोलेन । रिक्सा आफ्नै धिमा गतिमा हिँडिरहेको थियो । उसले श्रीमतीलाई सोध्यो– ‘आरोतोरी, अतौका त्रिभुवन चोकके कि भेले ?, गजेन्द्रनारायण चोक बन्यादेल्के । आदरनीय नेताजीके नाममे अनकर जगह हडैप लेल्के । यी बढियाँ बात नै भेले’ (अहो, यहाँको त्रिभुवन चोक के भयो ?, गजेन्द्रनारायण चोक पो बनाएछन् । आदरणीय नेताजीका नाममा हड्पेछन्, यो राम्रो काम भएन)

श्रीमती केही बोलिन । बरु छोरो बोल्यो– ‘केनाके ?’ (कसरी ?)

उसले छोरोलाई भन्यो– ‘अनकर जगह जबर्जस्ती कब्जा क्यालेल्के त बढियाँ केनाके भेले ?, सारसब दोसर बनेतिए त नै हेतिए ?, लुर नै छे चोट्टासब’ (अर्काको ठाउँ जबर्जस्ती हड्पिनु कसरी राम्रो भो त ?’

सालेहरूले अर्को बनाएको भए हुन्नथ्यो ? चोट्टाहरूको सामथ्र्य छैन अनि)

उनीहरू रुपनी रोड पुगे । श्रीमतीले ब्लाउजभित्र हात हाली र एउटा थैली झिकेर रिक्सावालालाई पैसा दिन सोधी– ‘कतेक टका ?’ (कति पैसा ?)

रिक्सावालाले अझ दयनीय पारामा भन्यो– ‘चालिस टक्का हुजुर !’

उसले अचम्म मान्दै भन्यो– ‘आरोतोरी, वइबेरमे त पाँच टक्का छेले’ (ओहो, उतिबेला त पाँच रुपियाँ थियो)

रिक्सावालाले आफ्नो पान र खैनीले कोत्र्याहा पारेको काला दाँत देखायो, हाँस्यो र भन्यो– ‘ऊ जमाना चैलगेल हुजुर, राजतन्तर गेले आ गणतन्तर चैल एले’ (त्यो जमाना गयो हजुर, राजतन्त्र गइसक्यो, गणतन्त्र आइसक्यो)

उसले आफ्नो घरलाई हेर्यो । टालीबाट पानी चुहेका दागहरू प्रस्टै देखिन्थे । घरआँगन माटोले लिपेको थियो । सुन्दर देखिन्थ्यो । ऊ आफ्नो कोठामा गयो । श्रीमतीले फरिया फेरी । ब्लाउज फेरी । पेटीकोट फेरी । उसले श्रीमतीलाई हेरिरह्यो । श्रीमतीले उसलाई भनी– ‘लाज नैहैछे आहाँके, उधर घुरू’ (लाज लाग्दैन तपाईँलाई ? उता फर्किनुस्) ।

आज उसकी श्रीमतीले खाना पकाउन जाँगर चलाई । लौकाको तरुवा बनाई । आलुको भुजिया बनाई । आलुको चोखा बनाई । घौका सागको लदबदे बनाई । माटाको हाँडीबाट अस्ति किनेको अरवा चामल झिकी । पकाई । मुसुरोको दाललाई खोर्सानी, प्याज हालेर झ्वाँइय झानी । बैगनलाई कासन पुरयाएर पकाई । उनीहरूले खाना खाए । छोराले झन् मिठो मानेर खायो।

अहिले ऊ खटियामा पल्टिएको छ । छोरो सुतिसकेको छ । श्रीमती घरधन्दा गर्दै छे । ऊ एकतमासले श्रीमतीलाई हेरिरहेको छ । पर्खिरहेको छ । श्रीमतीले भाँडा माझी । चुल्हो पोती । गुवालीमा गएर गाई हेरी । आँगनमा निक्ली । आकाशतर्फ हेरी । छयाङ्ङ फाटेको थियो । निलो आकाशमा ताराहरू चम्किरहेका थिए । भित्रबाट ऊ करायो– ‘रे कन्किर्वाके म्या, कते गेलिही’ (ओ, छोराकी आमा, कता गयौ ?)

उसकी श्रीमती घरभित्र पसी । पहिले छोरालाई हेरी । छोरो मस्त सुतेको थियो । तैपनि छोरालाई बोलाई– ‘बौवा, रे बौवा’ । छोरो बोलेन ।

उसले श्रीमतीलाई तान्यो । सुम्सुम्यायो । चाट्यो र एकछिन उफ्य्रो । स्वाल्यात्त । ऊ निमेषमै सकियो । स्खलित भयो । उठ्यो । लुङ्गी मिलायो । श्रीमती उसैलाई हेरिरहेकी थिई ।

ऊ सोच्न थाल्यो । उफ यो के भयो ? किन भेट्नेबित्तिकै स्खलन ? । राजविराज जेलमा छँदा अरूले जस्तै उसले पनि आन्दोलन गरेको थियो । जेलरले दिने सिधाले मान्छेलाई पुग्दैन । ‘गाँस, बास, कपास, हावा, पानी, मात्र जिन्दगी होइन । यौन अधिकार चाहियो, चाहियो, चाहियो’ यो नारा आफैले खाने थालको पछाडिपट्टि लेखेर आन्दोलन गरेका थिए । तर जेलरले सुनेन । सरकारले सुनेन । न्यायालयले सुनेन । कसैले सुनेन । उसलाई हेरेर परिवेश हाँसिरह्यो । विवशताले मजाक उडाइरह्यो । ऊ मनमनै सोच्दै थियो । गम्दै थियो । के बुढ्यौली लागेकै हो त ? । ऊ अर्कोपट्टि फर्केर सुत्न खोज्यो । निद लागेन । उसकी श्रीमती निदाइसकेकी थिई । ऊ श्रीमतीपट्टि फक्र्यो । अँध्यारोमा टर्च बालेर हेर्यो । श्रीमती अर्धनग्न थिई । उसलाई आ स्वास्नी भर्खरकी लाग्यो । मोहक लाग्यो । उसमा एकाएक जोस आयो । श्रीमतीलाई अँगाल्यो । सुमसुम्यायो । ऊ स्वर्गीय आनन्दतर्फ उन्मुख भयो । श्रीमतीले पनि मुस्कुराएर हेरी । ऊ खुसी देखिई र भनीः ‘अब सुतू, बड्का रात भगेले’ (अब सुत्नुस्, रात छिप्पिइसक्यो)

०००००

खोई किन हो उसलाई निद लागेन । उसको घरको टाली थेग्ने डाँडाभाटा मक्किसकेका थिए । पानी चुहिने भएकाले कतैकतै प्लास्टिकले छोपिएको थियो । उठेर पानी खायो । उसकी श्रीमती मस्त सुतेकी थिई । सायद उसकी श्रीमतीलाई अब कुनै फिकर छैन । खसम आएको छ । ज्यान आएको छ । भाग्य आएको छ । परिवेश हाँसेको छ । ढिलै भए पनि भगवानले सुनेका छन् । सायद श्रीमती ठान्दी हो, उसको श्रीमान् आएको छ । खेत खनौँला । खलिहान बनाऔँला । गाई पालौँला । यो जीवन कसो सुखसँग नबित्ला त ? ।

०००००

उसले आठ पढेको हो । उसका बाबुआमा एकै साल खसे । ऊ पढाइ छोडेर लगना याने अनौ समाउन पुग्यो । रोगाएर थला परेपछि उसका आमाबाबुले उसको बिहे मझुवावालीसँग गरिदिएका हुन् । हतारहतार । ऊ हलो जोती नै रहेको हुन्थ्यो । उसकी श्रीमती याने मझुवावाली कलौ बोकेर आउँथी । मुसुक्क हाँस्थी । केटाकेटी नै थिई ऊ पनि । चरम गरीवी थियो र पनि जीवन चलेकै थियो । एकदिन उसलाई गाउँको नेता जङ्गलाले भन्यो– ‘रे छोटेलाल सुन त’

उसले ध्यान दियो । जङ्गला अलि पढेको र बाठो थियो । जङ्गला भन्न थाल्यो– ‘हमरासबके अतेक काम करैछिए, आ बैठलबैठल ऊ चतुरानन्द सब ल्यालैछे, यी सामन्त प्रथाके अन्त्य करैके लेल एकजुट होव पर्ले ।’

उसलाई जङ्गलाले भनेको कुरा खुब जँच्यो । सधैँ काम गर्दा पनि खान नपुग्ने यो कस्तो व्यवस्था । ऊ रातिराति जङ्गलाले बोलाएको ठाउँमा जान्थ्यो । राति अबेर भएपछि घर फर्कन्थ्यो । एकदिन श्रीमतीले भनी– ‘कते जाइछिए, भर रात । हमरासब गरिव छिए । सरकार गरिवके नैछिए । कुछो भ्याजेते त हमरासबके कोही नै छे, भगवानोँ गरिबके नैछिए’ (कता जानुहुन्छ रातभरि । हामी गरीव छौँ । यो सरकार गरीवको होइन । केही भइहाल्यो भने हाम्रो कोही छैन । भगवान पनि छैन)

उसले भनेको थियो– ‘अब गरीब दुःखीवाला सरकार बन्ते’

उसले शोषक भन्न सिक्यो । शासित भन्न सिक्यो । अन्याय भन्न सिक्यो । सामन्त भन्न सिक्यो । आन्दोलन भन्न सिक्यो । विद्रोह भन्न सिक्यो । गणतन्त्र भन्न सिक्यो । प्रजातन्त्र भन्न सिक्यो । जनताको शासन भन्न सिक्यो । हातमा ढुंगा लाठी बोक्न सिक्यो । बन्दुक बोक्न सिक्यो । भूमिगत हुन सिक्यो । हेर्दाहेर्दै ऊ हलीबाट विद्रोही आन्दोलनकारी भयो । योद्धा भयो ।

सरकारको नजरमा ऊ आतंककारी भयो । उसलाई पत्तै भएन ऊ देशद्रोही भयो । उसमा वर्गीय स्वार्थ प्रबल भएर आयो । उसले एक दिन जङ्गलालाई चुनौती दियो ‘रे जङ्गला, जुद्धके मैदानसे कथिल्या भागैछिइ, हमरासबके हतियार दैछिई, आ तुँ मेजमान छिही ? चल हतियार समा’ (ए जङ्गला, युद्धको मैदानबाट किन भाग्छस्, हामीलाई हतियार दिन्छस्, अनि तँचाहिँ पाहुना होस्, हतियार उठा)

उसको कुरा सुनेर जङ्गला स्तब्ध भयो । मान्छेले उसलाई सुनाए कि जङ्गला बडहाकिम बङ्गलाबाट राति १० बजे फुत्त बाहिर निस्केको छ । यो बङ्गला उहिले राणाकालमा बडाहाकिमको निवास थियो । पञ्चायत कालमा यो अञ्चलाधीशको निवास भयो र अहिले प्रजिअ बस्थे यो बङ्गलामा । मान्छेले सुनाए, यो जङ्गला दोग्ला हो । तर, उसले पत्याएन । जनताको राज्य स्थापना गर्न हिँडेको जङ्गला कसरी दोग्ला हुन सक्थ्यो । ऊ पनि जनताको राज्य स्थापना गर्न हिँडेको थियो । त्यही सिकेको थियो । त्यही सिकाइएको थियो । समानताको खोजीमा हिँडेको थियो । भोकले तड्पिएर हिँडेको थियो । बलिदानी भावले हिँडेको थियो । गणतन्त्रका लागि हिँडेको थियो । एउटा स्वप्नील संसारको खोजीमा हिँडेको थियो । ऊ बोल्न पाउने अधिकार खोज्दै थियो । खान पाउने अधिकार खोज्दै थियो।

बकधुवाको हरिनारायण चौधरीको घरमा राति गोप्य मिटिङ थियो । सधैँ सेतो लगाउने जङ्गलाले आज रातो सर्ट लगाएको थियो । उसलाई त्यहाँ भएका विद्रोहीहरूले जिस्क्याएका पनि थिए । उसले जवाफ दिएको थियो–‘ससुरालसे देने छे यी लल्का सर्ट ।’

मिटिङ जोडदार चलेको थियो । यत्तिकैमा चारैतर्फबाट पुलिसले घेरेको सूचना सुराकीले दियो । उनीहरू भाग्न खोजे । तर, रातो सर्ट लाउने जङ्गलाबाहेक सबै समातिए । जेल परे ।

०००००

अहँ उसलाई पटक्कै निद लागेन । ऊ समग्र परिवेशसँग प्रश्न गरिरहेको छ । अनाहकमा जेल किन ? यो विधाता ममाथि क्रूर किन ? के मैले अधिकार खोज्नु अपराध हो ? के म भोको छु भन्नु अपराध हो ? के मेरो पहिचान चाहियो भन्नु अपराध हो । मैले के बिराएको थिएँ ? यो समाजको । यो राष्ट्रको । अदालतको । पुलिसको । वा यी पार्टीहरूको । भगवानको । खोई कहाँ छ अपरिमित विधाता ? कहाँ छ सहयोगी समाज ? कहाँ छ न्याय दिने अदालत ? कहाँ छ मेरो राष्ट्र ? कहाँ छ दिव्यदृष्टिवाला भगवान् ? कहाँ छ ? कहाँ छ ? उसले खाटबाटै थुक्यो।

उसका दिनहरू यसै बित्तै छन् । समयले आफ्नो काँटा घुमाइरहन्छ । तर, अचेल ऊ सोचिरहेछ । गमिरहेछ । गणतन्त्र आइसकेछ । अधिकार आइसकेछ । पहिचान आइसकेछ । उसले फेरि आफ्नो घरको कुहिसकेका कोराबत्ती (डाँडाभाटा) लाई हेर्यो । सबैलाई नियाल्यो । खोई मेरो गणतन्त्र ? खोई मेरो अधिकार ? खोई मेरो पहिचान ?

ओहो परिवर्तन त भएछ । दोग्ला जङ्गला कार चढ्ने भएछ । दोमुहल्ला किनेछ । चतुरानन्दका खलकै शहर पसेछन् । चतुरानन्दका खलकहरू अब्बल गणतन्त्रवादी भएछन् । गणतन्त्रको डाडूपुन्यू आफ्ना हातमा पारेछन् । पारिबाट आएकाहरू अब्बल नेपाली भएछन् । अनि खाँटी नेपाली रबिया, सोमिया, मङ्गला, बुधनाको अवस्था झन् बदर भएछ । नेपाली हसिनाले हाँस्न पाएकी छैन । बुधनी भोकै छ । रमवतीया चिथ्रा लाउन बाध्य छे । रतुवावाली स्कुलसँग जोडिएको घरमा बसेर पनि निरक्षर छे । ऊ एकाएक चिच्यायो– ‘कहाँ छे हमर गनतन्तर ? कहाँ छे हमर अधिकार ?, कहाँ छे हमर पहिचान ?’ (खोई मेरो गणतन्त्र ?, खोई मेरो अधिकार ? खोई मेरो पहिचान ?) ।

उसको आवाज सुनेर श्रीमती उठी । बिहान भैसकेको थियो । छोरो पनि उठ्यो । छोरोले भन्यो– ‘म्या, भुक लग्ले’ (आमा भोक लाग्यो) । उसकी श्रीमती मुरहीको भाँडो हेर्न थाली । रित्तै थियो ।

ऊ झन् जोडले चिच्यायो–‘रे गनतन्तर, कते गेले हमरा भैर पेट खाइके अधिकार ?’ (ए गणतन्त्र, कता गयो मेरो अघाउँदी खान पाउने अधिकार ?) ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/arts/465901-1614237481.html

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *