पालो

शेयर गर्नुहोस्

प्रविना विद्यालयबाट घर फर्किँदै थिइन् । उनले बाटामा धेरै पर्यटकहरू भेटिन् । कोही हिमाल देखाउँदै रमाइरहेका थिए । कोही फोटो खिचिरहेका थिए । कोही नजिकैको झर्नामा भिजिरहेका थिए । उनले फोटो खिचिरहेकाहरूमध्ये एक जना वृद्घ महिला पनि देखिन् । उनी काटीकुटी हजुरआमाजस्तै देखिन्थिन् । उनी वैशाखी टेक्थिन् । उनको आँखामा चस्मा थियो । उनी अरूसँग धेरै कुरा सोध्दै थिइन् ।

“हँ यी आमैको त उमेर पनि मेरै हजुरआमाको जस्तो होला । सोधूँ कि क्या हो ?” उनी एक जनाको छेउमा उभिइन् ।

“सि लुक्स लाइक माइ ग्रेण्डमदर, क््यान आइ नो हर एज ?” प्रविनाले सोधिन् । पर्यटक मुसकुराए । उनले भने, “ओहो सो । सि इज अराउण्ड सेभेन्टी ।”

– सि इज टकिङ एक्टिभली !

– विकज सी क्यान्ट सी पर्पली एण्ड क्यान्ट वाक मच !

पर्यटकको जवाफ सुनेर प्रविना निकै सोचमग्न भइन् । उनले फेरि हजुरआमालाई सम्झिइन् । उनले धेरैपटक हजुरआमा बाख्रोको छेउमा बसेर बाख्रालाई केही भनिरहेको देखेकी थिइन् । लौरो टेक्दै गएर हजुरआमाले अम्बा र कागतीको बोट सुमसुम्याउँदै बोलेको सुनेकी थिइन् ।

उनी केहीबेरमै घरमा पुगिन् । घरको आँगनमा पाइला हालेर पनि प्रविना रोकिइन् । उनी परैबाट आफ्नी हजुरआमालाई खोज्न थालिन् । हजुरआमा देखिनुभएन ।

“सधैँ आँगनमा बस्नुहुन्थ्यो आज कता जानुभएछ हँ ? कतै लड्नु त भएन ? आमा घरमा हुनुहुन्न होला …!” कुरा खेलाउँदै प्रविना दौडिइन् । हजुरआमा त करेसाबारीमा गएर सुन्तालाको बोटलाई छामिरहनुभएको रहेछ ।

“मेरै हजुरआमाको उमेरमा मानिस त्यसरी रमाएर हिँड्छन् । उहाँको भने आँखा कमजोर भए । शरीर पनि कमजोर भयो । लठी नभए हिँड्न पनि सक्नुहुन्न । दिनभरि बस्नुपर्दा कति पट्यार लाग्छ होला । पहिलेदेखि नै हिँडेकाले होला करेसाबारीसम्म जानुहुन्छ । लड्नुभयो भने ..”.प्रविनाले आशंका गरिन् ।

“हामी पनि घरमा पस्नेबित्तिकै खाजा खाने र गृहकार्य गर्नेतिर लाग्छौँ । कोसँग बोल्ने उहाँले ?” प्रविना मनसँग बोलिरहिन् । उनले हजुरआमा बाख्रा र कागतीका बोटसँग बोल्नुको रहस्य पनि बुझिन् । उनी बिस्तारै विरालोले भै चाल मार्दै हजुरआमाको नजिक पुगेर उभिइन् ।

“प्रविना आइपुग्यौ ?” हजुरआमाको बोली फुट्योे ।

–हजुरआमा ! हजूरले मलाई देख्नुभयो कि ?

–आकृति देखे पनि अनुहार चिन्दिन तर तिमीलाई त वासनाले नै चिनिहाल्छु नि । हजुरआमाले भन्नुभयो । उनले एकटकले हजुरआमालाई हेरिन् कहिल्यै नदेखेजस्तो गरी । खै किनकिन हजुरआमाप्रति अझ धेरै माया र श्रद्घा जागेर आयो ।

“हजुरआमा !”

हजुरआमाले छाम्न हात पसार्नुभयो । उनी नजिकै गइन् । हजुरआमाले उनलाई मुसार्नुभयो । प्रविनाले पनि हजुरआमाको कपाल मुसारिन् र समालेर बाँधिदिइन् ।

“पहिले खाजा खाऊ न” हजुरआमा भन्दै हुनुहुन्थ्यो । उनीचाहिँ हजुरआमाको छेउमै उभिइरहिन् ।

“हजुरआमा दिनभरि एक्लै बसिरहनु पर्दा हजूरलाई दिक्क लागेन ?”

“पहिलेपहिले त दिक्क लाग्थ्यो । तर, अहिले त बानी नै भइसक्यो छोरी । आज किन यस्तो प्रश्न गर्दैछ्यौ ?”

– हजुरलाई बाहिरका नयाँ कुरा सुन्ने, देख्ने मन छ होला हकि ?

– बूढेसकाल भयो छोरी , अब रहर भएर के गर्ने ?

–म सानो छँदा र हिँड्डुल गर्न नसक्ने हुँदा हजूरले केके गर्नुहुन्थ्यो ?

–धेरै थोक गर्थेँ नि । खाना खुवाउँथे, पानी लिन जाँदा बोकेर पनि लैजान्थेँ । सिाापिसाब सोहोर्थेँ । तिम्री आमालाई फुर्सद हुँदैनथ्यो ।

–मलाई तातेताते गराएर हिँडाउनु पनि भयो नि ?

–सम्झिएकी छ्यौ ?

–मजाले सम्झिएकी छु ।

–अरू केके सम्झिएकी छ्यौ ?

“सुत्ने बेलामा कथा सुनाउनुहुन्थ्यो । गीत गाउनुहुन्थ्यो ।” प्रविनाले हाँस्दै भनिन् ।

“तिमीले यी कुरा भनिरहँदा मलाई पनि पहिलेका धेरै कुराको सम्झना आयो” हजुरआमाले भन्नुभयो ।

–हजुरआमा ! तपाईलाई पनि अहिलेका गाउठाउँँ र घटना सुन्ने मन छ हकि ?

–मन भएर के गर्नु नानी ? कान पनि कमजोर भइसक्यो ।

–हजुरआमा ! हजुरले रोप्नुभएको सुन्ताला फल्न थालेको छ । हजुरले फल्यो कि फलेन भनेर छाम्नु भएको होला हैन ?

–हो छोरी । तर निकै अग्लो भएछ मैले त फेद मात्र भेटाएँ ।

–हजुरआमा ! तपाईले हुर्काउनुभएकी तपाईकी नातिनी पनि झन्डै तपाईजत्री भइसकी नि । काखमा लिन खोजेर सक्नुहुन्न नि हकि ?

–हो छोरी । आज कस्तो अनौठो कुरा गरेकी मेरी प्यारीले ।

–हजुरआमा ! साना बालबालिकाकोे हातगोडा, आँखा, कान भनेका त बाबाआमा हजुरबा हजुरआमा पो रहेछन् हकि ?

–अलि बुझ्ने गरी भन त।

“म हिँड्न सक्दैनथेँ हजुरले बोक्नुहुन्थ्यो । अलि पछि टेक्न सक्ने भएपछि हिँड्न सिकाउनुभयो । कसले के भने म बुझ्दैनथेँ हजुरले र आमाबाबाले बुझाउनुहुन्थ्यो । हजुरले कथा सुनाउनुहुन्थ्यो । घटना सुनाउनुहुन्थ्यो । अनि मेरो हातगोडा, आँखा, कान हुनु भएन त ?” “हो छोरी ।”

“हजुरआमा ! अब हजूरको आँखा,कान,गोडा बन्ने पालो मेरो । प्रविनाले भनिन् । हजुरआमाले प्रविनालाई अँगालो हाल्नुभयो । उहाँको आँखाबाट हर्षको आँसु बग्यो । प्रविनाले रुमाल झिकेर पुछिदिइन् ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/arts/465951-1614242265.html

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *