देश विदेश

केही अनुत्तरित प्रश्न

शेयर गर्नुहोस्

प्रधानमन्त्री खड्गप्रसाद ओली २०७७ फागुन ११ गते आफ्नो सत्तरीऔँ जन्मदिनको खुसी मनाउँदै थिए । अपराह्न सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला सुनायो । यसलाई ओलीका प्रियजनहरूले आफ्नै पाराले टिप्पणी गरेका छन् । कोही ‘अनपेक्षित’ भन्दैछन्, कोही अदालतको सम्मान गरे पनि फैसला स्वीकार नगर्ने आशय व्यक्त गरेर पुनः विवादमा परेका छन् ।

केन्याका प्रथम राष्ट्रपिता र संस्थापक जोमो केन्याताका छोरा उहुरु हाल राष्ट्रपति छन् । यो उनको दोस्रो कार्यकाल हो । उनले एकपल्ट प्रवचनकै क्रममा भनेका थिए– ‘हामीलाई मलेरियाबाट बचाउने ‘मलेरिया सेना’ चाहिएको छ ।’ समस्या धेरै हुन सक्छन् । हरेक देश, काल र परिस्थितिमा मानिसका प्राथमिकता बदलिँदै जान्छन् । नेपाल मात्र यस्तो राष्ट्र हो जहाँ राजनीतिक समस्याले अस्थिरता बढाइरहेको छ । अस्थिरताले राष्ट्रका शक्तिहरू क्षतविक्षत भएका छन् । व्यक्तिगत हार–जीत त्यस्तै हो तर राष्ट्र परास्त, शिथिल र शक्तिहीन बन्दै गएको अवस्था छ ।

व्यक्तिगत हार–जीत त्यस्तै हो तर राष्ट्र परास्त, शिथिल र शक्तिहीन बन्दै गएको अवस्था छ ।

काठमाडौँ राजनीतिक अस्थिरता, षडयन्त्र र संकटको नाभी हो । लाखौँ सपनाको ‘स्टेडियम’ हो । पाँच हजार वर्षभन्दा पुरानो लिखित इतिहास छ, यसको । स्वेटमार्टनले वाराणसीलाई इतिहासभन्दा पुरानो सहर भनेका छन् । काठमाडौँ पनि त्यस्तै हो । यहाँका प्राचीन सम्पदा साक्षी छन्, कान्तिपुर भनिने यो कान्तिमय सहर शान्तिमय पनि थियो । मन्दिर, गुम्बा र हजारौँ देवालयले ‘ट्रयाङ्कुलाइजर’ मेडिटेसन, प्राणायाम र चित्तशुद्धिको काम गरेको पाइन्छ । हामीभन्दा माथि ईश्वर छन्, भगवान भगवतीहरू छन् भन्ने संचेतनाले चेतावनी दिइरह्यो । धर्मप्रेमीलाई सदैव घच्घच्याइरहने जात्राहरू अटुट चलिरहे । राजा सिद्धिनरसिंह मल्लले चलाएको कात्तिकनाथ एउटा उदाहरण हो । नेवार जातिको चेतना, सभ्यता, धर्मप्रतिको आस्था र समर्पण अतुल्य छ । दक्षिण भारतका कतिपय संस्कृति र नेवार संस्कृतिबीच समानता छ भनेर गवेषक स्वयम्भुलाल श्रेष्ठले लेख्नुभएको छ । त्यो सबै देखिन्छ, साँझ/बिहान काठमाडौँमा । अर्थात राजनीतिक विकृति मात्र छैन यहाँ, संस्कृति पनि जीवन्त छ ।

गोपाल र महिषपाल (गाईपालक र भैँसीपालक) राजाहरूपछि किराँती वंशले राज्य गरेको इतिहास छ । सातौँ किराँती राजा जितेदास्तीका पालामा सिद्धार्थ गौतम (गौतम बुद्ध) काठमाडौँ आएर पशुपतिनाथ, गुहेश्वरीलगायत तीर्थस्थलको भ्रमण गरेको इतिहासकारहरूको मत छ । चौधौँ किराँती राजा स्थुङ्कोका पालामा सम्राट अशोकले लुम्बिनीमा आएर स्तम्भ बनाएका थिए । लिच्छवि राजा मानदेवले मानाङ्क नामक मुद्रा चलाए । लिच्छविपछि मल्ल वंशको शासन सुरु भयो । उनीहरूले पाँच सय पचास वर्ष शासन गरे मल्लहरूले । कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्ललाई गोरखाका राजा पृथ्वीनारायण शाहले जिते पनि आफूबाट पराजित मल्ल राजाहरूका सालिक भत्काएनन् । कान्तिपुर, भादगाउँ (भक्तपुर) र ललितपुरका राजाका सालिकमा सुनको जलप लगाएर सुरक्षित राखे ।

काठमाडौँ एउटा विशाल विश्वविद्यालय हो । हरेक बिहान एक दुई घन्टा हिँड्दा जति हेरे पनि नअघाइने दृश्यहरू छन् । जुद्ध सडक (न्युरोड) बाट आधा घण्टा पश्चिमतिर लाग्दा सुन्दर फाँटहरू देखिन्थ्यो । सेन्ट्रल जेलबाट दक्षिणतिर खेत थियो । मैतीदेवी मन्दिरबाट धोवीखोलाबीचमा थोरै घर थिए । मालीगाउँ, हाँडीगाउँ, सुनारगाउँ सबै गाउँ जस्तै थिए ।

कवि हेम हमालको कविता सझिन्छु– ‘गाउँ गाउँ जस्तो छैन, सहर सहर जस्तो छैन ।’ मेचीदेखि महाकालीसम्म पचासौँ सुखी सुविधा सम्पन्न गाउँहरू व्यवस्थित बनाउन सकिन्थ्यो । स्याल कराउने भिरहरूमा ‘स्मार्टसिटी’ (?) बनाउन खोजिँदैछ । माइलीलाई मार्था बनाएझैँ, रामबहादुरलाई रोबर्ट बनाएझैँ वा हरिमानलाई ‘ह्यारिस’ भनिएझैँ आवरण मात्र परिवर्तन गरेर आचरण बदलिँदैन । तर उल्टो भइरहेको छ । विकासका संरचना प्राथमिकता, आवश्यकता वा औचित्यका आधारमा निर्माण गरेको भए महत्व बढ्ने थियो । त्यसैले कंक्रिटका जंगलहरूलाई प्रगतिको प्रतीक मानिदिँदा सहरहरू कान्तिहीन बन्दै गएका छन् ।

भारतले बनाइदिएको ‘मुक्तिबाहिनी’ नामक फौजले पाकिस्तानबाट पूर्वी पाकिस्तान (हाल बंगलादेश) टुक्र्याएको थियो, पचास वर्षपहिले । भारतले सोही मोडलमा नेपालमा ‘माओवादी’ जन्मायो ।

कुवेत सिटी वा दुबई जस्ता सहरमा लाखौँ गगनचुम्बी भवन छन् । सम्पूर्ण संरचना छन् तर प्राचीन धरोहर न्यून छन् । बुद्ध, फाहियान, हुयेन साङ, पद्मसंभव आदिले पाइला टेकेको कान्तिपुर सहर पुर्खाको रहर मात्र होइन, सभ्यताको पहिलो प्रहर पनि हो । हिन्दु राजाको दरवार छेउमै मस्जिदरहरू देख्दा, बौद्ध र हिन्दुका मठमन्दिर गुम्बामा समान आस्था, विश्वास र सम्मान पुष्पित–पल्लवित हुँदा हामी गर्वोन्मत्त हुन्छौँ । सहिष्णुता र सदाचारको अनुपम अतुल्य आचरणमा अँगालो हाल्दा हामी सुखानुभूति गर्छौँ । यस्तो नागरिक हक, स्वतन्त्रता र मौलिक चरित्र कतिवटा राष्ट्रमा देख्न पाइएला ?

‘द न्युयोर्क टाइम्स’ पत्रिकामा छियाङ् जुली वाङले लेखेकी छिन्– अमेरिकामा ‘ह्वाइट सुप्रिमेसी’ बढ्दैछ । गुणका आधारमा होइन, गोरो अमेरिकी सर्वोच्च जात हो भन्ने चिन्तनले अरूलाई तुच्छ देखिरहेको छ । घरबाट बाहिर निस्कँदा असुरक्षित ठान्नुपर्ने अवस्था आउँदैछ । विभिन्न राष्ट्रबाट अमेरिका गएर पेसा–व्यवसाय गर्नेहरूमा भय बढ्दैछ ।

यसको अर्थ हो– न्युयोर्क, वासिङ्टन वा क्यालिफोर्निया भन्दा काठमाडौँको बिहान सुन्दर छ । पुजन सम्पन्न गरेपछि हामी भन्छौँ–‘ॐ द्यौः शान्तिरन्तरिक्ष शान्ति, पृथ्वी शान्तिरापः शान्तिरोषधय शान्तिः । वनस्पतयः शान्तिविश्वे देवाः शान्तिब्र्रह्म शान्ति, सर्व शान्ति, शान्तिरेवा शान्ति, सामा शान्ति रेधि ।। ॐ शान्तिः शान्तिः शान्तिः ।।’ यजुर्वेदको यो मन्त्रमा कुनै विभेद छैन । जात र भूगोलको पर्खाल पनि छैन । नश्लवाद छैन । पृथ्वीदेखि अन्तरिक्षसम्म बसेका सबैको मंगलकामना छ । सबैलाई समेटिएको छ । कसैलाई अरू भनिएको छैन । यो भन्दा उदात्त चिन्तन के होला ।

राजकाज चलाउने राजवर्गको काम, कर्तव्य र अधिकारबारे प्राचीन ग्रन्थहरू स्पष्ट छन् । वेदलाई त्यसको आधार मानिएको छ । त्यस्तै, उपनिषद्, महाभारत, रामायणलगायतका ग्रन्थले शासकका बारेमा स्पष्ट परिभाषा गरेको पाइन्छ । आयुको ज्ञान दिने आयुर्वेददेखि लिएर राजा संसद्, सभासद र राजनीतिबारे वेदले छर्लङ्ग गरेको छ ।

अर्थशास्त्री, मनिषि र ज्ञानी भनेर चिनिएका विदुरले महाभारत युद्ध सुरु नहुँदै सम्भावित दुष्परिणामबारे व्याख्या, मीमांसा, आँकलन र विश्लेषण गरेका थिए । युद्धमा संलग्न नरहेरै युद्ध जित्नेहरू रणनीति, युद्धकला र कूटनीतिका ज्ञाता मानिन्छन् । विदुरले हरेक घटनाक्रमको विश्लेषण गरेर अगाडिको भिर र पछाडिको पहरोबाट बच्न सक्ने उपाय बताए पनि दुर्योधनको दम्भले महाभारत युद्ध सुरु भयो ।

न्युर्योकका राजनीतिज्ञ सिनेटर विलियम मर्सीले प्रयोगमा ल्याएको शब्द ‘स्प्वायल सिस्टम’ राजनीतिशास्त्रमा गम्भीर अध्ययनको विषय बन्यो । एन्ड्रयु ज्याक्सन राष्ट्रपति भएपछि उनले संसद् बाहिरबाट विविध विषयका जानकारहरू बोलाएर सरकार गठन गरे । योग्यलाई राख्ने र खोस्ने हक आफैँमा राखे । कार्यपालिका र व्यवस्थापिकाबीच घात÷प्रतिघात हुन नदिन, एउटाको छायाँ अर्कोमा पर्न नदिन र ‘शक्ति पृथकीकरणको सिद्धान्त’ अनुसार राजकाज चलाउन यस्तो प्रणाली फलदायी सिद्ध भयो । शक्तिको दुरूपयोग हुन सक्ने, राष्ट्रिय शक्तिहरूलाई कमजोर पार्ने र सबैलाई शिथिल बनाउने डिजाइनअनुसार काम भइरहेको अवस्था हेर्दा संसद् र मन्त्रिपरिषद्लाई साँच्चै अलग गर्नुपर्ने देखिन्छ । यसका लागि सांसद नभएका व्यक्तिहरूलाई ज्ञान र क्षमताका आधारमा मन्त्री बनाउनु बुद्धिमानी हुने देखिन्छ ।

संसारले भोगेका र भोगिरहेका प्रमुख समस्यामध्ये आर्थिक अभाव सबैभन्दा ठूलो भएको अर्थशास्त्री, मानवशास्त्री र राजनीतिशास्त्रीको मत छ । यस्तै जातीय द्वन्द्व अर्को भयाबह समस्या हो । राजनीतिक, कूटनीतिक ध्रुवीकरण, खाद्यान्न र पानीको अभाव, स्वास्थ्य चुनौती, सरकारको अनुत्तरदायी चरित्र, विभिन्नखालका विभेद, शिक्षामा धेरैको पहुँच नहुनु आदि कारणले अधिकांश धरावासी पीडित र प्रताडित छन् । नेपालीहरू आर्थिकरूपले जर्जर हुँदा पनि उच्च मनोबलका धनी छन् । आर्थिक उपार्जनका लागि केही गरिरहने र हार नखाने प्रवृत्तिका युवाले अरूलाई थप आशावादी बनाउन सक्छन् ।

दैनिक पाँच रुपियाँ बचत गर्दा हरेक दिन पन्ध्र करोड जम्मा हुन्छ । नेपालीको साझा सम्पत्तिका रूपमा एक वर्षमा त्यो रकम बढेर झण्डै ५५ अर्ब रुपियाँ हुन पुग्छ । त्यति बजेटले महत्वपूर्ण काम गर्न सकिन्छ । विदेशी दाता गुहार्दा उनीहरूको हस्तक्षेप, आदेश र निर्देश पालना गर्नुपर्छ । नेपालीको श्रम, सिप, उत्साह र लगानीले ससाना विद्युत् परियोजना, सामुदायिक वनलगायत कैयन् उदाहरणीय काममा सफलता पाएको देखिन्छ । हाम्रा पुर्खाले कहिले पनि अरूको आशा गरेनन् । हजारौँ मठमन्दिर गुम्बा आफैँले बनाए । गाउँगाउँमा ‘धर्म भकारी’ बनाएर खाद्यान्नको जोहो गर्थे । आफैँले बुनेका कपडा लाउँथे । बाँस, खर, पराल, ढुंगा र माटोको पाठशाला बनाएर त्यस्ता गुरुकूलबाट ‘राष्ट्रका हीरा’ उत्पादन गर्थे ।

पाहुना आउँदा घरमा जे छ, खुवाएर बिदा गर्थे । ‘केही सहायता गरिदेऊ’ भन्दै फिरंगीसँग भिक्षापात्र थाप्दैनथे । त्यही इमान, स्वाभिमान र उच्चभावले गढीगढीमा बसेर सेनाले मूला काटेझैँ हजारौँ शत्रु काटे । पुर्खाले विदेशबाट आएको धुलो दूध खाएनन् । आमाकै दूध खाएका थिए । बट्टाको दूध, चाउचाउ र बिस्कुट खाएर हुर्केको पिलन्धरे पुस्ताका लागि भक्ति थापा, अमरसिंह, बलभद्र र झाँगल गुरुङहरू ‘एकादेशको कथा’ भए ।

पृथ्वीनारायण शाहका पालामा गोरखामा पाँडे, पन्त, बोहरा, अर्याल, राना र बस्न्यात प्रमुख भारदार थिए । लमजुङमा भँडारी, राउत, पुवाँर थापा, दुरा, सुयाल र घिमिरे दरवार निकट मानिन्थे । खजे दुरा र कुसुमाकार घिमिरेलगायतको प्रयासले लमजुङमा राजा स्थापित भएको योगी नरहरिनाथले लेखेका छन् । बाइसे–चौबीसे राजाका पालामा ‘नेपाल’ समष्टिमा एउटै छत्रछहारीमा थिएन । दलहरूले साइनबोर्डमा ‘नेपाल’ र ‘नेपाली’ लेख्न पाएका छन् आज । नेपाल र नेपालीको पहिचान, स्वाभिमान र आत्मसम्मान दिलाउने त पृथ्वीनारायण नै हुन् । दलहरूले आफ्ना हेड क्वाटर्रमा माक्र्स–लेनिन–माओ आदि विदेशीका तस्बिर सजाएका छन् तर उनीहरू पृथ्वीनारायण शाहलाई सम्मान गर्दैनन् । नेपालको स्वतन्त्रता नै जरैसँग मास्न खोज्ने फिरंगीहरूलाई देश निकाला गर्ने पृथ्वीनारायण शाहको कदर गर्दा विदेशीको दान बदर हुने निश्चित छ । तसर्थ विदेशीको पैसा खानेहरू पृथ्वीनारायणलाई शत्रु मान्छन् ।

राष्ट्रलाई संकट परेका बेला राष्ट्रघातीका कित्तामा उभिएर रहस्यमय गतिविधि गर्नेहरू सबै राष्ट्रघाती हुन् । दल, जात, भाषा वा छालाको रंग जेसुकै जस्तोसुकै होस्, नेपाल बचाउनुपर्छ भनेर सत्कर्म गर्दैन भने ऊ राष्ट्रघाती नै हो ।

जर्ज वर्नाड साले भनेका छन्– ‘जुन माटोमा जन्मेका छौँ, त्यसको रक्षा गर्न मन, वचन र कर्मले समर्पित हुनु देशभक्ति हो ।’ सत्ता र शक्तिका लागि विदेशीको भक्ति गर्नु सरासर राष्ट्रघात हो । तर राष्ट्रवादको अपव्याख्या गरेर मानव अधिकार, स्वतन्त्रता र प्रजातन्त्र बचाउन राष्ट्रिय अस्तित्वलाई तुच्छ ठान्ने प्रवृत्ति बढ्दैछ । राष्ट्रका सबै शक्तिको तेजोवध गर्नेहरू निकारागुवाका सान्डिनिस्टा र अवामी लिगकै शैलीमा काम गरिरहेका छन् । भारतले बनाइदिएको ‘मुक्तिवाहिनी’ नामक फौजले पाकिस्तानबाट पूर्वी पाकिस्तान (हाल बंगलादेश) टुक्र्याएको थियो, पचास वर्षपहिले । भारतले सोही मोडलमा नेपालमा ‘माओवादी’ जन्मायो । राजदरवारका उच्चपदस्थदेखि सुरक्षा अंगका कैयन् अवसरवादी कुपुतहरूले राष्ट्रघाती मिसनमा काम गरे । नेपाललाई स्वतन्त्र राख्ने कि ‘धनी’ बन्न विदेशीलाई हस्तान्तरण गर्ने भन्ने जनमत संग्रह गरियो भने राष्ट्रवादीहरू अल्पमतमा पर्न सक्ने अवस्था देखिएको छ । ‘देशले रगत मागे मलाई बलि चढाऊ’ भन्ने त गोपाल योञ्जनको गीत मात्रै हो ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/opinion/466611-1614322066.html

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *