मातृभाषाको महत्व
मातृभाषा आमाको दूध जस्तो पवित्र तथा शुद्ध हुन्छ। आजको चलनचल्तीको भाषामा एकदम अर्गानिक हुन्छ। यस्तो भाषा जनसाधारणले बोल्ने गर्छन्। यो साक्षर र निरक्षर, शिक्षित र अशिक्षित सबै आफ्नो लबजमा बोल्ने गर्छन् तर उच्च शिक्षा प्राप्त व्यक्तिहरूले नै प्रदूषित गर्ने गर्छन् यस भाषालाई। हामी बोल्दा यसमा मिसावट गर्ने गर्छौँ। मातृभाषाको स्वाभाविकतालाई सुरक्षित राख्दैनौँ। विदेशी शब्द मिसाएर बोल्दा गौरवानुभूति गर्छौँ। सर्वसाधारणले अन्तरात्मादेखि नै मातृभाषा प्रयोग गर्ने गर्छन् जबकि हामी शिक्षित भनाउँदाहरू यसमा बौद्धिकता झल्काउनेखालको कृत्रिमता मिसाएर बोल्छौँ। यसर्थ हामी शुद्ध मातृभाषा बोल्न असमर्थ हुन्छौँ। सन्त कवि कविरले एउटा पदमा भनेका छन्– भाव अनोखा चाहिए भाषा कैसी होए ?’ भाषा त अभिव्यक्तिको माध्यम हो।
भाषा अथवा मातृभाषाको परिभाषा विभिन्न भाषाविद् विद्वान्ले आआफ्नो किसिमबाट गर्ने गर्छन्। यस भाषाको परिभाषामा जनसाधारणले बोल्ने भाषाको कुनै ठाउँ हुँदैन। हामी जति बौद्धिक हुँदै गएका छौँ त्यति नै जटिल हुँदै गएका छौँ र जटिल भाषाको प्रयोग पनि गर्ने गर्छौँ। विशेषतः राजनीतिकर्मीले राजनीतिक पुट दिएर व्यंग्यात्मक ढंगबाट बोल्दा मातृभाषा विद्रुप हुन्छ। एक शब्दमा भन्दा हामी कृत्रिम भाषाको प्रयोग आफ्नो दैनिकीमा गर्छौँ जबकि सर्वसाधारणले नैसर्गिक भाषा प्रयोग गर्ने गर्छन्। मातृभाषालाई विद्रुप र विसंगत बनाउनु आफूमा नै एउटा विवाद खडा गर्ने जस्तो हो मातृभाषामा हृदय बोल्छ। कृत्रिम भाषामा बौद्धिकता बोझिल भावको अभिव्यक्ति हुनजान्छ।
हामीलाई थाहा छ कि प्रत्येक वर्ष फेब्रुअरी २१ तारिखका दिन विश्वभरि विभिन्न कार्यक्रम र गतिविधि गरेर अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउने गर्छौँ। यसै अवसरको मेसोमा संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले प्रत्येक वर्ष यसै विषयलाई मूल मन्त्र मानेर विश्वव्यापी नारा तय गर्ने गर्छ। यस वर्ष घोषित नाराको मूल सन्देश यसरी संप्रेषित गर्ने गरिएको थियो कि संसारभर यस नाराको सन्देश जाओस्। यस वर्ष युनेस्कोकी महानिर्देशक एन्डे एजाउलेद्वारा उद्घोषित नारा ‘समाज र शिक्षामा समावेशिकताका लागि बहुभाषिकताको संवद्र्धन’ समसामयिक तथा सान्दर्भिक भन्न सकिन्छ। यसका साथसाथै उनले यो पनि चिन्ता जाहेर गरेकी छन् कि लोपोन्मुख भाषाहरूको संरक्षण र संवद्र्धन कसरी गर्ने ? प्रत्येक भाषाको मूल्य हुन्छ किनभने भाषा अमूर्त संस्कृति हुन्छ।
कुनै पनि राष्ट्रको मुटुको धुकधुकी हुन्छ मातृभाषा। यसको पहिलो मूल्य हो आर्थिक। आर्थिक मूल्य जीविकासँग जोडिएको हुन्छ। रोजिरोटी अथवा भनौँ नोकरीसँग जोडिएको हुन्छ। आजको युग अर्थप्रधान युग हो। अर्थको अर्थ बुझ्ने मानिस भइसकेका छन्। खासगरेर श्रमिक वर्गका मानिस जसको दैनन्दिन समस्याको समाधान भाषाबाट नै हुन्छ। जुन भाषासित उसको जीवनको समस्या समाधान हुन्छ त्यो भाषा उसले सिक्ने गर्छ। मातृभाषा कहिलेकाहीँ यसमा मद्दत नगर्न पनि सक्छ। तसर्थ उसले अन्य स्वदेशी अथवा विदेशी भाषा सिक्नका लागि बाध्य हुन्छ। जसले गर्दा नेपला अधिराज्यभरि विभिन्न विदेशी भाषाका स्कुल र इन्स्टिच्युटहरू छ्यापछ्याप्ती देखापर्छन्। यी विदेशी भाषा सिकेर मात्र उनीहरू विदेश जान बाध्य हुन्छन्। यसमा मातृभाषाले मद्दत गर्दैन। तसर्थ हाम्रो सन्दर्भमा मातृभाषालाई मूल्यबोधसँग जोड्नु अपरिहार्य भएको छ जुन अहिलेसम्म भएको छैन। हाम्रो देशमा १२९ भाषाको संख्या २०११ को जनगणानाअनुसार निर्धारित गरिएको छ जसमध्ये २४ प्रतिशत भाषा लोपोन्मुख अवस्थामा छन्। शेष भाषाहरूको साहित्य छ, लिपि पनि होला। यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने कठीन चुनौती हामीसमक्ष छ।
यसर्थ यी मातृभाषाको प्रयोग लोकसेवा आयोगको प्रतिस्पर्धामा अनिवार्यरूपमा गरिनुपर्छ। लोकसेवा आयोगबाहेक विभिन्न संस्था तथा संस्थानको प्रतिस्पर्धी परीक्षामा पनि मातृभाषालाई परीक्षाको माध्यम बनाइनुपर्छ। तदरोपरान्त भाषाको आर्थिकमोल सार्थक हुन्छ नत्र भने तामझाम, जति नाराजुलुस, झाँकी प्रस्तुत गरेर पनि मातृभाषाको सर्वाङ्गिण विकास सम्भव छैन। मन्त्री तथा प्रधानमन्त्रीले जतिसुकै आकर्षक भाषण मातृभाषाको अवसरमा गरे पनि मातृभाषाको उत्थान सम्भव छैन। मातृभाषालाई अर्थकारी विद्यासँग जोड्नु अनिवार्य हुन गएको छ। एक दिन अथवा एक सप्ताहसम्म पनि मातृभाषा दिवस मनाउँदा यसको यथोचित लाभ जनसाधारणले लिन असमर्थ हुन्छ। यसर्थ भाषाको भ्यालुसार्थक हुन्छ, सफल हुन्छ। मातृभाषामा बोलेर मात्र जीविका चल्न गाह्रो हुन्छ। यसलाई अर्थप्रधान बनाउनु परमावश्यक छ।
मातृ भाषाको अर्को मूल्य मानवीय संवेदनासँग जोडिएको हुन्छ। यदि कसैले कसैको भावना या संवेदनालाई उसको मातृभाषाको अपमान गरेर गर्छ भने त्यसको प्रभाव व्यक्ति, परिवार र समाजमा नराम्रो पर्छ। कसैको मातृभाषालाई होच्याउने र हेप्ने प्रवृत्ति खतरनाक सावित हुन सक्छ। यसबाट सामाजिक सन्तुलन,सामाजिक सामञ्जस्य र सामाजिक समरसता बिग्रने सम्भावना धेरै हुन्छ। तसर्थ अरूको मातृभाषाको सम्मान गर्नु पनि उत्तिकै आवश्यक हुन्छ।
मातृभाषाको अर्को भ्यालु मूल्यचाहिँ सांस्कृतिक हुन्छ। भाषाले नै संस्कृति निर्माणमा सघाउँछ । अंग्रेजी भाषामा एउटा भनाइ छ–मातृभाषा संस्कृतिको गिदी हुन्छ। यो सांस्कृतिक सम्पदा बहुमूल्य हुन्छ। जीवनलाई सभ्य, सन्तुलित र सौम्य बनाउनका लागि। यसको अभावमा हामी बर्बर हुन्छौँ, जंगली हुन्छौँ, असभ्य हुन्छौंँ। तसर्थ, भाषाको सांस्कृतिक मूल्यलाई हामीले सुरक्षित र संरक्षित गरेर राख्नु नै बुद्धिमानी सावित हुन्छ।
भाषा साहित्य व्यापार होइन। यो हामीलाई राम्रो संस्कारको चारवटा मूल्य निर्धारित गर्दा आध्यात्मिकता पनि यसमा आबद्ध भएको हुन्छ। नेपालको सन्दर्भमा यो अति नै महŒवपूर्ण भाषाको भ्यालु हो। एउटा समयमा एउटा राजनीतिक दलले संस्कृत भाषालाई मृत भाषा (डेड ल्याङ्वेज) भनेर यसको बहिष्कार र तिरस्कार गर्ने भरमग्दुर प्रयास गरे तर संस्कृत नै सबै भाषाको जननी हो भन्ने विश्वव्यापी तथ्य त्यो दललाई दशकौँपछि थाहा भयो। संस्कृतको शब्दकोश विश्वमा समृद्धशाली र सम्पन्न मानिन्छ। आजको सन्दर्भमा यसको भ्यालु कति बढेको छ भने जुनसुकै दलको नेताले कुनै भवन, कुनै पुल र कुनै परियोजना प्रारम्भ गर्दा अथवा शिलान्यास गर्दा संस्कृतविद् पुरोहितलाई नै पूजापाठका लागि आमन्त्रित गरिन्छ। यसबाहेक कुनै यज्ञ संकल्प गर्दा तथा समापन गर्दा संस्कृतविद् पुरोहितको मुखबाट पूजापाठको साथै स्वस्ति श्लोक वाचन शुद्ध मानिन्छ। अचेल त नेपाली हिन्दुहरूले विदेशमा विवाहोत्सवमा र इन्टरनेटद्वारा यी पुरोहितहरूलाई २ श्लोक पढ्नका लागि आग्रह गरिन्छ। यसबाहेक अन्य कर्मकाण्ड गर्दा पनि संस्कृत विज्ञ पण्डित र पुरोहितको आवश्यकता दिनानुदिन बढ्दै गएको छ। यसबाट पनि भाषाको महŒव कति छ भन्ने सहजै बुझ्न सकिन्छ।
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/social-affairs/468731-1614567829.html