चन्द समूहसँग वार्ताको तयारी भइरहेको छ : सञ्चारमन्त्री गुरुङ

शेयर गर्नुहोस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको तयारी गरिरहेको बताएका छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सो समूहलाई वार्तामा आउन आह्वान गरिरहेको र वार्तामा आउने तयारी भइरहेको बताएका हुन् ।

“सो समूहको नेतृत्वको पार्टी शान्तिपूर्ण बाटोमा आउने प्रक्रियामा छ, वार्ता नजिक नजिक भइरहेको छ”, सरकारका प्रवक्ता गुरुङले भने, “वार्ताको टुङ्गो लाग्नेछ, प्रधानमन्त्रीले वार्ताका लागि आह्वान गरिरहनुभएको छ ।” उनले प्रधानमन्त्रीको आह्वानअनुरुप वार्ताको वातावरण अघि बढेको आफूले अनुभूति गर्न पाइरहेको उल्लेख गर्दै भने, “वार्ता सफल होस्, म पुनः शान्तिपूर्ण बाटोमा आउन आह्वान गर्दछु, शान्तिपूर्ण, सकारात्मक दृष्टिकोणबाट मात्र सामाजिक र राजनीतिक रुपान्तरणमा जानुपर्छ ।”

प्रधानमन्त्री ओलीले सो समूहलाई वार्ताका लागि आह्वान गरिरहेका छन् । उनले भने, “मुलुकलाई हिंसात्मक बाटोबाट लानुहुँदैन, प्राकृतिक तथा राजनीतिक घटनाका कारण नेपाली समाज पछाडि परेको छ । कुनै पनि हिंसात्मक आन्दोलन नगरौँ भन्ने नेपाल सरकारको आह्वान हो ।” मन्त्री गुरुङले सबैले मिलेर मुलुकको समृद्धिका लागि काम गर्नुपर्ने र त्यसका लागि सरकार सदा वार्तामा बस्नका लागि तयार रहेको पनि स्पष्ट पारे ।

सरकारद्वारा प्रतिबन्धित चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सरकारसँग वार्ताका लागि तयार भएपछि सो समूहलाई लगाइएको प्रतिबन्ध हटाउने तयारी भएको छ । सो समूहले वार्ता र संवादका लागि आफ्नो समूह सकारात्मक रहेको सन्देश सरकारलाई पठाइसकेको छ । सरकारले विध्वंशात्मक गतिविधिमा संलग्न रहेको उल्लेख गर्दै उक्त समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सो समूहले भने सरकारलाई औपचारिक रूपमा नै वार्ताको पहल गर्न आग्रह गरिरहेको छ । सो समूहले पहिले प्रतिबन्ध फुकुवा, पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताको रिहाइ गर्न र वार्ताका लागि औपचारिक आह्वान गर्न सरकारसँग आग्रह गर्दै आएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *