देश विदेश

साउदीमा कुन अवस्थामा विदेशी श्रमिकले रोजगारदाता परिवर्तन गर्न सक्नेछन् ? | देश परदेश

शेयर गर्नुहोस्

साउदी अरवले गत आइतवार देखि श्रम कानुनमा सुधार गर्दै रोजगारदाता परिवर्तन र वहिर्गमन भिसालाई सहज बनाएको सन्दर्भमा साउदी स्थित नेपाली दूतावासले कस्तो अवस्थामा रोजगारदाता परिवर्तन गर्न पाइन्छ भन्ने विषयमा स्पष्ट पारेको छ । दूतावासले एक विज्ञप्ती प्रकाशित गर्दै यसका बारेमा जानकारी गराएको हो । तर आप्रवासी श्रमिकको अधिकार रक्षाको क्षेत्रमा काम गर्ने संस्थाहरुले भनें अपेक्षित सुधार नगरिएको भन्दै आलोचना गरेका छन् ।

साउदी स्थित नेपाली दूतावासका अनुसार साउदी अरव प्रवेश गरेको दिनदेखि ३ महिनासम्म रोजगारदाताले करार सम्झौता नगरेमा वा श्रमिकले लगातार तीन महिनासम्म आफ्नो मासिक पारिश्रमिक नपाएमा रोजगारदाता परिवर्तन गर्न पाउनेछन् । यसैगरी रोजगारदाताको मृत्यु भएमा वा कैद वा लामो यात्रा वा यस्तै अन्य कारणले रोजगारदाता सम्पर्कमा नरहेमा पनि रोजगारदाता परिवर्तनको प्रकृया गर्न सकिन्छ ।
दूतावासका अनुसार श्रमिकको ईकामा अवधि समाप्त भई नवीकरण नभएमा, श्रमिक र रोजगारदाता बीचमा विवाद उत्पन्न भई कुनै कानूनी निकायमा उजुरी मुद्दा परेको र उक्त निकायले गर्ने दुईवटा सुनुवाईमा रोजगारदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा वा दुईवटा उपयुक्त मिलापत्र सम्वन्धी सुनुवाईमा उपस्थित नभएमा पनि रोजगारदाता परिवर्तन गर्न पाइनेछ । हाल कार्यरत रोजगारदाताले स्वीकृति दिएको अवस्थामा करार अवधि समाप्त नहुँदै पनि रोजगारदाता परिर्वतन गर्ने सकिने दूतावासको भनाई छ ।

रोजगारदाता परिवर्तनका लागि श्रमिकले साउदी अरव प्रवेश गरेको मितिदेखि हालको रोजगारदातासँग कम्तीमा एक बर्षको करार अवधि पुरा गरेको हुनु पर्नेछ । यसका लागि रोजगारदातासँग गरेको रोजगार करार पत्रको प्रति आधिकारिक निकायबाट प्रमाणिकरण गरी सोको एक प्रति साथमा लिएको हुनुपर्नेछ । यसैगरी श्रमिकलाई नयाँ रोजगारी दिने रोजगारदाताले साउदी सरकारको आधिकारिक पोर्टल बाट मात्र रोजगारीको प्रस्ताव गरेको हुनुपर्दछ । व्यक्तिगत भेटघाट वा कसैको सहयोगमा कुनै अभिलेख नराखी दिएको रोजगारीले कानूनी मान्यता पाउने छैन ।

जुनसुकै हिसावले नयाँ रोजगारीमा जाँदा पोर्टल QIWA  बाट रोजगारी प्रस्ताव भएको हुनुपर्नेछ । यसका लागि श्रमिकले समेत पोर्टल QIWA को प्रयोग गर्नुपर्नेछ । श्रमिकले रोजगारदाता परिवर्तन गर्ने सम्वन्धि सूचना तोकिएको समयभित्रै आफ्नो हालको रोजगारदाताकोमा पेश गर्नुपर्नेछ र यो प्रकृया निःशुल्क हुने दूतावासद्दारा जारी विज्ञप्तीमा जनाइएको छ ।

आइतवार देखि लागु गरिएको व्यवस्था अनुसार विदेशी श्रमिकले स्वयं वहिर्गमन भिसाका लागि आवेदन दिन सक्नेछन् । यसका लागि श्रमिकले साउदी सरकारको आधिकारीक पोर्टल Absher बाट सेवा लिनु पर्नेछ । यसका लागि Absher डाउनलोड गर्नुपर्दछ । यसैगरी श्रमिकको साथमा म्याद भएको ईकामा हुनुपर्नेछ र रोजगारदातासँग गरेको रोजगार करार पत्रको प्रति आधिकारिक निकायबाट प्रमाणिकरण गरी सो साथमा हुनुपर्नेछ ।

श्रमिकले रोजगारदाता वा अन्य निकायलाई तिर्नुपर्ने कुनै शुल्क वा जरिवाना बाँकी रहेको हुनु नहुने, वहिर्गमन भिसाको लागि लाग्ने शुल्क श्रमिक स्वयंले व्यहोर्नु पर्ने र Absher बाट वहिर्गमन भिसाको लागि प्रकृयामा जाँदा श्रमिकले आफू जाने सम्वन्धि सम्पूर्ण प्रकृया बुझेर निर्णय गरेको भनी घोषणा गर्नु पर्ने दूतावासले स्पष्ट पारेको छ । यसरी प्राप्त हुने वहिर्गमन भिसा रोजगारदाताले रद्द गर्न सक्दैनन् । स्थायी रुपले साउदी अरव छोड्ने निर्णय गरेकाहरुले यो वहिर्गमन भिसा लिन सक्नेछन् । एक पटक प्राप्त गरेको वहिर्गमन भिसालाई श्रमिकले चाहेमा उक्त भिसाको अवधि बाँकी छँदै रद्द समेत गर्न सक्ने जनाइएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/03/11833/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *