देश विदेश

सामाजिक सुरक्षा कोषको कार्यविधि संशोधन पछि बढे रोजगारदाता | देश परदेश

शेयर गर्नुहोस्

सामाजिक सुरक्षा कोषको कार्यविधि संशोधन गर्दै योगदानकर्ताहरुले प्राप्त गर्ने सुविधा केहि वृद्दि गरिएपछि कोषमा सूचिकृत हुने रोजगारदाताको संख्या बढेको छ । सामाजिक सुरक्षा कोषका अनुसार गत पौष २८ गतेदेखि माघ २८ गतेसम्मको तुलनामा पछिल्लो एक महिनामा कोषमा आवद्द हुने रोजगारदाताको संख्यामा वृद्दि भएको हो ।

पौष २९ देखि माघ २८ सम्ममा कोषमा सूचिकृत हुने रोजगारदाताको संख्या १ सय ६६ थियो । यसैगरी सो समयावधिमा कोषमा सूचिकृत हुने श्रमिकको संख्या ४ हजार ४ सय ९० थियो । सामाजिक सुरक्षा कोष सञ्चालन कार्यविधि २०७७ माघ २९ गते संशोधन भएको हो । कार्यविधि संशोधन भएको पछिल्लो एक महिनामा २ सय ८४ रोजगारदाता कोषमा सूचिकृत भएका छन् । यसबीचमा कोषमा सूचिकृत हुने श्रमिकको संख्या ४ हजार १ सय ७७ रहेको छ ।

सामाजिक सुरक्षा कोषबाट प्राप्त हुने सेवा तुलनात्मक रुपमा आकर्षक नभएको गुनासोका कारण यसमा अपेक्षा अनुसार श्रमिक र रोजगारदाता आवद्द नभएपछि केहि विषयलाई सम्वोधन गर्नेगरी कार्यविधि संशोधन गरिएको हो । संशोधित कार्यविधिले वृद्द अवस्था सुरक्षा योजना अन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत जम्मा हुने व्यवस्था गरेको छ । यसरी अवकाश सुविधा योजनामा जम्मा भएको रकमबाट ८० प्रतिशतसम्म ऋण सापटी लिनसक्ने वा जागिरबाट अलग भएको वा अवकाश पाएको अवस्थामा निकाल्न सक्ने व्यवस्था गरिएको छ ।

यसैगरी औषधि उपचार सम्वन्धि सुविधामा पनि फेरवदल गरिएको छ । अस्पताल भर्ना नभई उपचार गर्दा पाउने रकम उपयोग नगरेका वा कम उपयोग गरेकाहरुले सो सीमाभित्र रही बाँकी रहेको रकम अस्पतालमा भर्ना भई उपचार गर्दा थप रकम उपचार गर्दा थप हुन सक्ने व्यवस्था मिलाएको छ । यसैगरी मातृत्व सुरक्षा अन्तर्गत योगदानकर्ताको पत्नी सुत्केरी भएपश्चात ६ हप्तासम्मको उपचार खर्च समेत पाउने गरी थप गरिएको छ ।

कार्यविधि संशोधन मार्फत अशक्तता वृत्तिको अधिकतम सीमा हटाइएको छ भनें आश्रित परिवार सुविधा योजना अन्तर्गत विदेशी नागरिकको मृत्यु भई निजको हकवालाले पाउने रकम एकमुष्ट लिन चाहेमा सातलाख रुपैंयाँसम्म लिन सक्ने व्यवस्था भएको छ । १ लाख भन्दा बढी मासिक तलव प्राप्त गर्नेहरु विशेष गरी बैंक क्षेत्रमा कार्यरतहरुलाई पनि उनीहरुको चासो सम्वोधन गर्ने गरी कार्यविधिमा संशोधन गरिएको भएपनि सो क्षेत्रबाट भनें उल्लेख्य सहभागिता देखिएको छैन ।

कोषमा हालसम्म १३ हजार ५ सय ८२ रोजगारदाता तथा १ लाख ९३ हजार ८ सय ७२ जना श्रमिक सूचिकृत भएका छन् । ४ अर्व ७४ करोड ९३ लाख ६३ हजार ३ सय ४० रुपैंयाँ रकम कोषमा जम्मा भएको कोषका सुचना अधिकारी डा. रोशन कोजूले जानकारी दिए । उनका अनुसार हालसम्म ३ सय ४० जनाले ४ करोड ६२ लाख २१ हजार १ सय ५३ रुपैयाँ रकम दावी भुक्तानी पाएका छन् । यसमध्ये सवैभन्दा धेरै स्वास्थ्य उपचार अन्तर्गत भएको छ । सो शिर्षकमा हालसम्म २ करोड ४९ लाख ९५ हजार रकम भुक्तानी गरिएको छ । कोषबाट आश्रित परिवार सुविधा २१ ज्नाले प्राप्त गर्न थालेका छन् । कोषले आफ्नो रोजगारी गुमेपनि योगदानलाई व्यक्तिगत रुपमा निरन्तरता दिएर कोषको सेवा लिन चाहनेहरुले त्यस्तो सेवा पाउने गरी व्यवस्था गरिएको कोषका निर्देशक समेत रहेका डा. कोजूले जानकारी दिए ।

सरकारले नीजि क्षेत्रमा काम गर्ने श्रमिकको सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने उद्देश्यले विसं २०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गरेको हो । पहिलो बर्ष भित्रै २ लाख श्रमिकलाई सूचिकृत गर्ने लक्ष्य सहित निक्कै उत्साहका साथ सरकारले सुरु गरेको सो कार्यक्रममा अपेक्षा अनुसार भनें श्रमिक तथा रोजगारदाताको सहभागिता अझै भएको छैन ।

 

८ चैत्र २०७७, आईतवार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/03/11861/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *