देश विदेश

दूतावासद्दारा नेपाली श्रमिकलाई यी २० वटा कुरामा सजग रहन अपिल | देश परदेश

शेयर गर्नुहोस्

साउदी अरब स्थित नेपाली दूतावासले सो मुलुकमा कार्यरत नेपाली नागरिकलाई जानी नजानी हुने साइबर अपराधबाट बच्न तथा ठूलो सजायबाट जोगिन अपिल गरेको छ । दूतावासले एक सुचना निकाल्दै साउदी अरबमा बस्दा गर्न हुने तथा नहुने कार्य एवं सामाजिक सञ्जालको प्रयोग गर्दा अपनाउनु पर्ने सजगताका विषयमा अवगत गराएको हो ।

साउदी अरबको साइबर अपराध विरूदको कानून, २००७ को उल्लङ्घन गरेमा ५ वर्षको जेल सजाय वा ३० लाख रियालसम्म वा दवै जरिवाना हुने भएकोले सो कानूनको प्रतिकूल हुने कुनै पनि गतिविधिहरू नगर्न नगराउन दूतावासले अनुरोध गरेको छ । यसका लागि कसैले पनि आफ्नो फोनबाट अनावश्यक म्यासेज वा कुरा नगर्न अनुरोध गरिएको छ । यसैगरी फेसबूक, इमो, ह्वाट्स एप, म्यासेञ्जर वा यस्तै अन्य माध्यमबाट साउदी कानूनको बर्खिलाप हुने गरी कुनै कुरा अपलोड शेयर, लाइक, कमेण्ट नगर्न पनि दूतावासले अनुरोध गरेको छ । दूतावासले यी विषयमा साउदी अरबमा कार्यरत नेपालीलाई सजग रहन अपिल गरेको छ :

१. आफ्नो फोनबाट अरुलाई कुरा गर्न नदिनुहोस । आफैंले पनि आफ्नो फोनबाट साउदीमा अपरिचित पुरुष वा महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्नुहोस् ।

२. हुण्डी, हवाला वा अन्य कुनै पनि गैर–कानूनी माध्यमबाट रकमको कारोवार नगर्नुहोस । स्वदेशमा रकम पठाउँदा बैकिड माध्यमवाट मात्र पठाउनुहोस् ।

३. आफू रहेको मुलुकको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र राजनीतिक व्यवस्थाको सम्मान गर्नु तपाई हाम्रो दायित्व हो । साउदी अरबमा रहदा आफ्नो दायित्व पूरा गर्नुहोस । आफ्ना धार्मिक तथा सांस्कृतिक क्रियाकलाप आफ्नो कोठाभित्र मात्र सीमित राख्नुहोस् ।

४ साउदी अरबमा मदिराजन्य पदार्थको उत्पादन, वेचविखन, ओसारपसार, सेवन तथा लागूपदार्थको सेवन वा कारोबार पूर्ण गैरकानूनी कार्य हो । यस्ता काममा संलग्न नहुनुहोस् ।

५. अरूको उक्साहटमा लागेर वा स्वयं पनि कम्पनीको काममा वाधा पुर्याउने, उत्तेजना फैलाउने वा द्वेष बढाउने कार्य, बन्द, हड्ताल, धर्ना, जुलस तथा राजनीतिक सभा, सम्मेलन, गोष्ठी गर्नु पूर्ण गैरकानूनी हुनुका साथै ठूलो सजाय समेत हुने भएकाले यी कुनै पनि कार्यहरू नगर्नुहोस् ।

यो पनि पढ्नुहोस् घरेलु श्रमिकलाई ‘सर्भेण्ट’ र ‘मेड’ भन्न बन्देज

६. छुट्टीमा वा रोजगार करार सम्झौता समाप्त गरी नेपाल जाँदा अथवा नेपालबाट फर्केर आउँदा देशपरदेश नेपाल एवं साउदी अरबको कानूनले निषेध गरेका कुनै पनि (आफ्नो वा अन्य कुनै व्यक्तिको) मालसामान वा सून लगायत बहुमूल्य धातु लैजाने वा ल्याउने नगर्नुहोस । कुनै अन्य व्यक्तिका कानूनले वर्जित मालसामान तपाईले बोक्नुभएको छ भने त्यसको सम्पूर्ण जिम्मेवार तपाई आफै हनुहुनेछ । कानूनले प्रतिबन्ध लगाएका सामान ल्याउने लैजाने गरेका कारण धेरै नेपालीहरु सम्बन्धित निकायको कारवाहीमा परेका छन् । तसर्थ, त्यस्ता कार्यमा संलग्न नहनुहोस् ।

७. स्थानीय कानून, ट्राफिक नियम र अनुशासनको पालना गर्नुहोस् र कानूनी कारवाही हुनबाट बच्नुहोस् । ट्राफिक नियमको उल्लंघन गरी बाटो काट्दा धेरै नेपालीको निधन हुनुका साथै गम्भीर घाइते हुने गरेका छन् । तसर्थ, बाटो काट्दा तोकिएको स्थान वा सकेत भएको ठाउँबाट मात्र काट्ने गर्नुहोस् । ट्राफिक नियमको उल्लंघन गरी बाटो काट्दा दुर्घटनामा परी निधन भएकाहरुको परिवारले क्षतिपूर्ति समेत पाऊदैनन् ।

८. गर्मी तथा सुख्खा हावापानी भएकोले प्रशस्त पानी पिउनुहोस कोठा बाहिर र कोठाभित्रको तापक्रम सन्तुलन हुने गरी एसी चलाउनुहोस् ।  दिनभरी घाममा काम गरे कोठामा छिर्ने वित्तिकै एकैपटक धेरै चिसो हुनेगरी एसी चलाउने तथा धेरै चिसो पानी वा चिसो पेय पदार्थ उपयोग गर्ने नगर्नुहोस ।

९.पारिश्रमिक बढी पाउने लोभमा रोजगार करार सम्झौताभन्दा फरक काम र कम्पनी नखोज्नुहोस । विधिवत कफला हस्तान्तरण नभएसम्म कम्पनी छोडेर भाग्ने वा काम छोड्ने नगर्नुहोस । कम्पनी छोडेर भागेको अवस्थामा अवैध हुन गई स्वदेश फर्कन तथा विरामी भए उपचार गर्न समस्या पर्दछ । साथै अवैध रुपमा काम गरिरहेको अवस्थामा कार्य दुर्घटनामा परी मृत्यु भएमा परिवारले सामाजिक सुरक्षा बिमा वापतको कुनै रकम परिवारले पाउँदैनन् ।

यो पनि पढ्नुहोस् वैदेशिक रोजगार ऐन, २०६४ मा परिमार्जन आवश्यक

१०. रोजगार करार अवधि सकिने मिति यकिन गर्नुहोस । करार अंवधिभन्दा बढी बस्न कानूनत मिल्दैन । करार अवधि सकिनु अघि नै एक्जिट भिषा लाग्ने या करार सम्झौता नवीकरण गर्ने यकिन गर्नुहोस् । सो अनुसार कम्पनीमा लिखित आवेदन दिनुहोस । करार सम्झौता नवीकरण गर्नुपर्ने भएमा श्रम स्वीकृति लिने व्यवस्था गर्नुहोस् । एउटा कम्पनीसँगको करार समाप्त भई अर्को कम्पनीसंग करार गर्ने भएमा साउदी सरकारते उपलब्ध गराएको Abster App तथा QIWA पोर्टल प्रयोग गर्नुहोस्।

११ आफ्नो ईकामा (फोटोकपि समेत) अरूलाई नदिनुहोस् । तपाईंको ईकामाको पूर्ण जिम्मेवारी तपाईमा हुन्छ । तपाईको ईकामा प्रयोग गरी कसैले बदमासी गर्यो भने त्यसको दोष तपाईमा आउँदछ र तपाई सजायको भागीदार हुनुहुन्छ । आफ्नो टेलिफोन पनि अरूलाई नदिनुहोस । त्यसरी दिएर कसैले फोन गरेमा कानून अनुसार तपाई पनि कारवाहीमा पर्नुहुनेछ ।

१२. कम्पनीमा आफुले गर्नुपर्ने दैनिक कामको तालिका प्राप्त गर्नुहोस । यसबाट तपाईको अधिकार स्थापित गर्न सहज हुनेछ ।

१३ आफ्सँग काम गर्ने अरू देशका कामदारसँग सभ्य व्यवहार गर्नुहोस, झगडा नगर्नुहोस । आफ्नो म्यानेजर या सुपरभाइजरसँग सम्मानजनक व्यवहार गर्नुहोस । स्वयं एवं विदेशी कामदारको लहैलहैमा लागेर कतिपय नेपालीहरूले सामान चोरी गरेका आरोपका मुद्दाहरु बर्षौंदेखि विभिन्न अदालतहरूमा रहेका छन् । तसर्थ, चोरी जस्तो जघन्य अपराध नगर्नुहोस् ।

१४ बिरामी भएमा समयमा नै अस्पताल जानुहोस् र यसमा कम्पनीको सहयोग आवश्यक पर्नेमा आधिकारिक व्यक्तिलाई भन्नुहोस् ।

१५. काम गर्दा कामको प्रकृति अनुसार व्यवसायजन्य सुरक्षाका उपायहरू अपनाउनुहोस र सुरक्षाका सामग्री प्रयोग गर्नुहोस् ।

विशेष ध्यान दिनुपर्ने कुराहरू:

१. विभिन्न कानूनी झण्झट तथा मुद्दा मामिलामा परेका कामदारले राजदुतावास वा सम्वन्धित कम्पनी वा निकायमा समयमैं जानकारी गराउनुहोस् । सम्वन्धित प्रहरी वा अदालतमा गई मुद्दाको अद्यावधिक अवस्था बुझनुहोस । अदालतमा भाषा अनुवादक हुन्छन्, उनीहरूको सेवा लिई आफ्नो पक्षका सवाललाई प्रभावकारी रूपमा अदालतसमक्ष राख्नुहोस । मुद्दाको प्रतिरक्षा र सुरक्षामा आफु सदैव सचेत रहनुहोस । गम्भीर प्रकृतिको मुद्दामा अदालतमा हुने सुनवाइमा नेपाली राजदूतावासको आवश्यकता परेमा समयमै आफ्नो सुनवाइको मिति राजदूतावासलाई जानकारी गराउनुहोस् ।

२. सवारी चालकको रूपमा साउदी अरब आएका कामदारहरूले सवारी चालक अनुमति पत्र बेगर सवारी चलाएर दुर्घटना भई धेरै नेपालीहरूको निधन भएको छ । सवारी चालक कामदारले कम्तीमा सवारी साधनको तेस्रो पक्ष बीमाको कागजात, सवारी चालक अनुमती पत्र तथा नभई नहुने अन्य कागजात छैनन् भने सवारी साधन नचलाउनुहोस । सवारी साधन चलाउन वाध्य पार्ने अवस्था भएमा सो कम्पनीको विवरण सहित राजदूतावासमा सूचना दिनुहोस् र राजदूतावासको सुझाव अनुसार गर्नुहोस् ।

३. आफूले नचिनेको व्यक्तिलाई आफ्नो सवारी साधनमा नचढाउनुहोस । कुनै गैरकानूनी काम गरी भागेको मानिसले समेत तपाईको सवारीमा लिफ्ट मागेको हुनसक्दछ । तसर्थ, चनाखो हुनुहोस् ।

४. मुद्दा मामिला भई नेपाल फर्केका कामदारले पुन: साउदी अरब आउनु परेमा पुरानो ईकामामा कुनै मुद्दा बाँकी भए नभएको यकिन गरेर मात्र आउनुहोस् । अन्यथा तपाई विमानस्थलमै पक्राउ पर्न सक्नुहुनेछ ।

५. कुनै पनि कागजातहरुमा सही गर्नुभन्दा अगाडि के कागजात हो भन्ने प्रष्ट हुनुहोला । कतिपय कम्पनीहरुले कामदारहरुले पैसा सापट लिएको, रोजगारी नवीकरण गर्न मन्जुर गरेको वा कम्पनीबाट पाउने फाइदाहरु लिइसकेको लगायतका कागजातमा सही गराउने गरेको पाइएको छ । कम्पनीको प्रतिनिधि वा साथी कसैले कुनै कागजातमा सहि छाप लिन प्रलोभन देखाएको भरमा वा केही फरक पर्दैन भनेको आधारमा कागजातहरुमा सही नगर्नुहोस । कुनै पनि कागजातमा भएको सहीलाई अदालतले बलियो प्रमाणका रुपमा लिने गरेका छन् । पछि, मलाई थाहा थिएन आदि भनेर कुनै अर्थ नरहने तर्फ सचेत हुनुहोस् ।

यो पनि पढ्नुहोस् कतारमा कोरोनाका चिन्ताजनक विरामी दोव्वर बढे

२० चैत्र २०७७, शुक्रबार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/04/11907/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *