देश विदेश

सत्ता समीकरणको साँचो बोकेको जसपा फुटको संघारमा

शेयर गर्नुहोस्

काठमाडौं। जनता समाजवादी पार्टी जसपाले चाह्यो भने वर्तमान सरकार विस्थापन र नयाँ सरकार गठन सहजै हुनसक्छ। जसका नेपाली कांग्रेस र माओवादी केन्द्र लागि परेका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै कांग्रेस र माओवादीले वर्तमान सरकार विस्थापन गर्न खोजेका हुन्। जसमा जसपाको एउटा समूह पनि सहमत छ।

तर जसपाभित्रको अर्को समूह वर्तमान सरकारबाटै आफूहरुको माग सम्वोधन हुने भन्दै वर्तमान ओली सरकारकै निरन्तरताको पक्षमा छ। जसका कारण जसपा फुटको संघारमा पुगेको छ।

सोमबार लुम्बिनी प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीनसहित चार जनालाई मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएपछि जसपा फुटको संघारमा पुगेको हो।

जसपाभित्र पूर्व राजपा र पूर्व समाजवादी पार्टीबीच विवाद उत्कर्षमा पुग्न लाग्दा पार्टी विभाजन उन्मुख भएको हो। जसपामा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव वर्तमान सरकार विस्थापनको पक्षका छन् भने महन्थ ठाकुर, राजेन्द्र महतोसहित पूर्व राजपाका नेताहरु ओली सरकारकै निरन्तरताको पक्षमा छन्।

पछिल्लो समय सत्ता समीकरणमा ‘साँचो’ को रूपमा हेरिएको जसपा नयाँ सरकार निर्माण र सरकार ढाल्ने खेलमा निर्णायक बनेको छ। तर, जसपाले नयाँ सरकार निर्माणमा सघाउने कि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनका लागि सघाउने भन्ने विषयमा प्रष्ट धारणा भने बनाउन सकेको छैन।

सत्ता समीकरणको ‘साँचो’ बनेपछि जसपाले उठाएको माग पूरा गर्न ओली सरकारले प्रक्रिया अघि बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मधेस आन्दोलनका क्रममा पक्राउ परेका जसपाका कार्यकर्ता रिहा गर्ने निर्णय पनि गरेको छ।

यसअघि जनता समाजवादी पार्टीले मुद्दा फिर्ता लिनुपर्ने नेता कार्यकर्ताहरुको सूची सरकारलाई बुझाएको थियो। सरकारले सुनुवाइका क्रममा रहेका मुद्दा फिर्ता गर्ने, फैसला भइसकेका मुद्दामा सजाय माफी दिने र जरिवाना तिर्नुपर्ने हकमा जरिवानाको रकम सरकारले नै तिर्ने गरी प्रतिवेदन तयार पारेको थियो।

महान्यायाधीवक्ता रमेश बडाल र जनता समाजवादी पार्टी ९जसपा० का एक जना प्रतिनिधि वकिलले तयार पारेको प्रतिवेदन गृहमन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाइएको थियो।

आफूहरुको माग पूरा हुने अवस्था आएको भन्दै अध्यक्ष महन्थ ठाकुरसहितका नेता ओली सरकारको निरन्तरताको पक्षमा रहँदा अर्को समूह भने सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु पर्ने पक्षमा छ।

उता जसपाका अर्का अध्यक्ष यादव नेकपा माओवादी केन्द्रसँग निकट देखिएका छन्। सत्ता समीकरणको निर्णायक बने पनि जसपा आन्तरिक विवादमा फसेको छ। जसपा स्पष्ट रूपमा दुई कित्तामा बाँडिएको छ ।

पार्टीभित्र विवाद बढ्दै गएपछि दुई दलका संसदीय दलको समायोजन हुन सकेको छैन। अहिले पनि तत्कालिन राजपा र तत्कालीन समाजवादीको संसदीय दल अलग अलग छन्। सिंहदरबारमा अलग–अलग ठाउँमा संसदीय दलका कार्यालय राखिएका छन्।

राजपाका संसदीय दलको नेता ठाकुर र समाजवादीका संसदीय दलका नेता यादव छन्। दुवै पार्टीमा अलग–अलग संसदीय दलका प्रमुख सचेतक छन्।

ओली नेतृत्वको सरकारका बारेमा आधिकारिक धारणा बनाउन र पार्टीभित्र देखिएको विवाद समाधानका लागि जसपाले गत चैत ६ गते केन्द्रीय समितिको बैठक बोलाएको थियो। तर, अन्तिम समयमा बैठक स्थगित गरिएको थियो।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/244057/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *