देश विदेश

म्याग्दीकाे पहिचान झल्काउन करबाकेलीमा सङ्ग्रहालय स्थापना

शेयर गर्नुहोस्

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा स्थित करबाकेलीमा सङ्ग्रहालय स्थापना भएको छ। करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा म्याग्दीको पहिचान झल्काउने सङ्ग्रहालय स्थापना भएको हो। समितिका संरक्षक चामबहादुर पुनले लोप हुन लागेका परम्परागत सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको बताए।

“कला, संस्कृति, जनजीवन र पहिचान झल्काउने सामग्रीहरुलाई लोप हुन नदिन संरक्षणका साथै पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ”, उनले भने, “दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्रीहरु सङ्कलन गरेर राख्न थालेका छौँ ।”

सङ्ग्रहालयमा म्याग्दीमा बसोबास गर्ने विभिन्न समुदायले प्रयोग गर्ने परम्परागत सामग्री, पोशाक, हात हतियार, भााडा, गहनालगायतका सामग्री सङ्कलन गरेर राख्न थालिएको छ। पुराना पुस्तक र धातुका सिक्काहरु पनि सङ्ग्रहालयमा अवलोकन गर्न सकिन्छ।

सामग्रीहरुको सजावटको काम सकिएपछि सङ्ग्रहालय अवलोकनका लागि खुल्ला गराउने करबाकेली संरक्षण समितिले जनाएको छ । सङ्ग्रहालय स्थापना गर्न करबाकेलीमा परम्परागत शैली र प्रव्धििको प्रयोग गरेर दुई तले भवन निर्माण भएको छ । ढुङ्गा, माटो, चुन, सिमेन्ट, बालुवा र काठ प्रयोग गरेर मैलिकता झल्कने आकर्षक दुई तले भवन निर्माण भएको हो । भवन निर्माणमा हालसम्म करिब रु ६८ लाख खर्च भएको समितिका सचिव रवि गर्बुजाले बताए।

“अन्नपुर्ण गाउँपालिकाले रु सात लाख र प्रदेश सरकारले रु पाँच लाख सहयोग गरेका छन्”, उनले भने, “बाँकी रु ५३ लाख स्वदेश तथा विदेशबाट चन्दा सहयोग प्राप्त भएको हो । समितिको रु तीन लाख खर्च भएको छ । घोषणा गरेको सहयोग प्राप्त हुने क्रम जारी छ।”

पुन समुदायको अगुवाइमा स्थापना गरिए पनि सङ्ग्रहालयलाई म्याग्दी जिल्लाका सबै जातजाति र समुदायको साझा बनाइएको छ । सङ्ग्रहालयले परम्परागत सामग्रीको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको अन्नपूर्ण–८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए।

पुन समुदायका कुल देवता करबाकेली बाबाको अवसान भएको करबाकेलीमा रु दुई करोडभन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पूजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदानलगायतका पूर्वाधार निर्माण भइसकेको छ।

स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको १९ रोपनी जग्गामा पूर्वाधार निर्माण भएको हो । स्थानीय प्रविधि र परम्परागत सीपको प्रयोग गरी मौलिक शैलीको करबाकेलीको थान बनाइएको छ। थानभित्र बहुमूल्य धातुले जलप लगाइएको करबाकेली, उनका श्रीमतीहरु हिमला, फिमला, छोराहरु रामचन र कुलचनको मुर्ति छन्।

मन्दिरको प्रवेशद्वारमा सुन गरुडको शालिक बनाइएको छ । गरुड पुनहरुले पुज्ने पक्षी हो । यस स्थानमा पूजाआजा र दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ । पुन समुदायले जेठको पहिलो उजेली मङ्गलबार र मङ्सिरको पहिलो उजेली मङ्गलबार पारेर पूजा गर्छन्।

करबाकेलीसम्म पुग्न करिब एक किलोमिटर पदमार्ग र प्रवेशद्वार पनि निर्माण गरिएको छ । करबाकेली परिसरमा करिब एक हजार क्षमताको सभाहल निर्माण भएको छ । घेराबारसहितको बास्केटबल र भलिबल खेल्न सकिने खेलमैदान बनाइएको छ।

करबाकेली भ्रमणमा आउने पर्यटक तथा भक्तजनको सुविधाका लागि सामुदायिक होटल सञ्चालन गरिएको छ । नौ वटा कोठा रहेको उक्त होटलमा एक दिनमा ५० भन्दा बढी पाहुना बास बस्न सक्ने सुविधा छ।

समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित करबाकेलीबाट गुर्जा, धौलागिरि, नीलगिरि, माछापुच्छ«्रे, अन्नपूर्ण, टुकुचेलगायत १० वटा हिमालका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जङ्गल अवलोकन गर्न सकिन्छ।

यहाँबाट नागबेली परेर बगेको कालीगण्डकीको मनमोहक दृश्य देखिन्छ । करबाकेलीलाई केन्द्रीत गरेर समुदायकै पहलमा ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरिएको छ । ट्रेकका अध्यक्ष यामबहादुर पुनले जङ्गल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरताको रसस्वादन गर्न पाउनु यस पदमार्गको विशेषता भएको बताए।

पोखराबाट घोडेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनीबजारलाई जोड्ने पदमार्ग सञ्चालन गरिएको छ । बाँसखर्क, महभिर, काफलडाँडा, रिमा, फुलबारी, राम्चे, लोप्रे, कुवापानीलाई यो पदमार्गले समेटेको छ।रासस


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/244871/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *