देश विदेश

एमालेका माथिल्ला कमिटीमा महिलाहरुको सहभागिता शून्य

शेयर गर्नुहोस्

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेको शुक्रबार बसेको बैठकले पार्टीको स्थायी समितिमा हेरफेर गर्दा यसअघि सो समितिमा रहेका महिला हटाइए, नयाँ थपिएकाहरुमा महिला परेनन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले शुक्रबार १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। यसअघि एमालेको नवौं महाधिवेशनपछि बनाइएको स्थायी कमिटीमा रहेका माधव कुमार नेपाल समूहका नेताहरुलाई हटाउँदै शुक्रबार बनाइएको स्थायी कमिटीमा महिला सहभागिता शून्य देखिएको हो। यसअघि एमालेको स्थायी कमिटीमा एकजना महिला अष्टलक्ष्मी शाक्य थिइन्। उनलाई शुक्रबार स्थायी कमिटीबाट हटाइएको छ।

स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन्।

माधव समूहका नेताहरुलाई हटाएर आफू निकट नेताहरुलाई स्थायी कमिटीमा समेट्दा अध्यक्ष ओलीले एकजना महिला पनि सहभागी नगराउँदा समाजिक सञ्जालमा आलोचना र व्यंग्य भइरहेको छ। तर स्वय ओली निकट एमाले नेतृहरुले भने महिला सहभागिता नभएको विषयलाई सहज रुपमा लिएका छन्। एमाले निकट अखिल नेपाल महिला संघकी अध्यक्षसमेत रहेकी प्रतिनिधिसभा सांसद शुजिता शाक्यले अहिले बनेको स्थायी कमिटीमा महिलालाई नसमेटिनु स्वभाविक रहेको बताइन्। उनले डिसी नेपालसँग भनिन्, ‘अहिले महाधिवेशन आयोजक समिति छ, यसमा सहभागिता नहुनु सामान्य नै हो। आगामी महाधिवेशनबाट महिलाहरुको सहभागिता बढाउने अध्यक्षले भन्नु भएको छ।’

उनले अनेमसंघले १० बुँदे ज्ञापन पत्र अध्यक्ष ओलीलाई बुझाएको र त्यसमा समावेशिताको विषय पनि रहेको बताइन्। एमालेमा महिला सहभागिता शून्य गरिएको यो पहिलो पटक भने होइन। यसअघि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सात वटा प्रदेशको इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष तोक्दा पनि एकजना महिला पनि समेटिएको थिएन। त्यतिबेला पनि ओली निकट महिला नेतृहरुले यो विषयलाई सहजै लिएका थिए। त्यतिबेला एमाले नेतृ विन्दा पाण्डेले डिसी नेपालसँग भनेकी थिइन्, ‘हामीले यो विषयमा कुरा गरेका छौं। समय आएपछि महिलालाई पनि समेट्नु हुन्छ होला।’

०६२–६३ को जनआन्दोलनपछि परिवर्तित राजनीतिक प्रणालीमा समावेसिताको विषयलाई निकै महत्व दिइएको छ। मौजुदा संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता अनिर्वाय गरेको छ। राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक महिला अनिवार्य गरिएको छ। सभामुख र उपसभामुख मध्ये एक महिला अनिवार्य गरिएको छ। स्थानीय तहमा पनि प्रमुख र उप्रमुख मध्ये एक महिला अनिवार्य गरिएको छ।

तर, ती पदमा पुग्न टिकट दिने पार्टी त्यसमा पनि सत्तारुढ पार्टीले पार्टीको निर्णायक समितिहरुमा महिलाको सहभागिता शून्य बनाइदिएपछि महिला सहभागिताको मुद्दा कागजमामात्र सिमित भएको छ। त्यसो त यसअघि तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भई नेकपा बन्दा पनि सो पार्टीको सचिवालयमा महिला सहभागिता शून्य थियो भने केन्द्रीय कमिटीमा ३३ प्रतिशत सहभागिता थिएन।

मुलुकै सत्तारुढ दलमा सहमावेशिताको यो दयनीय अवस्था आएपछि सामाजिक सञ्जालमा एमालेको आलोचना भइरहेको छ। पत्रकार तथा साझाविवेकशील पार्टीका नेता प्रकाशचन्द्र परियारले फेसबुकमा लेखेका छन्, ‘उफ, भाले महात्म्यः प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले १९ सदस्यीय एमाले पुरुष स्थायी समिति गठन गरेको समाचारले स्तब्ध बनाएको छ। नेपालको संविधान २०७२ लाई रछ्यानमा फालेर गठन गरिएको स्थायी समितिमा उनले कत्लेआम गर्न खोजेका प्रतिष्पर्धी माधव नेपाल पक्षको १ जना पनि सदस्य नसमेटिनुभन्दा अझ डरलाग्दो तस्वीर भनेको ओली गुटवाटै एकजना पनि महिला स्थायी समितिमा नहुनु ओलीलाई लागेको भयानक ‘पुरुषोत्तम रोग’को संकेत हो। नीति निर्माण तहमा सिमान्तकृतहरुलाई कसरी ‘ट्याँउ ट्याँउ ठिस’ गरीन्छ भन्ने कुरो नेपालको कानुनलाई हातमा लिने नेतृत्वको अनुदार चरित्रले पटक पटक देखाउदै आएको छ। समावेशी नेपालमा भालेवाद सम्भव छ।’

नेपाल पत्रकार महांघ सीआईएन शाखाकी अध्यक्ष शोविता रिसालले पनि एमाले स्थायी कमिटीमा महिला सहभागिता नभएको विषयलाई आलोचना गर्दै फेसबुकमा स्टाटस लेखेकी छन्। उनल लेखेकी छन्, ‘हाम्रा प्रधानमन्त्रीको पार्टीमा स्थायी कमिटी सदस्य हुन लायक महिला कोहि रैन रैछन क्यारे। १९ जनाको स्थायी कमिटी बनाउदा १ जना पनि महिला नभएको कस्तो पार्टी हो ? प्रधानमन्त्रीले अब कसरी पार्टी भित्र महिला सहभागिता र समाबेसशिताको कुरा उठाउनु हुन्छ ? उहाँका पार्टीका महिला नेताको के छ यसमा धारणा ?’

उता पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य नकुल अर्यालले ट्वीटरमा लेखेका छन्, ‘अस्तिसम्म पत्रकार महासंघमै महिला नेतृत्व अनिवार्य देख्ने कामरेडहरु एमाले स्थायी कमिटीको सूची हेर्नुभयो? कतिजना महिला नेतृ परेछन् कुन्नी ? कि एमाले भालेहरुको मात्रै पार्टी हो ?’


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/245008/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *