देश विदेश

सरकारद्दारा न्यूनतम पारिश्रमिक वृद्दिको घोषणा | देश परदेश

शेयर गर्नुहोस्

सरकारले आर्थिक वर्ष २०७८/७९ देखि लागु हुनेगरी श्रमिकको न्यूनतम ज्याला मासिक १५ हजार तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसको अवसरमा सम्वोधन गर्दै आगामी आर्थिक वर्ष देखि श्रमिकको न्यूनतम ज्याला १५ हजार बनाइने घोषणा गरेका छन् । हाल नेपालमा श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० छ ।

प्रधानमन्त्री ओलीले अव देखि दैनिक ज्याला पनि वृद्दिको घोषणा गरे । हालसम्म दैनिक ज्याला ५ सय १७ रहँदै आएकोमा आगामी आर्थिक वर्ष देखि ५ सय ७७ बनाइने प्रधानमन्त्री ओलीले जानकारी दिए । यसैगरी प्रति घण्टा पारिश्रमिक रु ६९ बाट रु ७७ बनाइने भएको छ ।

गत वर्ष श्रमिकले समझदारी देखाएको भन्दै यस वर्ष रोजगारदाताले समझदारी देखाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । नियमानुसार गतवर्ष न्यून्तम ज्याला पुनरावलोकन गर्ने वर्ष थियो ।

प्रधानमन्त्री ओलीले कोभिड १९ का कारण परिस्थिति प्रतिकुल भएपछि परिस्थतिले साथ दिएन भनेर सधैं व्यवहार नचल्ने बताए । अनिकालमै पनि सकेसम्म भोकै कोहि बस्दैन भन्दै प्रधानमन्त्रीले न्यूनतम पारिश्रमिकको पुनरावलोकन सामान्यतया दिने पक्ष र लिने पक्षका प्रतिनिधिहरुको आपसी सहमतिमा हुँदै आएको भए पनि यस वर्ष पटक पटकका छलफलमा त्यो सहमति नजुटेको हुँदा सरकारले हस्तक्षेप गर्नुपरेको आसय प्रकट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले हालसम्म झण्डै १२ हजार रोजगारदाता र दुई लाख श्रमिक सामाजिक सुरक्षामा आवद्द भएको भन्दै सवैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने उल्लेख गरे । दैनिक ज्यालादारी तथा करार सेवाका सरकारी कर्मचारीहरुलाई पनि यसै आर्थिक वर्ष देखि लागु हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षामा आवद्द गर्ने जानकारी प्रधानमन्त्री ओलीले गराएका छन् । प्रधानमन्त्री ओलीले तत्काल विवरण प्राप्त ९ हजार ८ सय ४० जना संघिय कार्यालयमा कार्यरत कर्मचारीहरुबाट यसको सुरुवात गरिने बताए । क्रमश: ३१ हजार ५ सय स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आवद्द गर्दै लगिने प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले सरकारले तीन वर्षको अवधिमा सामाजिक क्षेत्रमा लगानी बढाएको भन्दै श्रमको सम्मान र मर्यादित कामको अवधारणालाई प्रवद्र्दन गरिरहेको बताए । उनले वर्तमान सरकारले काम गरेको तीन वर्षको बीचमा विभिन्न ८ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउनेहरुको संख्या ५ लाख वृद्दि गराई ३० लाख ६० हजार पुगेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सम्वोधनका क्रममा वैदेशिक रोजगारीमा रहेकाहरुको सुविधाको लागि अनलाइन श्रम स्वीकृति प्रणाली सञ्चालनमा ल्याइएको भन्दै वैदेशिक रोजगारमा रहेकाहरुको अधिकार, मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिएको बताउनुभयो । उहाँले स्वदेशमा कार्यरत श्रमिकको पनि बैंक मार्फत तलव भुक्तानी गर्ने प्रणाली सुरु गरिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कोभिडकै कारण गत वर्ष २५ करोड रोजगारी विश्वव्यापी रुपमा गुमेको र यस वर्ष कम्तीमा १३ करोड रोजगारी खतरामा रहेको पनि स्मरण गरे । उनले विश्वमा हरेक वर्ष २० लाख ७८ हजार व्यक्तिको ज्यान कामसँग सम्वन्धित रोगहरु तथा कार्यथलोमा हुने दुर्घटनाका कारण मृत्यु हुने गरेको भन्दै मजदुर संगठनहरुले गत अप्रिल २८ का दिन त्यसलाई स्मरण गरेको पनि सम्वोधनका क्रममा स्मरण गरे ।

१८ बैशाख २०७८, शनिबार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/05/12005/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *