देश विदेश

एनआरएनएले नेपाललाई तत्काल दुई करोडको स्वास्थ्य सामाग्री दिने

शेयर गर्नुहोस्

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल करिब दुई करोड रुपैयाँ बराबरको स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीहरुका लागि सय वटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कुमार पन्तले सरकारको तर्फबाट स्वास्थ्य उपचारमा पहल हुँदाहँुदै पनि कोरोना भाइरस तिब्र रुपमा बढी रहँदा बिरामीहरुले अस्पतालमा बेडसमेत नपाउने अवस्था रहेको जानकारी दिए ।

बैठकमा एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.संजिव सापकोटाले नेपालमा कोरोनाविरुद्ध लड्नको लागि तत्काल अक्सिजन सिलिन्डरलगायतको समस्या रहेको बताउँदै अल्पकालीन तथा दीर्घकालीन योजनासहित अघि बढ्नु पर्ने सुझाव दिए ।

बैठकमा संघका उपाध्यक्ष डा.बद्री केसीले एनआरएनए नेपालमा अहिले देखिएको विषम परिस्थितीसंग जुध्नका लागि आवश्यक सहयोग गर्न तयारी अवस्थामा रहेको जानकारी दिए । उनले संघको सक्रियतामा टेलिमेडिसिन संचालन भइरहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्पडेक्सको आवश्यकता रहेको बताए ।

बैठकमा संघका कोषाध्यक्ष महेश श्रेष्ठले कोरोनाविरुद्धको अभियानमा नेपाललाई आर्थिक सहायता गर्न सक्रिय रहन सबै राष्ट्रिय समितिलाई आह्वान गरे ।

बैठकमा बोल्दै एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेले एनआरएनए अमेरिकाको सक्रियतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।

बैठकमा एनआरउनए बेलायतकी अध्यक्ष पुनम गुरुङ्गले बेलायत सरकारलाई खोप उपलब्ध गराईदिन आग्रह गरिएको जानकारी दिइन् । उनले नेपाली दूतावास लण्डनको सहकार्यमा नेपालमा खोप पठाउन बेलायत सरकारलाई आग्रह गरिने बताइन् ।

बैठकमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलले कोरोना भाइरसको संक्रमणका विरुद्ध लड्न नेपालमा सहयोग गर्न अष्ट्रेलियावासी नेपाली समुदायको तर्फबाट आर्थिक संकलन भैरहेको जानकारी दिए ।

संघका महासचिव डा.हेम राज शर्माले संचालन गरेको बैठकमा अमेरिका, अष्ट्रिेलिया, आयरल्याण्ड, द नेदरल्याण्डस, बेलायत, साउदी अरब, जापान, यूएई, जर्मनी, रुस, कोरिया, क्यानाडा, अष्ट्रिया, कतार, अफ्रिका, चीनलगायत संघका करिब दुई दर्जन देशका राष्ट्रिय समितिका अध्यक्ष, महासचिव, केन्द्रीय पार्षद पदाधिकारी तथा आइसीसी सदस्यहरुको उपस्थिती थियो ।

बैठकमा बोल्ने वक्ताहरुले कोभिड–१९ विरुद्ध लड्न आइसोलेशन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पीसिआर टेष्ट, स्वास्थ्यसम्बन्धी जनजागरण अभियान संचालन गर्न आवश्यक रहेको सुझाव दिएका थिए ।

बैठकले संघका अध्यक्ष कुमार पन्त तथा अन्य संक्रमितहरुको स्वास्थ्य लाभको कामना गरेको थियो ।

यसै सन्दर्भमा एनआरएनए स्वास्थ्य समितिले नेपालका विभिन्न शहरमा स्वास्थ्य सम्बन्धी हटलाइन (टेलिफोन सेवा) शुरु गरिसकेको छ । नेपालको मेडिकल एशोसिएसनसँग मिलेर सुरु गरिएको टेली मेडिसिन हटलाइन सेवाका लागि करिब दुई दर्जन चिकित्सकहरु परिचालन गरिएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/05/249633/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *