देश विदेश

प्रधानमन्त्री पदबाट हटेपछि अबको प्रक्रिया के हुन्छ ? संविधानमा के छ व्यवस्था ?

शेयर गर्नुहोस्

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । संविधानको धारा १०० (३) को व्यवस्थाअनुसार प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेपछि उनी स्वतः पदमुक्त भएका हुन् । तर, पदमुक्त भए पनि प्रधानमन्त्री ओली अर्को प्रधानमन्त्री नियुक्त नभएसम्मका लागि कामचलाउ प्रधानमन्त्रीको हैसियतमा रहनेछन् र त्यतिबेलासम्म प्रधानमन्त्रीको रुपमा कार्यसम्पादन उनैले गर्नेछन् ।

प्रधानमन्त्री स्वतः पदमुक्त भएसँगै प्रधानमन्त्री पद रिक्त भएको मितिले ३५ दिनभित्र अर्को प्रधानमन्त्रीको नियुक्ति गरिसक्नुपर्छ । संविधानको धारा ७६ मा प्रधानमन्त्रीको नियुक्तिसम्बन्धी व्यवस्था छ । संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्री नियुक्त हुनको लागि अहिले कुनै पनि दलको प्रतिनिधिसभामा स्पष्ट बहुमत नभएकोले यस्तो प्रधानमन्त्री बन्न सम्भव छैन ।

धारा ७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत प्राप्त गर्न नसकी पदमुक्त भएका छन् । अब अर्को प्रधानमन्त्री संविधानको धारा ७६ (२) बमोजिम बन्ने वा धारा ७६ (३) बमोजिम बन्ने भन्ने मुख्य कुरा हो । विपक्षी गठबन्धनले धारा ७६ (२) अनुसार बहुमत जुटाउने भनेका छन् । अब संविधानअनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गर्नुपर्नेछ ।

राष्ट्रपतिको आश्वानअनुसार विपक्षी गठबन्धनले बहुमत जुटाएर राष्ट्रपतिसमक्ष नयाँ प्रधानमन्त्री प्रस्ताव गर्न सक्छन् र राष्ट्रपतिले उनैलाई प्रधानमन्त्री नियुक्त गर्न सक्छिन् । तर विपक्षी गठबन्धनले प्रधानमन्त्री को बन्ने निधो नगरेको र जसपाले कांग्रेस–माओवादी गठबन्धनलाई सहयोग गर्ने नगर्ने निर्णय नगरेकोले यसरी प्रधानमन्त्री बन्न सक्ने वा नसक्ने स्पष्ट छैन ।

यसरी प्रधानमन्त्री बन्न नसके संविधानको धारा ७६ (३) आकर्षित हुन्छ । यो धारामा प्रतिनिधिसभाको सबैभन्दा धेरै सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । प्रतिनिधिसभामा सबैभन्दा धेरै सदस्य नेकपा (एमाले)का छन् त्यसैले यो धाराअनुसार पुनः केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त हुनेछन् ।

धारा ७६ (३) बमोजिम प्रधानमन्त्री नियुक्त भएपछि ओलीसँग १ महिनाको समय हुनेछ । संविधानको धारा ७६ (४) अनुसार उनले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ । अन्यथा उनी फेरि पदमुक्त हुनेछन् । अहिले विश्वासको मत नपाएका प्रधानमन्त्रीले एक महिनापछि विश्वासको मत पाउने सम्भावना अत्यन्तै न्यून छ र उनी पदमुक्त हुने सम्भावना उच्च छ ।

त्यतिबेला उनी पदमुक्त भएपछि धारा ७६ (५) अनुसार कुनै पनि प्रतिनिधिसभा सदस्यले आफूले प्रतिनिधिसभाबाट बहुत प्राप्त गर्न सक्छु भन्ने आधार प्रस्तुत गरेमा त्यही सदस्य प्रधानमन्त्री नियुक्त हुनेछन् । अहिले र सम्भवतः १ महिनापछि पनि प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेको अवस्थामा विश्वासको मत पाउन सक्ने आधार प्रस्तुत गर्ने सांसद ओली नै होलान् भन्ने सम्भावना पनि निकै न्यून छ ।

सम्भवतः त्यतिबेला अर्कै कुनै सदस्यले आफूले बहुमत पाउन सक्छु भन्ने आधार प्रस्तुत गर्न सक्छन् । प्रतिनिधिसभामा ४ दल मात्र छन् । त्यसैले यसरी आउने नेता सम्भवतः कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल वा जसपा संसदीय दलका नेता महन्थ ठाकुर हुन सक्छन् ।

सम्भवतः यीमध्ये कुनै एक नेता संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री बन्न सक्छन् । ती प्रधानमन्त्रीले पनि प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ । यसरी विश्वासको मत लिन सकेमा ती प्रधानमन्त्री कायम रहनेछन् । ती प्रधानमन्त्रीले पनि विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा ७६ (७) आकर्षित हुन्छ र प्रतिनिधिसभा स्वतः विघटन हुन्छ । त्यसपछि ६ महिनाभित्र अर्को निर्वाचन गर्नुपर्छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/05/249936/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *