देश विदेश

कोभिड नियन्त्रणका लागि युरोपियन युनियनद्वारा आर्थिक सहयोग

शेयर गर्नुहोस्

बेनेलक्स बेल्जियम, नेदरल्याण्ड र लक्जम्बर्ग)का लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले पछिल्लो समयमा नेपालमा बढ्दो कोरोना संक्रमण रोकथाम, नियन्त्रण र संक्रमणका कारण हुने मानवीय क्षति रोक्न युरोपियन युनियनअन्तर्गतको ‘युरोपियन नागरिक संरक्षण तथा मानवीय सहयोग’बाट २ मिलियन युरो (करिव २८ करोड रुपैयाँ) सहयोग प्राप्त भएको बताउनुभएको छ । युरोपियन युनियनका विभिन्न युनिटहरूसँग आफूले गरेको आग्रह-अनुरोधपश्चात उक्त सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो।

त्यस्तै, संकट व्यवस्थापनका लागि इयूका आयुक्त जानेज लिनार्सिसले नेपालमा कोरोना संक्रमण प्रत्येक मिनेटमा फैलिरहेको प्रति दुःख व्यक्त गर्दै महामारीविरुद्धको लडाइँमा नेपालले गरेका हरेक प्रयासहरूमा आफ्नो ऐक्यबद्धता रहेको जनाउनुभएको छ । आकस्मिक सहयोग लागि दुई मिलियन युरो सहयोग गरेको जानकारी दिँदै आयुक्त लिनार्सिसले थप सहयोगका लागि पनि आफूहरू तयार रहेको बताउनुभयो ।

नेपाल सरकारले भने युरोपियन युनियनको उक्त आर्थिक सहयोग लिन नागरिक सुरक्षा संयन्त्र निर्माण गर्नुपर्ने पनि उल्लेख गरेको छ ।

युरोपियन युनियनद्वारा प्रदान गरिएको उक्त सहयोगले कोभिड-१९ बाट संक्रमित भइ आइसोलेशनमा बसेका बिरामीहरुको स्वास्थ्यावस्थाको अनुगमन र टेलिमेडिसियन सेवा संचालन गर्न खर्च गरिने भएको छ । प्राप्त सहयोगले राष्ट्रिय आपतकालिन समुह निर्माण गरी त्यसको परिचालन गर्न र तत्काल अन्तर्राष्ट्रिय मेडिकल समुह परिचालन तथा सहजिकरण गर्नका लागि खर्च गरिने बताइएको छ । कोभिड १९ को रोकथामका सामान खरिद र आपूर्तिमा पनि सो रकमको केही हिस्सा खर्च गरिने छ । यसअन्तर्गत अक्सिजन ग्यास सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, होम केयर सामग्री, एन्टिजेन किट, पीपीई लगायत हुने छन् ।

त्यस्तै, सहयोगले संक्रमितहरूलाई तत्काल अस्पताल रेफर गर्न समेत सहयोग गरिने युरोपियन युनियन नागरिक संरक्षण तथा मानवीय सहयोग संचालनको वेभसाइडमा उल्लेख गरिएको छ ।

राजदूत राजभण्डारीले नेपालमा बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक सहयोग गर्न विभिन्न सरकारी निकाय तथा संघ-संस्थाहरूलाई समेत आग्रह गर्नुभएको छ ।

यसक्रममा राजदुत राजभण्डारीले बेल्जियमस्थित स्वास्थ्यसम्बन्धी पढाइ हुने विश्वविद्यालय र अस्पताललाई पनि जनशक्ति सहयोगका लागि अनुरोध गरिएको तथा केही दक्ष चिकित्सकहरूले तत्काल नेपाल गइ कोभिडसंक्रमित बिरामीहरूको उपचारमा सहयोग गर्न सक्ने रुचि देखाएको बुझिएको छ ।

एक फरक प्रसङ्गमा राजदुत राजभण्डारीले कोभिडका कारण अन्य देशहरूझैँ युरोपियन मुलुकको अर्थव्यवस्थामा समेत नकारात्मक असर परेको र तङ्ग्रिँदै गरेको अवस्थामा गरिएको आग्रहले दाताहरूबाट चाहेजति सहयोग प्राप्त हुन नसकेको उल्लेख गर्नुभयो । यसका अतिरिक्त गैरआवासिय नेपाली संघलगायत अन्य संघ-संस्थाहरूलाई समेत तत्काल सहयोग गर्न अनुरोध गरिएको उहाँको भनाइ छ ।

उता, गैरआवासीय नेपाली संघ बेल्जियमका महासचिव तीर्थराज धमलाले भने एनआरएनए बेल्जियमले यसअघि पनि नेपालमा पाँच वटा अक्सिजन कन्सन्ट्रेटर पठाएको र हालै मात्र गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को आग्रहमा आफूहरूले एक हजार युरो (करिव एक लाख ४० हजार रुपैयाँ) सहयोग गरेको जानकारी दिनुभयो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *