देश विदेश

लमजुङ्ग भुकम्पमा ६ जना घाइते, २ सयभन्दा बढी घरमा क्षति

शेयर गर्नुहोस्

मनाङमा बुधबार दिनभर २५ पटकभन्दा बढी परकम्प

लमजुङ — मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु छिचुकी ४० वर्षीया उमा गुरुङ बेंसीसहर–६ चनौटेमा बस्छिन्। पालीमा सुतेकी उनी बुधबार बिहान साढे ५ बजेतिर उठिन् । त्यतिन्जेलसम्म सँगै सुतेकी कान्छी छोरी श्रीति मर्निङ वाक गइसकेकी थिइन्।

‘अलि सन्चो थिएन। दिसापिसाब गरेर एकछिन पल्टिएकी थिएँ। कच्ची पुरानो घरको पर्खाल त झ्याम्मै आइहाल्यो, निद्रामै थिच्यो,’ उनले भनिन्, ‘एउटा हातले छेक्दा हात काटियो। टाउकोमा लाग्यो । हारगुहार गरेपछि खै कसले उठाएछ।’

बेंसीसहर–११ रामचोकबेंसीकी ८४ वर्षीया खवकुमारी पाण्डे पनि सबैरै उठेकी थिइन्। ‘केके कराए जस्तो भएर सबै हल्लायो। कराउँदै बाहिर निस्के र भकारोतिर भागें,’ उनले भनिन्, ‘भाग्दाभाग्दै घर भत्किएर खुट्टा र टाउकोमै कुल्चियो। अनि त्यहीं ढलेछु।’ बुधबार बिहान ५ बजेर ४२ मिनेटमा मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गयो।
त्यतिबेला प्रायः सुतिरहेका थिए। निषेधाज्ञाका कारण ब्युँझिसकेका पनि घरभित्रै थिए। दोर्दी गाउँपालिका–७ लप्सीबोटकी ८३ वर्षीया मंगलीमाया तामाङको घर भत्किँदा उनी पनि घाइते भइन्।

एकैछिनको ठूलो झड्काका कारण भाग्ने क्रममा मर्स्याङ्दी–६ ठूलीबेंसीका २२ वर्षीय गोविन्द अधिकारी, बेंसीसहर–८ ओख्लेफाँटकी २९ वर्षीया खुसीमाया गुरुङ र शेराकी ६० वर्षीया सुमित्रादेवी श्रेष्ठ पनि घाइते भएका छन्। अधिकारीको टाउकोमा चोट लागेकाले उपचारका लागि चितवन लगिएको छ । अरू सबै जिल्ला अस्पतालमा उपचार गरी घर फर्केका छन्। तामाङको भने स्थानीय स्वास्थ्य संस्थामै उपचार गरिएको छ । परकम्पले स्थानीय दिनभर घरभित्र पस्न सकेनन्।

बिहान ८ बजेर १६ मिनेटमा ४ म्याग्निच्युड र ८ बजेर २६ मिनेटमा ५ दशमलव ३ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। बिहान पहिलो झड्कादेखि साँझ ५ बजेसम्म २५ पटकभन्दा बढी परकम्प मापन गरिएको केन्द्रले बताएको छ। केन्द्रले लमजुङ भूकम्पलाई २०७२ वैशाख १२ गतेको भूकम्पको परकम्प भनेको छ।

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भूकम्पबाट पालिकाका ४० भन्दा बढी घरमा क्षति पुगेको बताए। ‘हामी राहतको कार्यक्रमका लागि समन्वय गरिरहेका छौं। तथ्यांक पनि लिइरहेका छौं,’ उनले भने। बेंसीसहर नगर प्रमुख गुमानसिंह अर्यालले नगरभित्रका एक सयभन्दा बढी घर पूर्ण रूपमा क्षति पुगेको बताए। ‘मर्स्याङ्दी केन्द्रबिन्दु भए पनि असर बेंसीसहरमा बढी परेको छ। अनुगमन गर्दा ४० घर भएको गाउँ (देउजनथोक) मा ३० घरमा क्षति पुगेको छ।’

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार घाइतेको उद्धार गरी उपचार गराएको र जिल्लाभर २ सयभन्दा बढी घर क्षति भएको प्रारम्भिक जानकारी आएको बताए। उनका अनुसार क्षति पुगेका घर सबै कच्ची हुन्। घर भत्किएर विस्थापित परिवार अहिले अधिकांश छिमेकीकहाँ र केही त्रिपाल टाँगेर बसेका छन्।

इकान्तिपुरमा प्रकाशित 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “लमजुङ्ग भुकम्पमा ६ जना घाइते, २ सयभन्दा बढी घरमा क्षति

Leave a Reply

Your email address will not be published. Required fields are marked *