कोरोनादेश विदेश

नेपालमा पनि बढ्दै गएको ‘कालो ढुसी’ सङ्क्रमणबारे जान्नै पर्ने कुरा

शेयर गर्नुहोस्

काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएका केही बिरामीमा कालो ढुसी (म्यूकरमाइकोसिस) को पनि सङ्क्रमण पुष्टि भएको छ ।

कोभिड-१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात्‌ एक प्रकारको कालो ढुसीको सङ्क्रमण नेपालमा अहिलेसम्म झन्डै एक दर्जन मानिसमा पुष्टि भएको विवरण आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएका छन्।

दश दिनअघि मन्त्रालयले तीन-चार जनामा उक्त घातक कालो ढुसीको सङ्क्रमण देखिएको बताएको थियो। “विभिन्न ठाउँबाट गरी अहिलेसम्म हामीकहाँ म्यूकोर्माइकोसिसका करिब १२ वटा रिपोर्टिङ भएका छन्,” नवनियुक्त प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सोमवार भने। उनका अनुसार वीरगन्ज, नेपालगन्ज र काठमाण्डूलगायत ठाउँका अस्पतालबाट कालो ढुसीको सङ्क्रमणका विवरणहरू आएका हुन्।

भारतमा ‘ब्ल्याक फङ्गस’ अर्थात्‌ कालो ढुसीबाट हजारौँ मानिस सङ्क्रमित भएको विवरण सार्वजनिक भएका छन्। केही दिनअघि उत्तर प्रदेशका एउटै बिरामीमा ब्ल्याक फङ्गस, ह्वाइट फङ्गस र येलो फङ्गसको विरल सङ्क्रमण देखिएको बीबीसी हिन्दीले जनाएको थियो।

कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको सङ्क्रमण नेपालमा केही व्यक्तिमा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकामा यो रोग बिरलै देखिए पनि सङ्क्रमण पुष्टि भएकामा गम्भीर र प्राणघातक पनि हुन सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

‘कालो ढुसी’ बारे जान्नै पर्ने कुरा

  •  अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने गर्छ ।
  •  आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने, नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने, आँखाको ढकनी सुन्निने र आँखा धमिलो देखिने, दाँत दुख्ने लगायतका लक्षण देखिन्छ ।
  • ४५ देखि ६५ वर्ष उमेर समूहका मानिस यो रोगको उच्च जोखिममा रहन्छन् ।
  • मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू र धेरै खालका एन्टिबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गरेकाहरू पनि यो रोगको जोखिममा हुन्छन् ।

कसरी ध्यान दिने ?

यो रोगबाट बच्नका लागि घरमा आइसोलेशनमा बस्दा विभिन्न खालका उपाय अपनाउनुपर्ने डाक्टरहरूले बताएका छन् ।

 

  •   सफा र सुख्खा मास्क प्रयोग गर्ने
  •  डिस्पोजल मास्कको फेरि प्रयोग नगर्ने
  • नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
  •  व्यक्तिगत स्वच्छतामा ध्यान दिने
  • घरबाहिर वा फोहोरमा काम गर्नुपरेमा डिस्पोजल पन्जाको प्रयोग गर्ने
  •  धेरै धुलो वा ओसिलो ठाउँमा नजाने
  • नुनिलो पानीले नाक सफा गर्ने
  •  जथाभाबी एन्टिबायोटिकको प्रयोग नगर्न र स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधिको सेवन गर्ने

 

के गर्दैछ नेपाल सरकार ?

प्रवक्ता पौडेलका अनुसार नेपालमा सुरुमा सीमावर्ती सहर वीरगन्जबाट कालो ढुसीको सङ्क्रमणबारे मन्त्रालयलाई रिपोर्ट गरिएको थियो। त्यसयता निगरानी थालेको मन्त्रालयले उक्त ढुसीको सङ्क्रमण रोकथाम तथा उपचारबारे ‘प्रोटोकल’ बनाएर सार्वजनिक गर्ने क्रममा रहेको उनले बताए।

नाक, कान, घाँटीसम्बन्धी नेपालका विशेषज्ञ चिकित्सकहरूको सङ्गठनले भने रोकथाम र व्यवस्थापनसम्बन्धी एउटा एड्भाइजरी प्रकाशित गरिसकेको छ। “विशेषज्ञ चिकित्सकहरूको एउटा कोर टीम बनाएर हामीले प्रीभेन्शन (रोकथाम) र ट्रीट्मन्ट (उपचार) बारे प्रोटोकल नै बनाएका छौँ र त्यसलाई सर्भेलन्समा राख्ने भनेका छौँ,” डा. पौडेलले थपे।

चिकित्सकहरूका अनुसार कालो ढुसीबाट सङ्क्रमितको उपचारमा मुख्यतया ‘एम्फोटेरिसिन बी’ औषधिको प्रयोग गर्ने गरिएको छ। नेपालमा त्यो औषधिको प्रयोग कालाजारको उपचारमा हुँदै आएको छ।

अहिलेसम्म बजारमा उपलब्धबाट काम चलाइँदै आएको भए पनि पछिल्लो समय भारतले निर्यातमा रोक लगाइदिएपछि समस्या देखिएको प्रवक्ता पौडेलले उल्लेख गरे। “त्यो औषधिको उपलब्धता अहिले पनि चुनौतीपूर्ण नै छ। हामीसँग अलि कम नै छ।

हामीले डब्ल्यूएचओको संयन्त्रबाट माग गरेका छौँ। जुन महिनाको २ तारिखसम्म आइपुग्ने कुरा छ।” “हाललाई पहिलो खेपमा हामीले ३,००० भाएल माग गरेका छौँ,” प्रवक्ता पौडेलले भने।

कस्तो बेला बढी जोखिम हुन्छ ?

कालो ढुसी पनि भनिने म्यूकोर हाम्रो वातावरणमा प्राकृतिक रूपमै पाइने एक प्रकारको ‘अवसरवादी’ ढुसी हो जसको सङ्क्रमणबाट म्यूकोर्माइकोसिस हुन्छ।काठमाण्डूको तिलगङ्गा इन्स्टिच्यूट अफ अफ्थ्याल्मलजीका प्रमुख कार्यकारी अधिकृत तथा कोर्निआ विशेषज्ञ डा. रीता गुरुङका अनुसार मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बेला म्यूकोर्माइकोसिस हुने गर्छ।

अहिले चर्चामा रहेका ब्ल्याक फङ्गस, ह्वाइट फङ्गस र एलो फङ्गस एउटै प्रजातिको भएको उनी बताउँछिन्। “त्यस्ता ढुसी त हाम्रो वातावरणमा जहाँतहीँ हुन्छन्। तर जोकोहीलाई तिनले आक्रमण गरेका हुँदैनन्, उसैलाई गर्छन् जसमा रोगसँग लड्ने क्षमता कमजोर हुन्छ,” उनले बीबीसीसँग भनिन्।

“कोभिड महामारीका बेला यो समस्या किन देखिँदैछ भन्दाखेरि एक त कोभिडले हाम्रो इम्यूनिटी (प्रतिरोध क्षमता) घटाइरहेको छ, त्यसमाथि सिकिस्त बिरामीलाई स्टेरोइड चलाइँदा रोगसँग लड्ने क्षमता अझै घट्न जान्छ।” टिना विशेषज्ञ डा. नीतिन तुल्स्यानका अनुसार मधुमेह रोगी, जलेका बिरामी र क्यान्सरका बिरामीमा म्यूकोर्माइकोसिसको समस्या बढी देखिने गर्छ।

म्यूकोर्माइकोसिसबाट कसरी बच्ने ?

आफ्नो शरीरमा रोगप्रतिरोधी क्षमतालाई घट्न नदिने कुरामा विशेष चनाखो हुनुपर्ने डा. गुरुङको सुझाव छ। “अर्को कुरा कोरोनाभाइरस सङ्क्रमित भएपछि मान्छेबाट सुनेकै भरमा स्टेरोइडको प्रयोग गर्नै भएन। हामीकहाँ त्यसको गलत प्रयोग भएजस्तो मलाई लाग्छ,”उनले थपिन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेल शरीरमा रोगप्रतिरोधी क्षमतालाई कमजोर बनाउने औषधिको विवेकपूर्ण प्रयोग गर्नका लागि आफूहरूले अनुरोध गर्दै आएको बताउँछन्। “के गर्दा सङ्क्रमणबाट बचाउन सकिन्छ भन्ने हिसाबले हामी लागिपरेका छौँ। विशेषगरी चिकित्सको परामर्शबिना स्टेरोइडको प्रयोग गर्नु नै भएन,”उनले भने।

नाक रातो हुने, नाकमाथिको छाला कालो देखिने र आँखा खोल्न गाह्रो हुने समस्या देखिने भएपछि चिकित्सककहाँ जान डा. गुरुङ सुझाउँछिन्। मान्छेको मस्तिष्कमा सङ्क्रमण पुगेमा टाउको दुख्ने, वान्ता हुने, शरीरमा कमजोरी हुने जस्ता लक्षण देखिने रेटिना विशेषज्ञ डा. तुल्स्यान बताउँछन्।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *