मधेस डुब्ने खतरा

शेयर गर्नुहोस्

सरकारले २०७१ सालमै चुरे संरक्षण क्षेत्र कायम गरेर सो क्षेत्रबाट ढुंगा, बालुवा, गिटी निकाल्न कानुनी रूपमा रोक लगाएको थियो। शनिबार सरकारले बजेट भाषणमार्फत व्यापार घाटा कम गर्न निकासी खुलाउने भनेको छ। यसले सबैभन्दा बढी मारमा मधेस क्षेत्र पर्ने देखिन्छ।

पूर्वको इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३६ जिल्लामा फैलिएको चुरे १ सय ६४ वटा खोलाको मुहान हो। अन्य खोलानदीको तुलनामा चुरेबाट बग्ने खोला बढी विनाशकारी हुने विज्ञहरूको भनाइ छ। चुरेले नेपालको कुल क्षेत्रफलको १२.७८ प्रतिशत भूभाग ओगटेको छ। ‘निकासी खुला नगरिँदै त चुरे क्षेत्रमा दोहनको अवस्था उदेकलाग्दो छ,’ धनुषाका चुरे अभियन्ता कृष्णकुमार राउत भन्छन्, ‘निकासी खुला गरिदियो भने त बेलगाम विनाशलीला हुन्छ। अहिलेको चुरे दोहनले खोलाहरूको धार परिवर्तन हुँदा खेत कटान, बाढीपहिरोको जोखिम बढ्दो छ। झन् निकासी खुल्दा कहालीलाग्दो अवस्था आउने निश्चित छ।’

चुरे पहाडबाट बगेर आउने भललाई डेढ दशकअघिसम्म मधेसमा उब्जनी बढाउने पानी मानिन्थ्यो। चुरेबाट बगेर आउने पाँगो माटोले तराईलाई उर्वर बनाउँथ्यो। अहिले भलपानीले पाँगो माटो होइन, बालुवा र गेग्र्यान बोक्छ, जसले तराईमधेसमा हराभरा बनाउन होइन, उजाड बनाउन मद्दत गरिरहेको छ। त्यसले मरुभूमीकरण र डुबानको समस्या दिनदिनै थपिरहेको छ। बाढीले खेतमा बालुवा बिसाउँदै अघि बढ्दा लहलाउँदो अन्नबाली सखाप भएर मधेस बर्सेनि खडरीको मार झेल्न बाध्य हुँदै आएको छ।

डुब्दै मधेस

पूर्व–पश्चिम राजमार्गको महुली खोलाको पुल हेर्दाहेर्दै होचो र खोला अग्लो भएको छ। पुल बन्दा यो खोला यति चौडा थिएन। साँघुरो खहरेजस्तो थियो। खेत र बस्ती खोलाभन्दा धेरै माथि थिए। स्थानीय गयाधर सदा भन्छन्, ‘पुल र बस्तीको उचाइ लगभग बराबरजस्तै थियो। अहिले सतहमा थपिँदो बालुवाका कारण खोला र बस्तीको उचाइ बराबर भएको छ।’ महुली पुलको पश्चिम घर भएका शिवलाल सदाय पनि १५ वर्षअघिसम्म खोलाको सतह यति अग्लो नभएको बताउँछन्।

‘अहिले बस्ती र खोला बराबर भइसक्यो,’ खोलामा बालुवा थुप्रिँदै जानुको कारणबारे उनी भन्छन्, ‘चुरियामाई (चुरे) मा लकडीपाती (रूख) र पाखन (ढुंगा) बेहिसाब निकाल्ने गरिएको परिणाम हो यो।’ चुरेबाट रूखबिरुवा, ढुंगा, ग्राभेल निकालिरहेपछि सतह खुकुलो भएर वर्षाको पानीसँगै बालुवा मधेसका खोलामा थुप्रिएर सतह उठ्दै गएको उनको भनाइ छ।

खाँडो खोलाको कथा पनि उस्तै छ। खाँडो खोला डेढ दशकअघिसम्म बस्तीभन्दा निकै गहिरो थियो। अहिले खोलाको सतह बस्तीभन्दा माथि उठेको छ। खोलाको उचाइ यसैगरी बढ्दै जाने हो भने वरपरका बस्तीलाई बाढीले निल्न अब धेरै समय लाग्दैन छैन। मधेसको डुबान, मरुभूमीकरणजस्ता समस्या समाधानका लागि भने खोलामा होइन मूल (चुरे) मै उपचार खोज्नुपर्ने विज्ञहरू बताउँछन्। ‘चुरेमा बसोबास, रुखबिरुवा फँडानी, उत्खननलगायत काम जसलाई हामी दोहन भन्छौं,’ राष्ट्रपति चुरे–तराई मधेस कार्यक्रमका पूर्वसदस्य डा. नागेन्द्रप्रसाद यादव भन्छन्, ‘त्यो नरोकेसम्म तल (खोलामा) जति उपचार प्रबन्ध गरे पनि टिकाउ हुँदैन।’ अनियन्त्रित दोहनले उजाड बन्दै गएको चुरेलाई हरियाली बनाउनुपर्ने उनको सुझाव छ। चुरेक्षेत्रमा दोहन, उत्खन्नलाई रोक लगाउनुपर्ने उनको भनाइ छ।

चुरेको बनोट अन्यभन्दा फरक रहेको विज्ञहरू बताउँछन। हिमालय उत्पत्तिका क्रममा करिब ४ करोड वर्ष पहिला गेग्रान, फुस्रो माटो, पत्रे चट्टान आदिबाट बनेको कान्छो पहाड हो, चुरे। चुरे जति कमजोर छ, त्यहाँबाट निस्केका खोलाहरू त्यति नै चञ्चल छन्। यसमा निरन्तर भइरहेको दोहनका कारण खोलाहरूले धार परिवर्तन गर्दा बाढीपहिरोको जोखिम झन् बढाउँछ। नदी तथा जलाधार विज्ञ डा. यादवका अनुसार चुरे विनास र यस भेगका खोलामा हुने अनियन्त्रित दोहनले तराई–मधेसका अधिकांश क्षेत्र सामान्य झरीमा पनि डुबानमा पर्ने गरेका छन्। डाँडै नांगो हुनेगरी चुरे मास्न थालेपछि मधेसमा मरुभूमीकरण र बाढीको क्षति सदाबहार बनेको हो।

विनाशले निलेको दिघवा ‘गाउँ’

मधेसले मरुभूमिको मार खेप्न थालेको भर्खरै होइन। बहुदल आएपछि चुरेको विनाशलीला सुरु भएको जानकारहरू बताउँछन्। त्यसयता चुरेमाथिको दोहन सुस्ताउँदै सल्बलाउँदै जारी छ। जसको प्रत्यक्ष मार मधेसका किसानहरू बेहोर्दै आएको छ। विनाशलीलाले चुरेलाई मात्र नांगिएको छैन, मधेसका जमिनदारहरूलाई पनि रित्तो बनाइदिएको छ। गाउँको अस्तित्व नै मेटिदिएको छ।

मरुभूमि बनेको सप्तरीको दक्षिणवर्ती गाउँ ‘दिघवा’ को अस्तित्व नाम मात्रैमा सीमित छ। गाउँ पूर्वतर्फ सर्दै अहिले अर्को गाउँ ‘चनही’ को सिमानामा पुगेको छ। यसको कारण हो, चुरे मूल भएको बलान नदीले फेर्दै आएको धार। एकताका गिरहत (जमिनदार) को गाउँ भनेर कहलिन्थ्यो यो गाउँ। हजारभन्दा बढी घरपरिवार अटाएको यो गाउँमा किसानको घना बस्ती थियो। अन्न उत्पादनका हिसाबले यस क्षेत्रमै उम्दा रहेको यो गाउँ अहिले भने खाद्य संकटको मारमा छ। विगतमा धान र गहुँको बाला झुम्मिने खेतका गरा फराकिलो मरुभूमिमा बनेका छन्।

गाउँको अस्तित्व बलान नदीको पर्वी किनारको बाँधले अड्याएको छ। स्थानीय राजलाल यादव बाँधतर्फ औंल्याउँदै भन्छन्, ‘यहाँ हाम्रो गहिरो र फराकिलो पोखरी थियो। यो बाँधजत्तिकै उचाइमा अहिले बालुवाले पुरेर मरुभूमि बनेको ठाउँमा दिघवा गाउँ थियो। यो नदीले हामीलाई रित्तो बनाइदियो।’ गाउँको पश्चिम–उत्तरबाट आएको पानी बगेर दक्षिणतर्फ जान्थ्यो।

छिपछिपे बग्ने खहरेमा सहजै आउजाउ गर्थे यहाँका मानिस। तर, दुई दशकअघि बलान अचानक गाउँतर्फ सोझिएर बस्ती डुबायो। त्यसपछि गाउँ त्यहाँबाट पूर्वतर्फ विस्थापित भयो। तर नदीले गाउँतर्फ कटान गर्न रोकेन। गाउँलेसँग अन्यत्र जाने विकल्प थिएन। कारण भएजत्ति जमिन यहीं थियो। डुबान र कटानबाट जोगिन बस्ती फेरि पूर्व चनहीतिर सर्‍यो।

बाढीको वितण्डाका कारण एक दशकअघि त्यहाँबाट पनि यो गाउँ चनही गाउँको सीमामा सरेको छ। ‘गाउँलाई झन्डै सात फिट गहिराइबाटै नदीले काटेर बढारिदियो,’ स्थानीय इन्द्रदेव यादव भन्छन्, ‘गाउँको नामबाहेक सबैथोक मेटिए।’ बस्ती बचाउन बाँधिएको बाँधमाथिबाट मरुभूमितर्फ औंल्याउँदै उनी भन्छन्, ‘यो ठाउँसँग बाल्यकालको गहिरो सम्झना जोडिएको छ।

आमाबुवा मिलेर खेती गर्नुहुन्थ्यो, मनग्य उब्जनी हुन्थ्यो। कृषि कर्मबाटै हामीलाई आमाबुवाले उच्च शिक्षा पढाउनुभयो। हेर्दाहेर्दै खेतसँग परिवारको हरियाली पनि ओइलियो।’ गाउँको छेवैमा बग्ने बलान खोलाको पानीले दिघवा मात्र नभई चनही, मलहनियाका करिब ५ सय बिघा खेतमा सिँचाइ पुग्थ्यो। तर नदीले धार परिवर्तन गरेसँगै सबै बगर बन्यो।

‘जुन दिन खेतमा नदी पस्यो त्यसै दिनदेखि हाम्रो सर्वस्व भयो,’ राजलाल भन्छन्, ‘हामी किनारकिनार सर्दै बस्दैछौं।’ नदीले अन्तिम किनारा पनि च्याप्दै लगेको छ। गाउँ कच्ची बाँधको टेकोमा अडिएको छ। दुई दशकअघिसम्म बलान नदी एकतर्फबाट मात्र बग्थ्यो। ‘त्यतिबेला बढीमा २० फिट थियो,’ उनी भन्छन्, ‘अहिले त गाउँ नै निल्योे, कति चौडा भयो अन्दाज गर्नुस्।’ बलान नदीमा चुरे मूल भएको अर्को झिझिर खोला मिसिएर थुप्रै धार बनाएको छ। १० वर्षमा बलान नदीको पुरानो बहावको बीचमा पूर्वपट्टि अर्को धार बनाइदियो।

यो गाउँको अर्को रोचक पक्ष छ। गाउँका कसैको पनि जग्गाजमिन अर्को गाउँमा थिएन। अर्को कुनै गाउँलेको जग्गाजमिन पनि यो गाउँमा थिएन। स्थानीय कुन्ता यादव भन्छन्, ‘यहाँ सबैजना आफैं सम्पन्न भएकाले कसैले जमिन बेचेनन्। अर्को गाउँका कोही आउन पाएनन्। तर अहिले सबै किसान एकसाथ बिल्लीबाठमा परेका छौं।’ चुरे मूल भएको बलान नदी त्यतिकै विनाशकारी बनेको होइन। चुरेको अनियन्त्रित दोहनका कारण नदीले धार परिवर्तन गरेको दिघवाका वृद्धवृद्धा बताउँछन्।

धरापमा बाहुना गाउँ

सिरहा, सप्तरी र उदयपुरको संगमस्थल हो सप्तरीको बाहुना गाउँ। केही महिनाअघि गाउँको परिचय फेरिएको छ। यो गाउँ सुरुंगा नगरपालिका–२ अन्तर्गत परेको छ। ३ सय ५० घरधुरी रहेको यो गाउँ पछिल्लो समय बाढी र डुबानका कारण अस्तित्व जोगाउन संघर्ष गर्दैछ। चुरेको फेदमै अवस्थित बाहुना गाउँको पश्चिमबाट चुरे मूल भएर खहरे (बलान खोला) बग्थ्यो। यो खहरे खोला बाँधेर कमलपुर, बाहुनालगायतका किसान खेतमा सिँचाइ गरी प्रशस्त धान फलाउँथे।

२०६४ सालमा सप्तरीको मधुपट्टी गाविस (तत्कालीन) कदमहामा बिएस एन्ड सिएनसी जेभी नामक क्रसर कम्पनी स्थापना भयो। कम्पनीले भारतको राष्ट्रिय राजमार्ग निर्माणका लागि निर्माण सामग्री (तयारी गिट्टी, बालुवा, ग्राभेल) आपूर्तिको जिम्मेवारी पाएको थियो। त्यसपछि चुरे उत्खनन सुरु भयो।

सप्तरीका धेरै स्थानमा भएका उत्खननमध्ये बाहुना क्षेत्र (चुरे संरक्षित क्षेत्र) पनि एक हो। यहाँका केही टाठाबाठालाई मुठीमा लिएर सो कम्पनीले खहरेमा दर्जनौं मेसिन (जेसिबी) जडान गरी ढुंगा उत्खनन गर्‍यो। स्थानीय यमबहादुर खपांगी भन्छन्, ‘खहरेमा उत्खनन गर्दा यस्तो खतरनाक परिणाम निस्कन्छ भन्ने बुझेको भए अनुमति नै दिँदैनथ्यौं।’ २०६६ सालसम्म त्यो क्रसर कम्पनीले यस क्षेत्रको ढुंगा खोसे्रपछि बलान नदी बस्तीतर्फ सोझियो। त्यसपछि स्थानीयले बलान नदी नियन्त्रणका लागि समिति गठन गरेको समितिका अध्यक्ष कृष्णबहादुर थापाले बताए।

डाउनस्ट्रिममा नदी सतह बस्तीभन्दा उँचो हुनुको प्रमुख कारण चुरेबाट बगेर आएको ग्रेगान नै भएको विज्ञहरू बताउँछन्। अपस्ट्रिमबाट बगाउँदै ल्याएको गेग्रान डाउनस्ट्रिममा थुप्रिएर बस्ती, खेत, बाँध धरापमा परेको छ। चुरेबाट निस्केका खहरेको संख्या बढ्दैछ। जसले मानवीय, भौतिक र खाद्यान्न संकट थप्दैछ। चुरे विनाश रोकेर संरक्षणलाई तीव्र नबनाएसम्म खतराबाट पार पाउन कठिन हुने जलाधार विज्ञ बताउँछन्।

चुरेलाई संरक्षणमुखी नजरले मात्र हेर्नुपर्नेमा दोहन, उत्खननमुखी नजर हाबी हुँदा मधेसको अन्नभण्डारको अस्तित्व संकटमा परेको सर्लाहीका बुद्धिजीवी रजनीकान्त झा बताउँछन्। सरकारले ढुंगा, गिट्टी, बालुवाको निकासीलाई तत्काल रोक्नुपर्ने प्रदेश २ का प्रदेशसभा सदस्य रामआशिष यादवको भनाइ छ।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *