देश विदेश

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पुरा हुन अझै ६/७ महिना लाग्ने (with Video)

शेयर गर्नुहोस्

कोरोना भाइरस संक्रमणका कारण निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयमा पुरा नहुने निश्चित भएको छ । यो विमानस्थल निर्माण सक्नका लागि २०२१ जुलाई १० अन्तिम समय तोकिएको थियो । अबको एकमहिना मात्र बाँकी रहँदा काम सकिने अवस्था नरहेको विमानस्थल आयोजनाले बताएको छ ।

आयोजनाका प्रमुख विनेश मुनकर्मीले विमानस्थल निर्माणका लागि तोकिएको समय अबको एकमहिना मात्र बाँकी रहेकोले यो समय अपुग हुने बताए । त्यसैले म्याद थप्नैपर्ने अवस्था आएको उनले बताए ।

‘तोकिएको समय अबको एकमहिना मात्र बाँकी हो । यो अवधिमा काम नसकिने पक्का छ । तर, ठेकेदार कम्पनिले २०२१ को डिसेम्बरसम्म काम सक्ने भनेको छ,’ मुनकर्मीले भने, ‘कोरोनाका कारण काममा ढिलाई भएकै हो । कम्तिमा ६ महिना पछाडि धकेलिने निश्चित छ ।’

ठेकेदार कम्पनिले एकवर्ष म्याद थपका लागि आग्रह गरेपनि डिसेम्बरसम्म सक्ने वाचा गरेको आयोजनाका पदाधिकारीको भनाई छ । ‘तोकिएको समयमा त सकिँदै सकिँँदैन, । केही समय त थप्नैपर्छ ।

तर, ठेकेदार कम्पनिले आगामि डिसेम्बरसम्म काम सक्ने वाचा गरेको छ,’ मुनकर्मीले भने, ‘डिसेम्बरसम्म भन्नु नै कम्तिमा ६ महिना थपिनु हो ।’ अहिलेको भन्दा अझै खराब अवस्था नआएमा २०२२ मा पोखराको यो विमानस्थलबाट व्यवसायिक उडान सुरु हुने पक्का भएको उनले बताए ।

‘विमानस्थल निर्माण सकिएपनि संचालनमा आउँदा केही महिना लाग्छ । त्यसैले २०२२ मा हामीले व्यवसायिक उडान थाल्ने लक्ष्य राखेका छौ,’ मुनकर्मीले भने । मुनकर्मीका अनुसार विमानस्थलको भौतिक निर्माणको काम करिब सकिएको छ ।

उपकरण जडानका काम भईरहेको छ । तर, सबै उपकरण पनि आइनसक्दा केही समय लाग्ने निश्चित भएको उनले बताए । उनका अनुसार विमानस्थलका लागि चाहिने उपकरणहरु अमेरिका, अष्ट्रेलिया, चीन लगायतका मुलुकबाट आउनुपर्छ ।

केही दक्ष प्राविधिक पनि विदेशी नै हुने र उनीहरु तत्काल आउन सम्भव नभएकोले पनि तोकिएको समयमा काम सक्न कठिन भएको उनले बताए ।

आयोजनाका इन्जिनियर कृष्णप्रसाद पौडेलका अनुसार अहिलेसम्म ७८ प्रतिशत काम सकिएको छ । १५ प्रतिशत काम उपकरणको जडानमा पर्छ । बाँकी काम पनि सकिन धेरै समय नलाग्ने पौडेलले बताए ।

‘लामो समयको लकडाउनले गर्दा बेलैका काम नसकिएको हो । हुन त यो विमानस्थल ६ महिना भन्दा अगाडि नै सक्ने लक्ष्य थियो । तर, कोरोनाले नेपालमा मात्र नभई सबैतिर अवरोध उत्पन्न भयो,’ उनले भने, ‘उपकरण र प्राविधिक आउन रोकियो । ती सामान बेलैमा ल्याउन पाएको भए संचालन केही अगाडि पनि हुनसक्थ्यो ।

’ सौन्दर्यकरण, ढल, नालाका सामान्य काम मात्र भौतिकपूर्वाधारतर्फ बाँकी रहेको उनले बताए ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले २०७३ बैशाख १ गते यो आयोजनाको शिलान्यास गरेका थिए । शिलान्यासको डेढ वर्षपछि बल्ल विमानस्थलको पुर्वाधार बनाउन थालिएको थियो । अहिलेसम्म २५ सय मिटर लम्बाई, ४५ मिटर चौडाई र ३४ सेन्टिमिटर बाक्लो धावनमार्ग तयार भएको छ ।

त्यस्तै प्रतिघण्टा ६ सय यात्रु आउजाउ गर्न सक्ने क्षमताको टर्मिनल भवन बनिसकेको छ । जहाजको पार्किङस्थल (एप्रोन) पनि तयार भइसकेको छ । पार्किङस्थलमा ३ ठुला र ८ आन्तरिक उडानका गरि ११ जहाज पार्किङ गर्न सकिने ठाउँ छ ।

वान–वे एप्रोचको यो विमानस्थलमा पुर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन् । पूर्वतिरै फर्केर टेकअफ गर्नेगरि विमानस्थल बन्दैछ । विमानस्थल बनाउन चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो ।

विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लागत अनुमान छ । यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति छ ।

प्राधिकरण र सिएएमसीइ बीचको सम्झौतामा इपिसि (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन) को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ । चारदशकअघि पोखरा–१४, १५ र १८ वडा को ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो ।

त्यसले नपुगेपछि थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसले पनि नपुगेपछि विमानस्थल वरिपरि १० किलोमिटर सडक बनाउन थप ६० रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थल बनाउन थालिएको थियो ।

ओ¥याटले पनि काम थाल्यो

आयोजना प्रमख मुनकर्मीका अनुसार नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले ‘अपरेशनल रेडिनेस एण्ड एयरपोर्ट ट्रान्सफर’ (ओ¥याट) पनि बनाईसकेको छ । पोखरामा हाल संचालनमा रहेको विमानस्थलका प्रमुख बिक्रम गौतमको नेतृत्वमा ओ¥याट टिम बनेको हो । यो टिममा विमानस्थल संचालनमा आवश्यक पर्ने सबैखाले दक्ष प्राविधिक सहित प्रशासनिक व्यक्तिहरु छन । समुहमा नौजना छन् ।

गौतमका अनुसार नेपालमा आफ्नै ओ¥याट टिमले काम गरेको यो दोश्रो विमानस्थल हो । यसअघि भैरहवाको विमानस्थलको पनि आफ्नै ओ¥याट टिमले काम गरेको थियो । स्वदेशी ओ¥याट टिमले नेपालमा दोश्रो पटक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि यो काम गर्न थालेको छ । निकै नै दख्खल प्राविधिक सहितको टिम सहभागि रहने ओ¥याटका लागि विदेशी भिœयाउँदा ठुलो आर्थिक भार बेहोर्नुपर्ने अवस्था रहन्छ । तर, अहिले स्वदेशी टिमले नै काम गर्न थालेको उनले बताए ।

उनका अनुसार विमानस्थल निर्माण गर्दाका सबैै पूर्वाधार तोकिएको मापदण्ड अनुसार छन् वा छैनन भन्ने निश्चित गर्नुपर्छ । विमानस्थलका लागि कुनै आवश्यक सुझाव भएमा पनि दिन सकिन्छ ।

‘यो निकै नै उच्च प्रविधियुक्त काम हो । यो काम गर्न विदेशी प्राविधिक भिœयाउने हो भने निकै नै महंगो पर्दथ्यो । तर, आफ्नै टिमले गर्दा सहज भयो,’ उनले भने, ‘विमानस्थललाई पहिलो दिन अपरेसनमा ल्याउँदा कुनै वाधा अवरोध र अन्योल हुनु हुँदैन भनेर यो टिमले काम गर्छ । यसमा निकै नै अनुभवी प्राविधिक हुन्छन, जसले कुनै समस्या नआओस भनेर काम हेर्छाै ।’

पोखराका लागि काम गरिरहेका योटिमले बजारीकरणदेखि हवाई रुटसम्मका लागि काम गर्ने गौतमले बताए ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *