देश विदेश

श्रम विभागमा सेवाग्राही को गुनासो : ‘मेरो फ्लाइट छुट्यो भने सरकारले पैसा तिर्छ?’

शेयर गर्नुहोस्

बुधबार दिउँसो १२ बजे वैदेशिक रोजगार कार्यालय ताहाचल पुग्दा कुमार थापा मगर लाइनमा थिए।

कतारका लागि पुनः श्रम स्वीकृति र बायोमेट्रिक गराउन आएका उनी लाम लागेको पाँच घन्टा भइसकेको थियो।

दिउँसो एक बजिसक्दा कुमार जहाँको तहीँ थिए। लाइन अलिकति पनि घटेको थिएन। बरू भिड थपिँदै थियो। कोरोना संक्रमणको जोखिमबेला लाइनमा भौतिक दुरी कायम गरिएको थिएन।

‘हामीलाई टोकन नम्बर दिइएको छ। तर, नम्बरअनुसार सेवा दिइएको छैन। सिस्टमअनुसार काम हुने हो भने यस्तो भिडभाड हुने नै थिएन,’ कुमारले भने, ‘यहाँ न सिस्टम छ न भौतिक दुरी। यस्तै गर्ने भए टोकन नम्बरको भ्यालु के?’

उनलाई टोकन नम्बर नलिँदा गेटबाट भित्र छिर्नै दिइएको थिएन। उनले फर्किएर टोकन ल्याएका थिए। तर भनेअनुसार सेवा प्रवाह नभएकाले अनावश्यक दुःख पाएको उनले बताए।

वैदेशिक रोजगार कार्यालयले गत वैशाख २१ देखि भौतिक रूपमा हुने सम्पूर्ण सेवा स्थगित गरेको थियो। कार्यालयले यसबीच बायोमेट्रिक गरिसकेकाको हकमा अनलाइनमार्फत् पुनः श्रम स्वीकृति दिँदै आएको छ।

बायोमेट्रिक नभएकाहरूको अनलाइनबाट श्रम स्वीकृति दिन समस्या आएको भन्दै कार्यालयले साताको एकदिन बुधबार भौतिक उपस्थितिमै सेवा दिन थालेको छ। कार्यालयले नयाँ श्रम स्वीकृतिको काम भने सुरू गरेको छैन।

यसरी साताको एक दिन मात्र कार्यालय खुल्दा सेवाग्राहीको चाप बढेको छ। बुधबार एक बजेसम्म कार्यालय परिसरमा दुई सयभन्दा बढी सेवाग्राही जम्मा भएका थिए। कार्यालय बाहिर फारम भर्नेको अव्यवस्थित घुइँचो थियो।

कोरोना संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा जारी गर्दै आएको सरकारले त्यही निषेधाज्ञाबीच यस्तो भीडभाड गराएर सेवा दिनुले संक्रमण जोखिम बढाएको छ। साताको एक दिन मात्र सेवा दिने नियमले त कतिपय सेवाग्राही मर्कामा पर्ने देखिन्छ। तोकिएको दिन काम सकिएन भने अर्को साता मात्र पालो आउँछ। त्यति बेलासम्म उडान छुटिसकेको हुनसक्छ।

‘मेरो १७ तारिखको फ्लाइट छ। आज काम भएन भने अब अर्को बुधबार मात्र कार्यालय खुल्छ। बुधबार १६ तारिख हो। त्यो दिन कुनै कारणले मेरो काम अड्कियो भने के गर्ने?’ कुमारले भने, ‘मेरो फ्लाइट छुट्यो भने सरकारले पैसा तिर्छ?’

 

महामारीमा पनि भौतिक सेवा दिन थालेको कार्यालयले सुरक्षा मापदण्ड नअपनाउँदा सेवाग्राहीहरू संक्रमणको जोखिममा परेको उनले गुनासाे गरे।

‘यसरी खचाखच भएर बस्दा संक्रमण हुन सक्छ भन्ने त उहाँहरूलाई पनि थाहा होला। तर भौतिक दुरी कायम गराइएको छैन। हामी घन्टौंसम्म खचाखच भिडमा उभिनुपरेको छ। पिसिआर गर्दा कोभिड पोजिटिभ देखिएको भने विदेश जान पाइँदैन। लागेको खर्च बेहोरेर त्यहाँको जस्तै सेवासुविधा र काम सरकारले हामीलाई दिन सक्छ?’ उनले प्रश्न गरे।

दोलखाका सरोज केसी पनि कतारका लागि पुन: श्रम स्वीकृति र बायोमेट्रिक गराउन त्यही लाइनमा थिए।

धेरै लाइन बस्नु नपरोस् भनेर उनी झिसमिसेमै आइपुगेका थिए। उनको टोकन नम्बर ६ थियो। छिट्टै आउला भन्ने उनलाई आश थियो। तर कार्यालयले टोकनअनुसार सेवा दिएन।

श्रमका कर्मचारीले सिस्टममा रहेर सेवा नदिँदा आफूहरूले जहिल्यै समस्या भोग्नुपरेको केसी बताउँछन्।

‘जसको उडान मिति पहिले छ, उसको काम पहिले गर्न सकेको भए हुन्थ्यो। आज यहाँ जम्मा भएकाहरू सबैको काम भएन र कसैको उडान छुट्यो भने समस्यामा पर्ने त हामी नै हौं। कर्मचारीको केही जाँदैन। देशमा यत्रो परिवर्तन भयो भनिन्छ, तर हाम्रो सरकारी कार्यालयको शैली कहिल्यै फेरिएन,’ उनी जंगिए।

उदयपुरका मोहम्मद सम्साद अलीको समस्या त्यस्तै छ। उनले यही जुन १४ तारिखमा साउदी उड्ने टिकट काटेका छन्।

‘आज काम भएन भने म त उड्नै पाउँदिनँ,’ उनले भने, ‘यस्तो भिड छ, भरेसम्म काम हुन्छ कि हुँदैन त्यो पनि टुंगो छैन।’

लामबद्ध अधिकांशले श्रम कार्यालयको सेवा हरेक दिन नियमित हुनुपर्ने माग गरेका छन्। अहिलेजस्तो साताको एकपटक सेवा दिँदा कतिपयको काम नसकेर उडान नै छुट्ने अवस्था आउने उनीहरू बताउँछन्।

कार्यालयमा खटिएका एक प्रहरी अधिकारीले आवश्यक संख्यामा कर्मचारी नआउँदा सेवाप्रवाह ढिला भएको बताए।

‘कार्यालय खुल्ला गर्ने भन्ने तर कर्मचारी घर बस्ने? यो हामीले भन्ने कुरा त होइन तर भिडभाड हुनुको कारण यही हो,’ ती प्रहरीले भने, ‘काम भएकै छैन। मान्छे थपिएका थपियै छन् अनि भिड हुँदैन त।’

यसबारे कार्यालयका शाखा अधिकृत प्रदीप ढकालसँग कुरा गर्दा निषेधाज्ञामा थोरै सेवाग्राही आउने अनुमान गरिएकामा धेरै आउँदा समस्या भएको बताए।

‘हामीले बढीमा ५० जनासम्म आउनुहोला भन्ने अनुमान गरेर त्यसैअनुसार तयारी गरेका थियौं,’ उनले भने, ‘पहिलो दिन नै सेवाग्राहीको चाप धेरै भयो। अब यसलाई सहजीकरण कसरी गर्न सकिन्छ भनेर हामी छलफल गरिरहेका छौं।’

उडानको तालिका हेरेर सातामा दुई दिन सेवा दिने कि भन्नेबारे छलफल भइरहेको उनले जानकारी दिए।

कार्यालयमा उपस्थित भएका सेवाग्राहीहरू सबैलाई सकेसम्म एकै दिनमा सेवा प्रवाह गर्न प्रयास गर्ने उनले बताए। ‘यस्तो दुःख गरेर आउनुभएको छ। सकेसम्म हामी सबैलाई सेवा दिन्छौं,’ उनले भने।

सेतोपाटि मा प्रकाशित 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *