देश विदेश

एक पत्रकार जसले मेलम्चीमा आफ्नै घरखेत डुबेको स्थलगत रिपोर्टिङ गरे

शेयर गर्नुहोस्

१ असार राति सिन्धुपाल्चोकको मेलम्ची बजारमा इन्द्रावती र मेलम्ची नदीको बाढी पस्यो । बजार पसेसँगै नदीले आफ्नो रौद्र रूप देखायो । ७ जनाको मृत्यु नै भयो । ६० भन्दा धेरै घर डुबानमा परे । सयौं रोपनी खेतीयोग्य जमिन बगर बन्यो । राजधानी काठमाडौंबाट धेरै पत्रकारहरू बाढी प्रभावित क्षेत्रको रिपोर्टिङ गर्न मेलम्ची पुगे ।

बाढीले अस्तव्यस्त बनाएको मेलम्ची बजारमा पुगेर रिपोर्टिङ गर्नेमध्येका एक हुन्, जगन्नाथ दुलाल । न्युज २४ टेलिभिजनका पत्रकार क्यामेरा अगाडि उभिएर बोल्न थाले, ‘यो बजार, सडक बालुवा र पानीले भरिएको छ । दर्शकवृन्द यहाँको अवस्था अहिले भयावह छ । सधैँ भिडभाड हुने यो बजार एकाएक बगर भएको छ ।’

यसो भनिरहँदा उनी मेलम्ची बजारको पुछारमा रहेको आफ्नो घर सम्झिरहेका थिए । उनी सुनाउँछन्, ‘म रिपाेर्ट बनाइरहेको थिएँ । मेरो ध्यान भने घर के भयो भन्नेमै थियो ।’

मेलम्ची बजार पुगेलगत्तै उनी आफ्नो घर गएनन् । घरको अवस्था नहेरिकनै रिपोर्टिङमा खटिए । बाढी आएकै राति उनले आफ्नो सात रोपनी खेत डुबाएको थाहा पाइसकेका थिए । घर डुबानमा परेको चाहिँ यकिन भएको थिएन ।

मेलम्चीकै बासीन्दा दुलाल आफ्नै र नातेदारको घरखेत डुबाएको रिपोर्ट बनाउन खटिए । मेलम्चीका अधिकांश बाढी पीडित उनकै आफन्त, परिवारजन र छिमेकी थिए ।

बुम माइक र क्यामरा लिएर उनी जसै बाढी पीडितलाई राखिएको इन्द्रेश्वरी विद्यालयमा पुगे, त्यहाँ उनले आफन्त नै आफन्त देखे । परिवारका सदस्य देखे । छिमेकी भेटे । ‘बाढी पीडित आफन्त वा चिनजानका मात्रै देख्दा आफैलाई सम्हाल्न गाह्रो भयो,’ दुलालले अनुभव साटे ।

विद्यालयको आँगनमा बाढी पीडितहरू भातका लागि थाल थापिरहेका थिए । अधिकांश बाढीपीडितले १ असार साँझको छाक खान पाएका थिएनन् । विद्यालयको कोठामा बाढी पीडित भरिएका थिए ।

मेलम्ची बजारको अवस्थाले भन्दा विद्यालयको आँगन र कोठामा सुस्केरा काढिरहेका आफन्तको विचल्ली देखेपछि दुलाल एकछिन त के गर्ने, कसो गर्ने भनेर रनभुल्लमा परे । टिम शिलापत्रले संवाद गरेकी बाढीपीडित नन्दाकुमारी श्रेष्ठ रुन थालेपछि दुलालले आफ्नो माइक हटाए, क्यामेरा बन्द गरे । रिपोर्टिङ सकिएपछि दुलालले सुनाए, ‘छिमेकी र आफन्तको आँसु खिच्नै सकिन । उनीहरूको आँसु देख्दा मेरो आँखा पनि टिलपिल भए र केहीछिन काम गर्न छोडिदिएँ ।’

बाढीले विद्युत लाइन काटिँदा टेलिफोन सम्पर्कमा समस्या भइरहेको थियो । जसले गर्दा क-कसको घर डुब्यो भनेर यकिन खबर आइरहेको थिएन । सम्पर्कविहीन भएका उनका अधिकांश आफन्त बाढीपीडित राखिएका स्थानमा भेटिए । ती आफन्त उनलाई देखेर झन् भक्कानिए ।

मेलम्ची पुगेर बाढीपीडित आफन्त नभेट्दासम्म उनलाई आफ्नो घर पनि बाढीले डुबाएको थाहा थिएन । रिपोर्टिङका क्रममा दुलाललाई आफन्त र छिमेकीले खबर गरे, ‘बाबु तिम्रो पनि घर डुब्यो नि !’

देश दुनियाँलाई खबर देखाउन हिँडेका उनी आफ्नै घरको खबर भने अरुबाट लिइरहेका थिए । मेलम्ची बजारमा उनी जति जनासँग कुरा गर्थे तिनले पहिला आफ्नो पीडाभन्दा दुलालको पनि घर खेत डुबेको सुनाउँथे । ‘बारम्बार आफन्तहरूले मेरो पनि घर डुबेको सुनाउँदा छटपटी भइसकेको थियो,’ दुलालले सुनाए, ‘डुबेकै भए पनि आफ्नो घर हेर्न आतुर भइसकेको थिएँ ।’ तर, उनको रिपोर्ट अझै पूरा भइसकेको थिएन ।

गाउँमा कोरोना कहर बढ्दै गएपछि दुलालले १५ जेठमा मात्र बुबाआमालाई काठमाडौं आफूसँगै ल्याएका थिए । उनको घरको हेरचाह काकाले गर्थे ।

टिम शिलापत्रले मेलम्ची बजारबाट एक सय मिटरवरै सडक किनारमा ग्याँस सिलिण्डर र ओढ्ने ओच्छ्याउने पोको पारेर भेटेका केदार दुलाल पनि पत्रकार जगन्नाथका काका रहेछन् ।

२०७२ को भूकम्पमा पनि उनले आफ्नो भत्किएको घर र घाइते भएकी आमाको वास्ता नगरीकनै रिपोर्टिङ गरेका थिए । ‘त्यतिखेर म कारोबार दैनिकमा काम गर्थे,’ उनी सम्झिन्छन्, ‘त्यही भूकम्पमा घर भत्केपछि अहिले नयाँ घर बनाएका थियौं ।’ साढे दुई तलाको घरमा केही महिनाअघि मात्रै रङरोगन गरेका थिए, दुलालले ।

विपद्को समयमा पत्रकारिता नै सही सूचनाको माध्यम हो भन्ने बुझेका दुलालले रिपोर्टिङ गरिरहँदा बाढीपीडित आफन्त, परिवार र छिमेकीसँग टेलिभिजनका लागि संवाद गरिरहँदा दुलालले आफूलाई कमजोर हुन दिएनन् ।

‘ग्राउण्ड जिरोको यथार्थ देखाउनुपर्ने म नै कमजोर भए मेरो पेसामाथि नै अन्याय हुन्छ भनेर मैले आफ्ना सबै पीडा लुकाएँ,’ दुलालले भने । रिपोर्टिङ सकेर उनी आफ्नो घर हेर्न गए । घरसम्म पुग्न सकिने अवस्था थिएन । उनले टाढैबाट खेत बगरमा परिणत भएको देखे । घरको माथिल्लो तलाको पिलर पानीमाथि उभिएको देखे ।

‘आफ्नै घर खेतको यो हाल देखेपछि बल्ल मैले महसुस गरेँ, मान्छेहरू किन बरर्र आँशु खसालेर रोएका रहेछन्,’ दुलालले सुनाए । जलसमाधिमा लिन भएजस्तो देखिने आफ्नो घर उनले धेरैबेर हेर्न सकेनन् । ‘घर भनेको ढुंगा, माटो, इटा र सिमेन्टको संरचना मात्र होइन रहेछ,’ दुलाल सुनाउँछन्, ‘त्यहाँ त जीवनका स्मृति मात्र पनि होइन जीवन नै जोडिएका हुँदा रहेछन् ।’

आफ्ना स्मृति, अनुभूति र परिश्रमले खडा गरेको घर इन्द्रावतीमा लिन भएको हेर्न नसकेर उनी फरक्क फर्किए । झरीसँगै मिसिए उनका आँशु । १ असार यता इन्द्रावतीमा उर्लिएको भेलमा दुलालजस्तै धेरैका आँशु पनि मिसिएका छन् । परिश्रम, पसिना, अनुभूति, स्मृति अविरल बगिरहेको इन्द्रावतीसँगै कतै दूर पुगेका छन् ।

आफन्त, परिवारजन र छिमेकीको विचल्ली भएको रिपोर्टिङ सकेर काठमाडौं फर्किँदै गर्दा दुलालले भने, ‘अब त मेलम्चीमा मेरो केही छैन । मेलम्ची जाने मेरो बाटो नै बन्द भयो, घरखेत केही छैन । के भनेर मेलम्ची जाने ?’

काठमाडौं उपत्यका छिर्ने नाका साँगा भञ्ज्याङ पार गरेसँगै उनले फेरि अर्को प्रश्न थपे, ‘अब बुवाआमालाई के भनेर सम्झाउने यार मैले ?’ हामी नाजवाफ भयौ । उनी टोलाइरहे ।

दुलालले मेलम्ची बजार पुगेर आफ्नै गाउँघर, डुबेको टेलिभिजनमा रिपोर्ट बजाए ।

यति मात्र होइन, उनी आफू स्वयं पनि विचल्लीमा परेको समाचार लिएर काठमाडौं आइपुगे । संगीत श्रोताको गीत ‘चरि लैजा समाचार हामी भयौं बेघरबार’को भाकामा ।

शिलापत्रमा प्रकाशित 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “एक पत्रकार जसले मेलम्चीमा आफ्नै घरखेत डुबेको स्थलगत रिपोर्टिङ गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *