देश विदेश

मेलम्ची बाढीका नाममा चन्दा संकलन गरे दुई वर्ष कैद

शेयर गर्नुहोस्

मेलम्ची बाढी पीडितका नाममा चन्दा वा सहयोग संकलन गरे कारवाही गर्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राहत वा चन्दा सहयोग संकलन गरेमा, बजार मूल्य बढाएमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तरहीन बस्तुको कारोबार गरेमा दुई वर्ष कैद तथा एक लाख रुपैयाँ जरिवाना गराउने चेतावनी दिएको हो ।

सहायक सिडिओ बाबुराम खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २४ (१) (ख) बमोजिम ‘अनुमति लिई वा नलिई विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा र ऐ ऐनको दफा १ (ख) मा विपदको समयमा अप्राकृतिक रूपमा बजारमूल्य वृद्धि गरेमा वा कालोबजारी गरेमा वा गुणस्तरहीन वस्तु वा सेवाको कारोबार गरेमा’ त्यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था भएकोले त्यस्तो गलत क्रियाकलाप नगर्न नगराउन, भए गरेको जानकारी वा सूचना प्राप्त भएमा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकी वा (मोबाइल नम्बर ९८४१३९२८८३) मा जानकारी गराइदिन सर्वसाधारण सबैसँग अनुरोध छ।’

 

 

 

 

यो समाचार पनि पढ्नुहोस् : विष खुवाइ श्रीमती र छोराको हत्या

काभ्रेपलाञ्चोकमा आफ्नै श्रीमती र छोरालाई विषादी सेवन गराई हत्या गरेका आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का ३३ वर्षीय माधव घिमिरे रहेको प्रहरीले जनाएको छ । बनेपा नपा–११ बानियाँटोलमा डेरागरी बस्दै आएका धिमिरेलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

उनी बनेपाकै तीनदोबाटोमा फेन्सी पसल व्यवसाय गर्दै आएका थिए । प्रहरीले उनका श्रीमती ३० वर्षीया मनिषा कार्की घिमिरे र छ वर्षीय छोरा युवानलाई गएराति १२ बजे उनी बस्ने डेरामा मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिए ।

उनका अनुसार बिहीबार बेलुका बनेपा नपा–८ करुणामार्गस्थित भित्री गल्लीबाटोमा भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । घिमिरेले श्रीमती र छोरालाई नाम नखुलेको विषादी सेवन गराएर डेरा गरी बस्ने कोठाको बाहिरबाट ताल्चा लगाएर हिँडेको अवस्थामा स्थानीयवासीले सोधखोज गर्दा ‘हिजो हाम्रो झगडा परेको थियो, पसलतिरै होली’ भन्दै भागेकाले प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले खोजतलास गर्नेक्रममा धिमिरेलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । मृतकको कोठामा विभिन्न प्रकारको विषादी र औषधि फेलापरेको जनाएको छ ।

घिमिरेले आफूले पनि विभिन्न प्रकारका औषधि सेवन गरेको भनेपछि उपचारका लागि उनलाई प्रहरीले आफ्नै नियन्त्रणमा बनेपास्थित शिरमेमोरियल अस्पतालमा भर्ना गराएको छ । घिमिरेको स्वास्थ्य अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ । घिमिरेले श्रीमती र छोरालाई विषादी सेवन गराएको र आफूले पनि सिटामोललगायत विभिन्न थरीका सयभन्दा बढी चक्की औषधि सेवन गरेको प्रहरीसमक्ष बताएको छन् । मृतक दुवैको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस

यो समाचार पनि पढ्नुहोस् : एक पत्रकार जसले मेलम्चीमा आफ्नै घरखेत डुबेको स्थलगत रिपोर्टिङ गरे

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *