देश विदेश

होटल क्वारेन्टाइन : खान, सुत्न होटलमा, दिन भरि जता घुमे नि मतलब छैन

शेयर गर्नुहोस्

झापाका श्याम बहादुर (नाम ठाउँ परिवर्तन) शनिबारका दिन विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिन्छन्। सरकारको नियम अनुसार ५ दिन होटल क्वारेन्टाइनमा बस्नु पर्ने नियम अनुसार विदेशबाट नै होटल क्वारेन्टाइनका लागि बुक गरेका उनलाई लिन विमानस्थलमै होटलको गाडी पुग्छ।

उनलाई विमानस्थलबाट होटल क्वारेन्टाइनको लागि ल्याइन्छ। पशुपति सेरोफेरोमा भएको एक होटलमा राखिन्छ। गाडी नै विमानस्थल पुगेर स्वागत सत्कारका साथ होटलसम्म ल्याउँदा श्यामबहादुर खुसीले गद्गद् छन्। मातृभूमी टेकेका श्यामबहादुर ५ दिन होटलको क्वारेन्टाइन समय कसरी कटाउने भन्ने बारेमा सोच्दै आएका छन्।

घर जान हतारिएका श्यामबहादुरलाई होटलको ५ दिन विदेशमा बिताएका वर्ष भन्दा पनि लामो सयमको लाग्ने अनुमान गर्दै होटल छिरे। होटल छिरेपछि उनले आफूले सोचेजस्तो केही पनि पाएनन्।

‘क्वारेन्टाइन भनेको त यस्तो पो हुन्छ जस्तो लागेको छ,’ होटल क्वारेन्टाइनमा बसेका श्यामबहादुर होटलभन्दा करिव २ किलोमिटरको दुरीमा भेटिएपछि आफ्नो अनुभव सुनाउँदै थिए। उनी कसैसँग भेटघाट गर्न पाइँदैन, बाहिर निस्कन पाइँदैन, २४ घण्टा स्वास्थ्यकर्मीको निगरानीमा हुनुपर्छ जस्ता भावनाले सताए पनि होटल पुगेपछि उनले त्यस्तो नभएको बताए।

उनले भने, ‘हामीले बुक गर्दा क्वारेन्टाइन सम्बन्धमा केही कुरा बुझेर नै बुक गरेको हो। नेपाल सरकारले बनाएको क्वारेन्टाइन नियम पालना गर्दा ५ दिन कसरी कटाउने एक्लै बसेर जस्तो लाग्दै आएको थिएँ। तर, यहाँ त बाहिर जान पाइँदो रहेछ।’

होटल क्वारेन्टाइनमा बसेको मान्छे दिनभरी जहाँ घुमे पनि हुन्छ। तर, खाना होटलमा खानु पर्छ। खाना होटलमा न आए पनि खानाको पैसा तिर्नु पर्छ। २ हजारप्रति रातको दरले बुक गरेको होटलको कोठा नेपाल पुगेपछि ३ हजारप्रति रातको दरमा आएको छ। ट्याक्सी होटलमै पुग्छ। घुमाउनु पर्ने सबै ठाउँ घुमाइदिन्छ र होटलमा फर्काइ दिन्छ। भाडा भने आफैंले तिर्नु पर्छ।

श्यामबहादुरले ट्याक्सी नचड्ने आफन्तको बाइकमा बाहिर जाने भनेपछि होटल प्रशासन मानेन। श्याम बहादुरका अनुसार होटल क्वारेन्टाइनमा बसेका कसैले पनि न त राइड सेयरिङ गर्न मिल्छ, न त आफ्न्तको सवारी साधनमा चड्न पाइन्छ। पाइन्छ त केवल होटलले व्यवस्थापन गरेको ट्याक्सी।

श्याम बहादुर सुनाउँदै थिए, ‘त्यो होटल (उनी क्वारेन्टाइन बसेको) वरपर त पसलहरु पनि जतिबेला पनि खुल्ला हुन्छन्। निषेधाज्ञा छ जस्तो पनि छैन। झोला कोठामा राखेपछि बाहिर निस्कन पाइन्छ। जता पनि जान छुट छ। ट्याक्सीको इन्ट्री हुन्छ। सायद कमिसन दिन्छन् होला ट्याक्सीले। कति मान्छे ल्याए, कति मान्छे लगेर गए, कहा गए भन्ने सबै रेकर्ड राखिन्छ।’

श्यामबहादुरले सुनाएको घटनाक्रम बुझ्न उनी बसेको होटलको सेरोफेरो चक्कर लगाउँदा उनले भनेजस्तै दृष्यहरु देख्न पाइयो। प्रेसको आइडीकार्ड देखेपछि हच्कीएका कर्मचारी तथा ट्याक्सी ड्राइभरहरुले केही प्रतिक्रिया दिन चाहेनन्।

कारवाही हुन्छ : सीसीएमसी

होटल क्वारेन्टाइनको बारेमा सरकारले बनाएको नियमहरु पालना नभएको पाएपछि हामीले नियमन निकाए सीसीएमसीसँग सोधेका थियौं। सीसीएमसीका प्रवक्ता सहसचिव कृष्णहरी पुस्कर कर्णले स्वास्थ्यको मापदण्ड पालना नगराउने होटल र मापदण्ड पालना नगर्ने व्यक्ति पनि कारवाहीको भागिदारी हुने दाबी गरे।

उनले भने, ‘होटल क्वारेन्टाइनको नयाँ मापदण्ड ल्याउँदै छौं। निवेदन दिएका होटलहरुको अनुगमनमा नै छौं। त्यो नहुँदासम्म पुरानै मापदण्डहरु लागू हुन्छन्। यदि पुरानो मापदण्डहरु पनि होटल तथा यात्रुले पालना गरेको पाइएको छैन भने डिसीसीएमसीलाई कारवाही गर्ने अधिकार छ। सीसीएमसीमा आएको रिपोर्ट अनुसार डिसीसीएमसीसँग सहकार्य गरेर कारवाही गरिन्छ।’

उनका अनुसार होटल मापदण्ड र सरकारले कोरोना नियन्त्रण तथा रोकथामका गर्न जारी गरेका स्वास्थ्य मापदण्ड लगायतका अन्य व्यवस्थाहरु सम्पूर्ण क्वारेन्टाइनका लागि सूचिकृत होटलहरु, यात्रुहरुले पूर्णरुपमा पालना गर्नु पर्नेछ र पालना नगरेको पाइएमा कोभिड–१९, संकट व्यवस्थापन अध्यादेश २०७८ र संक्रमण रोग नियन्त्रण ऐन २०२० बमोजिम कारवाही हुने छ।

यो खबर डिसी नेपाल मा  प्रकाशित भएको हो । 

यो समाचार पनि पढ्नुहोस् : साइप्रसबाट खोप लगाएर नेपाल जानेले होटल क्वारेन्टाइन बस्न नपर्ने, सिधै घर जान पाइने

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।