सर्प संग रमाउने १८ वर्षीय खुश्बु , बाबुछोरी मिलेर समात्छन् सर्प

शेयर गर्नुहोस्

चितवनका यमलाल भण्डारीले सर्प समात्न थालेको करिब पाँच वर्ष भयो।
४४ वर्षीय यमलालका तीन छोरी छन्। दुई वर्षयता बाबुसँगै पाइला मिलाइरहेकी छन् उनकी ठूली छोरी खुश्बु। बुवाको काम देखिरहेकाले खुश्बुलाई सर्पको संसारबारे चासो बढेको हो।

अहिले १८ वर्षकी उनी ‘सर्प उद्धारको काम गर्छु’ भन्दा जम्मा १६ वर्षकी थिइन्। उमेरको कुरा एक ठाउँमा थियो, यमलालले अर्को पनि कारण देखाउँदै उनलाई हप्काउन थाले, ‘कहाँ छोरीहरूले सर्प समात्ने? हुँदैन। यो त निकै गाह्रो र जोखिमपूर्ण काम हो।’

खुश्बुले प्रतिकार गरिन्, ‘किन नहुने छोरीहरूले?’

 

छोरीको प्रश्नले यमलाल नाजवाफ भए। उनैले त ‘छोरीहरूले गर्न नसक्ने केही छैन, आफूलाई कहिल्यै कम नआँक्नु’ भन्दै आफ्ना तीन छोरी हुर्काएका थिए।

‘छोराछोरी जे भने पनि, उनीहरू नै हुन्’ भन्ने मान्यता लिएर हिँडेका यमलालले कहिल्यै उनीहरूलाई भेदभाव महशुस हुन दिएनन्। अनि सर्प समात्ने कुराले चाहिँ किन हच्किए? सर्पको डर थियो वा समाजको?

यमलाललाई लाग्थ्यो– सर्प मात्र होइन, मान्छे पनि विषालु हुन्छन्। र हाम्रै समाजमा छन्।

तर खुश्बुको प्रश्नले यमलाललाई यी दुवैथरि विषको पर्वाह नगरी सर्प समात्न सिकाउन कर लगायो।

उनले बुझे, ‘आज उसलाई यता नजाऊ, उता नबस भन्न थाले भनेपछि उनीहरूले अह्राएको काम मात्र गर्न सक्छन्। आँट, साहस र हौसलाको पहिलो स्कुल त घरै हो।’

यसपछि खुश्बु सर्प उद्धार कसरी गर्ने भनेर बुवासँगै हेर्न जान थालिन्। सर्पबारे ज्ञान पनि लिँदै गइन्। डेढ वर्ष यसरी नै बित्यो। छ महिना अघिदेखि भने खुश्बु आफैं सर्प समात्न थालेकी छन्। त्योबेला घर नजिकैको तोरी मिलमा धामन सर्प पसेको थियो। उद्धार गर्न यमलाल गए। खुश्बु सधैंझैं पछि लागेर हेर्न पुगिन्। तर अचानक यमलालले छोरीलाई भने, ‘ल यसको उद्धार गर।’

खुश्बुलाई डर त लागेको थियो। तर बुवा साथै भएकाले आफैंलाई सम्झाइन्, ‘बाबा सँगै हुन्जेल मलाई केही हुँदैन।’

उनले त्यस दिनयता सात वटा अविषालु सर्प र दुइटा अजिंगर समातिसकेकी छन्। हरेक पटक उनले सर्प समात्दा यमलाल दंग पर्छन्, ‘ओहो, मेरी छोरी त निडर भइछन्।’

सर्प उद्धार गर्न जाँदा बाबुछोरी सँगै हुन्छन्। यमलालले अहिले खुश्बुलाई एक्लै सर्प समात्न दिँदैनन्। भनिरहेका पनि हुन्छन्, ‘म नभएको समयमा जथाभावी सर्प समात्दै नहिँड्नू नि!’

 

उनी पनि ठान्छन्- म हुन्जेल छोरीलाई केही पनि हुँदैन।

बुवाको साथ त छँदैछ, आजकाल सामाजिक सञ्जालमार्फत पनि धेरैले खुश्बुलाई चिन्न थालेका छन्। कहिलेकाहीँ सर्प उद्धार गर्नेक्रममा उनलाई चिन्नेहरूले हौसला पनि थपिदिन्छन्, ‘तिमीलाई त मैले युट्युबमा देखेको थिएँ नि! छोरी मान्छे भएर पनि कति साहसिली।’

भर्खर १२ कक्षाको पढाइ सकेर स्नातकको तयारी गरिरहेकी छिन् खुश्बु। फुर्सदमा सर्पबारे जानकारी लिँदै चेतनामूलक भिडिओ बनाएर सामाजिक सञ्जालमा हाल्छिन्। बुवाजस्तै समाजसेवाका रूपमा सर्प उद्धार काम अघि बढाउन चाहने उनले यसैलाई करिअर बनाउने भने सोचेकी छैनन्।

 

‘सायद स्नातकमा फुड-टेक्नोलोजी पढ्छु होला,’ उनले भविष्यको योजना सुनाइन्।

यमलालले छोरीलाई सर्प उद्धार गर्न सिकाउनु त छँदैछ, छोरीले पनि उनलाई सिकाइरहेकी छन्। अंग्रेजी र सामाजिक सञ्जालको राम्रो ज्ञान, गुगलबाट जानकारी लिन सक्ने भएकाले खुश्बुबाट धेरै कुरा थाहा पाएको उनी बताउँछन्।

पुर्ख्यौली थलो गुल्मीबाट १८ वर्षअघि चितवन बसाइ सरेका हुन् यमलाल। त्यहीँ उनका तीन छोरी जन्मे–हुर्के। सर्पको काम गर्नुअघि १३ वर्षसम्म गाडी चालक थिए। त्यसपछि पार्टी प्यालेस खोले, सर्पको काम पनि थाले।

सर्प उद्धारमा लाग्नुको कारण सुनाउँछन् उनी, ‘गाउँकी एकजना दिदीलाई सर्पले टोकेको थियो। कति दिनसम्म झारफुक मात्र गर्नु भएछ। उपचार नपाएर बित्नुभयो। त्यही भएर जनचेतना फैलाउने र समाजसेवा पनि गर्ने हिसाबमा उद्धार काम थालेको हुँ।’

करिब नौ सय सर्प उद्धार गरिसकेका यमलालसँग सुरूआती दिनमा यसबारे ज्ञानै थिएन। परोपकारी भावना मात्र बोकेर उनी जथाभावी सर्प समात्दै हिँड्थे। केही सर्प विज्ञले उनीबारे थाहा पाएपछि उनको ठेगाना खोजे। अनि भेट्ने बित्तिकै गाली गरेछन्, ‘बाँच्न मन छैन? जथाभावी सर्प समात्दा मरिन्छ भन्ने थाहा छ कि छैन?’

यो समाचार पनि पढ्नुहोस् : इजराइलमा कामदार पठाउने प्रक्रिया सुरु, तलब १५ सय ४३ डलर, कसरी जाने त ?

त्यसरी उनको ज्यानको ख्याल राख्दै हप्काउने सर्प विज्ञहरू थिए, डाक्टर देव पाण्डे र सुनिल सापकोटा। उनीहरूबाटै यमलालले सर्पबारे धेरै ज्ञान पाए। आजकल पनि सर्प समात्दा केही अप्ठ्यारो आइपर्‍यो वा जानकारी चाहिए यमलाल उनीहरूलाई नै सम्झिन्छन्।

यिनै अनुभवका कारण उनले अहिले बुझिसकेका छन्- सबै सर्प विषालु हुँदैनन्। नेपालमा भेटिएका करिब ८० प्रजाति सर्पमध्ये २२ प्रजाति मात्र विषालु छन्। त्यसमा पनि १८ प्रजातिले टोक्दा मात्र मृत्यु हुने सम्भावना धेरै भएको यमलाल बताउँछन्।

कयौं मानिस सर्पले टोकेरभन्दा डरले भाग्दा पोलमा ठोक्किएर, तर्सेर र उपचार नपाएर मरेका उदाहरण धेरै भएको बताउँदै उनले भने, ‘एक पटक ७३ वर्षे आमालाई पानी सर्पले टोक्दा बेहोस हुनुभयो। यो सर्प विषालु छैन, केही पनि हुँदैन भन्ने विश्वास दिलाउन हामीले सर्प ल्याएर आफूलाई टोकाएरै देखाउन पर्‍यो। अनि उहाँ बिना कुनै उपचार डिस्चार्ज हुनुभयो।’

अधिकांश मान्छे विषालु र अविषालु सर्प खुट्याउन पनि सक्दैनन्। यमलालका चिनजानको एकजना सर्पै समात्ने साथीको निधन सर्प गोमन (विषालु) कि धामन (अविषालु) भन्ने नचिनेकै कारण भएछ। त्यसैले ज्ञान नभई त्यसको नजिक जान नहुने उनी बताउँछन्।

विषालु सर्पले टोक्यो भने उद्धारकताहरू आफैं त्यसको भागिदार हुनुपर्छ। नेपालमा बीमा नभएको र उपचार निम्ति झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने यमलालको भनाइ छ। त्यही भएर उनले छोरी खुश्बुलाई विषालु सर्पबाट टाढै राखेका हुन्। आफू पनि हातले नभई पञ्जा वा लठ्ठीले मात्र त्यस्ता सर्प समात्छन्।

सुरूआती दिनमा आफन्तले पनि उनलाई गाली गर्थे, ‘तँ पागल होस्। न बीमा छ, न ज्यानलाई सुरक्षा! यस्तो जोखिमपूर्ण काम नगर्।’

 

उनकी आमा त अहिले पनि सर्प समात्न जाने भन्दा आत्तिन्छिन्, ‘कस्तो मुटु नै चिसो हुन्छ मलाई त।’

यमलाल पनि भन्छन्, ‘अलिकति चुक्यो कि ज्यानलाई नै जोखिम हुन्छ। त्यसैले म मान्छेलाई सर्पसँग डराउनुस् नै भन्छु। कस्तो सर्प हो भन्ने जानकारी नभएसम्म नजिक नजानुहोस्।’

तर सर्पले त्यत्तिकै मान्छेलाई टोक्दैन। घरवरिपरि सफा राख्ने, प्वालहरू टाल्ने, अँध्यारोमा टर्च बालेर हिँड्ने हो भने हामी धेरै हदसम्म बच्न सक्छौं। सर्पहरूले पर्यावरणलाई सन्तुलित राख्छन्। बाली नष्ट गर्ने मुसा खाइदिने, कीराफट्यांग्रा खाइदिएर किसानलाई मद्दत पुर्‍याउँछन्। त्यसैले जति विषालु भए पनि नमार्न सर्प विज्ञहरू सुझाव दिन्छन्।

जोखिम मोल्दै सर्प उद्धार गरेबापत यमलालले जति प्रशंसा बटुलेका छन्, त्यति नै अपजस पनि खान्छन्। आफ्नो घर वा वन नजिकै उद्धार गरिएका सर्प नमारी यसै छाड्यो भनेर मान्छेहरू उनलाई गाली गर्छन्।

विषालु सर्प वा अजिंगर भेटिए उद्धारकर्ताहरू वन कार्यालयको गाडी बोलाउँछन्। जहाँ मान्छेलाई जान निषेध छ, ती वनमा लगेर छाडिन्छन्। अविषालु सर्प भने भेटिएको ठाउँबाट ५–६ मिटर पर झाडीतिर पठाइन्छ।

‘त्यो सर्प त्यही समाजको पर्यावरण सन्तुलित राख्न चाहिने भएकाले नजिकै छाड्छौं। तर मान्छेले नबुझेर तिमीहरूलाई मुद्दा हालिदिऊँ भनेर धम्कीसमेत दिन्छन्,’ यमलालले गुनासो पोखे।

त्यसमाथि सरकारी निकायले उनीहरूको कामलाई सम्मान गर्नु त पर, के–कस्तो समस्या छ भनेर चासो पनि नदेखाउँदा उनलाई उदेक लाग्छ।

सर्पको काममै महिनामा आठ–दस हजार रूपैयाँ सकिने पनि उनले बताए। कहिले लौरो भाँचिएर नयाँ किन्नुपर्छ त सर्प राख्ने भाँडा, झोला, बाल्टिन लगायतमा खर्च हुन्छ।

त्यसमाथि उनले सर्पसँगै अन्य प्राणीलाई उद्धार गर्ने संस्था पनि खोलेका छन्। त्यसबाट केही आम्दानी छैन, प्रत्येक वर्ष १५ हजार तिरेर संस्था नवीकरण भने गर्नुपर्छ।

पहिले त पार्टी प्यालेसले यताको खर्च धानिन्थ्यो। लकडाउनयता आम्दानीमा खडेरी लागेको छ।

उनी गुनासो पोख्छन्, ‘यमलालले राम्रो काम गरेको छ भनेर सबैले भन्छन्। तर उसलाई के–कस्तो समस्या छ भनेर कसैले सोध्दैनन्।’

तर खर्चिलो र जोखिमपूर्ण भए पनि समाजका लागि यो काम गरिरहने बताउँदै उनी भन्छन्, ‘कतिपय मान्छेले मलाई मूर्ख भन्छन्। तर म एउटा मूर्ख भएर हजारौंलाई सहयोग हुन्छ भने किन नहुने?’

अहिले यमलालले आफ्नो संस्थामार्फत नजिकैका जिल्लामा सर्प उद्धार तालिम दिने योजना बनाएका छन्। उनी ठान्छन्- हरेक जिल्लामा यमलाल र खुश्बु भइदिए मान्छेहरू सर्पको डरले मर्नुपर्ने थिएन।

यो समाचार पनि पढ्नुहोस् :अमेरिका हिँडेका सात नेपाली डुंगा दुर्घटनापछि बेपत्ता

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like