साइप्रस न्युज

ग्रीस छिर्न गएका ६ नेपालीलाई टर्कीमा बन्धक बनाएर पाकिस्तानी दलालले मागे फिरौती

शेयर गर्नुहोस्

गत वर्ष ६ नेपाली सुन्दर भविस्यको कल्पना गर्दै युरोपलाई जोड्ने मध्यपूर्वी देश टर्की पुगेका थिए। यहाँ केही महिना काम गरेपछि उनीहरूलाई युरोप छिरेर राम्रो काम गर्ने प्रस्ताव आयो।

यो प्रस्ताव उनीहरूलाई अन्य व्यक्तिबाट नभई नेपाली दलालमार्फत आएको थियो। त्यसैले उनीहरूले केही नसोची थप केही पैसा खर्च गरेर युरोपको ग्रीस जाने सोचे बनाए।

वास्तवमा युरोप हरेक नेपालीको रोजाईको देश हो। आकर्षक कमाईं र लोभलाग्दो जीवनशैलीका कारण हिजोआज अधिकांश नेपाली युवायुवतीको सपना नै बनेको छ, युरोप।

यसमा यी युवायुवती अछुतो हुने कुरै भएन। त्यसैले उनीहरूले प्रत्येक व्यक्तिको २ हजार युरो दिने सर्तमा ग्रीस प्रवेश गर्न मन्जुरी जनाए।

यसको सारा प्रबन्ध नेपाली एजेन्ट कान्छा तामाङले पाकिस्तानी एजेन्ट सजादमार्फत मिलाएका थिए।

तर, उनलाई पनि के थाहा–केही पैसाको लोभमा विश्वास गरेको पाकिस्तानी एजेन्ट सजाद नेपाली दाजुभाई–दिदीबहिनीका लागि राक्षस बन्न सक्छ भनेर?

कान्छा तामाङ र सजादबीच एउटा सहमति बनेको थियो, ग्रीस पु¥याउने भनिएका नेपालीबाट सुरुमा एड्भान्स स्वरुप आधा पैसा असुल गर्ने र बाँकी पैसा ग्रीस पुगेपछि दिने।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यही सहमति अनुरुप कान्छाले ४ युवतीसहित ६ नेपालीबापत आधा पैसा सजादलाई उपलब्ध गराएका थिए। तर, सजादले सबैलाई टर्कीकै इन्सेलर भन्ने ठाउँमा रहेको एक घरमा लगेर बन्धक बनाए।

र, उनीहरूको टाउकोमा बन्दुक सोझाउँदै भिडियो खिचेर तिनै नेपाली एजेन्ट कान्छा तामाङलाई पठाउँदै फिरौतीबापत प्रत्येक व्यक्तिबाट थप २–२ हजार युरो माग गरे। सजादले ग्रीस जान हिँडेका नेपालीको मोबाइल फोन र सम्पूर्ण पैसा पनि लुटेका थिए।

फिरौतीका लागि बन्धक बनाएर पठाइएको भिडियो देखेपछि तामाङको पनि होस् हवास् उडेको थियो। तामाङलाई कुनै कुरा नसुझेपछि उनले टर्कीको बेयगोल जिल्लास्थित प्रहरीको मद्धत लिए।

उनको उजुरीकै आधारमा हालै टर्कीको प्रहरी विभागले पाकिस्तानी दलालबाट बन्धक बनेका ६ नेपाली र एक अफ्रिकी युवालाई सकुसल उद्धार गरेको छ।

‘कान्छा तामाङले फिरौतीको माग गर्दै बन्धक बनाएको भिडियो पठाएपछि प्रहरीलाई उजुरी गरेको रहेछ। यही उजुरीको आधारमा नेपाली दाजुभाई–दिदीबहिनीको सकुसल उद्धार सम्भव भएको हो,’ घटनाको टर्कीबाट प्रवास खबरलाई जानकारी दिँदै एनआरएनए टर्कीका अध्यक्ष उज्जवल कुमार घिसिङले भने।

टर्की प्रहरीले यस विषयमा संयमता अपनाएको पनि उनले बताए।

‘टर्की प्रहरीले फोन गर्ने पाकिस्तानी अपहरणकारीलाई पैसा दिने बहानामा भेट गर्न कान्छा तामाङलाई बताएका रहेछन्। प्रहरीकै डिजाइनअन्तर्गत तामाङले अपहरणकारीलाई बोलाएका थिए। यसरी उनीहरू पक्राउ परे,’ उनले भने।

सोधपुछका क्रममा अपहरणकारीले नेपाली युवायुवतीलाई व्रिनिक महाल्लेसीको एक घरमा बन्धक बनाएर राखेको स्वीकार गरे। अपहरणकारीकै सूचनाको आधारमा टर्की प्रहरीले घरमा अपरेशन गरेको थियो।

टर्की प्रहरीले नेपालीलाई बन्धक बनाएको अवस्थामा फेला पारेका थिए। यो घटनामा प्रहरीले पाकिस्तानी अपहरणकारी सद्दाम हुसेन, मोहम्मद आर र अली उमरसहित ४ जनालाई पक्राउ गरेको छ।

अपरेशनको क्रममा प्रहरीले बन्धक बनाएर नेपालीलाई राखिएको घरबाट बन्दुक, मोवाइल फोन र ठूलो परिमाणमा यूरो र लिरा बरामद गरेको थियो।

पक्राउ परेका ४ अभियुक्तलाई बयानको लागि चौकी पु¥याइएको थियो।

प्रहरीबाट उद्धार गरिएका नेपालीसँग एनआरएनए टर्कीले सम्पर्क गर्दे घटनाको विस्तृत जानकारी लिने प्रयास गरेको थियो। तर, उनीहरू थप जानकारी दिन चाहेका छैनन्।

यो पनि पढ्नुहोस् : डुंगा दुर्घटनामा परेर बेपत्ता सात नेपालीलाई कसले पुर्‍यायो कोलम्बिया ?

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

2 thoughts on “ग्रीस छिर्न गएका ६ नेपालीलाई टर्कीमा बन्धक बनाएर पाकिस्तानी दलालले मागे फिरौती

Comments are closed.