साइप्रस न्युज

विदेश जानेलाई कोभिड खोप कार्ड प्रमाणीकरण गर्न कहाँ कहाँ ठाँउ तोकियो ?

शेयर गर्नुहोस्

साउन ८, काठमाडौं । कोभिडविरुद्धको खोप लगाएका नागरिकको खोप कार्ड प्रमाणीकरण आजबाट काठमाडौं उपत्यकाका ४ वटा अस्पतालमा हुने भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र प्रमाणीकरणको काम हुँदा भिड बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गर्ने अस्पतालको संख्या विस्तार गरेको हो।

मन्त्रालयको बिहीबार सचिवस्तरीय निर्णय अनुसार सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने निर्णय गरेको हो।

यी सबै अस्पतालमा निशुल्क रुपमा खोप कार्ड प्रमाणीकरणको काम शुरु भइसकेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमले जानकारी दिए ।

काठमाडौँको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउनुपर्ने र घन्टौं लाइन लाग्नुपर्ने बाध्यताले सरकारको व्यापक आलोचना हुँदै आएको थियो ।

विदेश जाने नागरिकहरु लाई गन्तव्य मुलुकले खोप कार्ड प्रमाणीकरण अनिवार्य गरेपछि पछिल्लो दिनमा युवाहरुको भिड बढेको थियो ।

खोप लगाएको प्रमाण बनाउन राति २ बजे देखि युवाको भीड

साउदी अरब उड्ने प्रतीक्षामा रहेका श्रीधर बुचा खोप लगाउन पाल्पाबाट बुधबार बिहान काठमाडौं आइपुगे । वैदेशिक रोजगारमा जाने कामदारलाई काठमाडौंमा जोन्सन एन्ड जोन्सनको खोप दिने खबर आएपछि उनी रातारात काठमाडौं आइपुगेका थिए । ‘सिधै एयरपोर्टनजिकै खोप केन्द्रमा लाइनमा बसें । तीन घण्टामा पालो आयो,’ उनले भने, ‘भिसा र राहदानी देखाएपछि खोप लगाएँ ।’

स्वास्थ्य केन्द्रमा खोप लगाएपछि सरकारले खोप कार्ड दिने गरेको छ, त्यो नेपालीमा लेखिएकाले विदेशमा मान्यता पाउने सम्भावना नै भएन । त्यसैले कार्ड अंग्रेजीमा प्रमाणीकरण गर्न सरकारले अर्को व्यवस्था गरेको छ । ‘खोप कार्ड लिएर बिहीबार टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा पुगें । हिजो खोप लगाउन भीडमा, आज प्रमाणित गर्न लाइनमा, दिनभर ठेलमठेल भीडसँग लड्नुपर्‍यो,’ उनले भने ।

श्रीधरजस्ता युवा विदेश जाने हुन् भन्ने सरकारलाई पहिले नै थाहा थियो, पासपोर्ट र भिसा देखाएर नै उनले खोप लगाउन पाएका हुन् । ‘सके सबैका लागि, होइन भने पनि भिसा देखाउनेहरूका लागि त तत्कालै अंग्रेजीमा प्रमाणपत्र दिने व्यवस्था हुनुपर्ने हो । तर, भद्रगोल भएकाले धेरैले दुःख पायौं’ सिरहाका अब्दुल सतरले भने ।

प्रमाणपत्र लिन बुधबारबाट अस्पताल परिसरमा वैदेशिक रोजगारमा जानेहरूको भीड लाग्न थालेको छ । ‘प्रहरीले भित्रै छिर्न नदिने, भीडले भित्र जान खोज्ने, एकदमै गाह्रो भयो,’ कतार जाने तयारीमा रहेका सतरले भने, ‘जता पनि अस्तव्यस्त मात्रै भयो । यो प्रमाणपत्र त हामीलाई खोप लगाएकै ठाउँमा दिनुपर्ने हो ।’ उनले वैदेशिक रोजगारीमा जानेलाई एकमाथि अर्को सास्ती थपिँदै गएको बताए । ‘श्रम स्वीकृतिका लागि पनि घण्टौं लाइनमै बस्नुपर्ने । खोप लगाउन पनि लाइनमै बस्नुपर्ने, अब त हुँदाहुँदै खोप लगाएको पत्र बुझ्न पनि लाइनमै बस्नुपर्ने भयो,’ उनले भने, ‘यो त अति भयो ।’

कोभिडको समयमा पनि म्यानपावर कम्पनीले गत आर्थिक वर्षमा ९२ हजार जनाको श्रम स्वीकृति लिएका छन् । जसमध्ये २८ हजार जना उड्न बाँकी छन् । नेपालीको आकर्षक गन्तव्य मानिएका दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले कोभिडका कारण नेपाली कामदार लगेका छैनन् । साउदी अरब, कतार, बहराइन र ओमानले सर्तसहित कामदार लगिरहेका छन् । खुला गरिएका देशमा खोपको आधिकारिक पत्र बोकेर आउने कामदारले क्वारेन्टाइनमा बस्नु पर्दैन ।

‘जो कामदारसँग पीसीआर रिपोर्ट छ, खोप प्रमाणपत्र छ भने क्वारेन्टाइनमा बस्नु पर्दैन,’ कतार सरकारको सूचनामा भनिएको छ, ‘खोप प्रमाणपत्रमा यात्रुको नाम, राहदानी नम्बर, खोपको नाम, लगाएको मिति र खोपको लट नम्बरसमेत उल्लेख हुनुपर्छ ।’ खोप लगाएको पुष्टि हुने पत्र नभए क्वारेन्टाइन बस्नुपर्छ । त्यसको खर्च कामदारले बेहोर्नुपर्छ । ‘यो पत्र भएपछि एक लाख रुपैयाँ जोगिन्छ,’ उनले भने, ‘यो पैसा मेरा लागि चार महिनाको तलब हो । भाडा पनि ऋण गरेर ल्याएका हामीले क्वारेन्टाइन खर्च कहाँबाट गर्नु ?’

सरकारले खोप लगाएको आधिकारिक पत्र दिने ठाउँ टेकुस्थित शुक्रराज अस्पताललाई मात्र तोकिदिँदा कामदारले हैरानी खेप्नुपरेको हो । टेकु अस्पतालका निर्देशक डा. अनुप बाँस्तोला लाखौंले खोप लगाइसकेको हुँदा एक ठाउँबाट मात्रै आधिकारिक पत्र जारी गर्न कठिन हुने बताउँछन् ।

सरकारले १५ लाख जनालाई जोन्सन एन्ड जोन्सन लगाउँदै छ । त्यसमध्ये ठूलो हिस्सा वैदेशिक रोजगारीमा जानेलाई लगाइएको छ । अस्पतालले भीड बढेपछि शुक्रबारदेखि ४८ घण्टाभित्र उडान भएकालाई प्राथमिकतामा राखेर पत्र जारी गर्ने सूचना जारी गरेको छ । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ श्रम र स्वास्थ्य मन्त्रालयबीच समन्वय नभएकाले कामदारले सास्ती पाएको बताउँछन् । उनका अनुसार टेकुले जारी गरेको आधिकारिक पत्रले पनि काम गर्ने वा नगर्ने यकिन छैन । ‘प्रमुख देशहरूले खोप कार्डमा बारकोड हुनुपर्छ भनिएको छ । डिजिटल रिड गर्ने मिल्ने भनिएको छ । यसमा पत्र मात्रै छ,’ उनले भने, ‘सरकारको छाप लगाएर अंग्रेजीमा खोप लगाएको हो भनेर उल्लेख गरिएको छ ।’

टेकु अस्पतालबाट अंग्रेजीमै जारी भएको प्रमाणले पनि विदेशमा मान्यता पाउँछ कि पाउँदैन भन्नेमा वैदेशिक रोजगार विभागसमेत स्पष्ट छैन । ‘कुन निकायले कार्ड जारी गर्ने हो ? कस्तो कार्ड जारी गर्ने भनेर दूतावासमार्फत जानकारी दिनुपर्छ । तर, खोपको प्रमाणपत्रको ढाँचाबारे विभागसँग समन्वय नै भएन,’ विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी भन्छन्, ‘यो सबै झमेला हटाउन श्रम, स्वास्थ्य र परराष्ट्र मन्त्रालयबीच समन्वय आवश्यक छ ।’

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले हाल जारी गरिएको कार्डमा क्यूआर कोड नभएको र भविष्यमा त्यस्तो व्यवस्था गर्ने बताउँछन् । ‘अंग्रेजी र नेपालीमा लेखिएको कार्डलाई छाप हानेर दिने गरेका छौं । यो नै हाम्रो आधिकारिक प्रमाणपत्र हो,’ गौतमले भने, ‘क्यूआर कोडसहित खोप प्रमाणपत्र चाहिन्छ भनेर हामीले पनि महसुस गरेका छौं ।’

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *