देश विदेश

१००० जनाको लागि खूल्यो इज*राइल,अप्लाई गर्ने तरिका सहित। साइप्रस बाट पनि मिल्छ कि ?

शेयर गर्नुहोस्

२७ जुलाई २०२१/ लिमासोल 

 नेपालले सरकारी प्रक्रियाबाट इज_रायलमा कामदार पठाउने सम्झौता भए अनुसार आवेदन खूला गरेको छ । वैदेशिक रोजगार बिभागले मंगलबार आवेदन मागको सूचना जारी गर्दै औपचारीक रुपमा इज_रायलरोजगार खोलेको जनाएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार इज_रायलले सुसारे (केयरगिभर) कामका लागि एक हजार नेपाली श्रमिक लैजान सूचना जारी भएको छ ।

सरकारले गतवर्ष इज_रायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५ सय जना कामदार पठाउने समझदारी गरेको थियो । बिभागले जारी गरेको सूचना अनुसार इज_रायलमा रोजगारको लागि मासिक ५३०० एनआईएस तलब हुनेछ ।

जसको नेपाली विनिमय अनुसार करिब तलब १ लाख ९३ हजार हुन आउँछ । यो तलब सातामा ४२ घण्टाको हिसावमा हुन्छ । इज_रायल जाने कामदारको खानाको प्रबन्ध आफैले मिलाउनुपर्ने भए पनि बस्ने प्रबन्ध भने रोजगारदाताले नै गर्नेछन् । एक पटक रोजगारमा जाने करार अवधि १ बर्षको हुने भए पनि करार थपिएर ५ बर्षसम्म बस्न पाइनेछ ।

बिभागको सूचना अनुसार इज_रायलमा ३० प्रतिशत अर्थात ३०० जना पुरुष कामदार र ७० प्रतिशत अर्थात ७०० जना महिला कामदारले रोजगारको आवसर पाउनेछन् ।

इज_रायलको हेरचाह केन्द्रमा सहायक कामदारका लागि आवेदन पेश गर्न चाहने आवेदकको उमेर २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ । त्यस्तै उचाई कम्तिमा १.५ मिटर र तौल कम्तिमा ४५ केजी हुनुपर्ने छ ।

आवेदकको शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सि.एम.ए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ ।

आवेदक विगतमा इज_रायल गई कार्य नगरेको समेत हुनुपर्ने सूचनामा उल्लेख छ । सूचना अनुसार आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इज_रायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने छ । इज_रायलजाने कामदारहरुको करिव लागत १ लाख ६५ हजार ७०० अनुमान गरिएको छ।

कामदार ले मान्नु पर्ने पुर्व शर्तहरु 

कामदारहरूको छनौट प्रक्रिया नेपाल सरकार र PIBA बीचको सम्झौता अनुसार गरिने छ रइज_रायल पठाइने कामदारको अन्तिम छनौट PIBA द्वारा गरिने बताइएको छ।

छनौट भएका कामदारहरूले इज_रायल प्रस्थानको ७२ घण्टा अगाडि आफ्नै खर्चमा कोभिड-१९ परिक्षण गरी Negative Report पेश गर्नु पर्ने छ भने कोभिड-१९ सँग सम्बन्धित अन्य आवश्यक विवरणहरू उपलब्ध गराउनु अनिवार्य गरिएको छ।

इज_रायल प्रवेश पश्चात इज_रायली स्वास्थ्य मन्त्रालयले तोके अनुसार कामदारले आवश्यक खोपहरू लिन मञ्जुर हुनु पर्ने छ भने खोप लिन इन्कार गर्न पाइने छैन।

नेपाल प्रहरीबाट जारी असल चरित्रको प्रमाण पत्र (पुलिस रिपोर्ट )पेश गर्नु  पर्ने छ भने स्वास्थ्य परीक्षण प्रमाण-पत्र पेश गर्नु पर्ने छ।

त्यस्तै, इज_रायलमा गैह्रकानूनी बसाई नगरेको, इज_रायलमा बसोबास गर्ने कुनै मनसाय नभएको, करार सम्झौता अवधि समाप्त भए पछि इज_रायलअनिवार्य छोड्नु पर्ने शर्त राखिएको छ।

करार सम्झौतामा उल्लेख भएको कामबाहेक अन्य क्षेत्रमा काम गर्न पाइने छैन भने इज_रायलको लागि प्रवेशाज्ञा प्राप्त गरेका कामदारले इज_रायल प्रस्थान गर्न अघि व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानबाट अभिमुखीकरण तालिम लिन पर्ने बताइएको छ।

सेवा सुविधा सम्बन्धी शर्तहरु:

(क) कार्य विवरणः इज_रायली हेरचाह केन्द्रमा रहेका बृद्धबृद्धद्वा, अशक्त विरामीलाई स्वास्थ्य, सरसफाई, पोषण, हिँडडुल लगायत सुपरभाईजरबाट प्राप्त निर्देशन तथा रोजगार सम्झौता अनुसार सहयोग पुर्याउनु पर्ने ।

(ख) कार्य सिफ्ट: प्रत्येक २४ घण्टामा २ देखि ३ सिफ्ट रहने (२ सिफ्ट: बिहान र राती/३ शिफ्टः बिहान, साँझ र राती)

(ग) विदेशी कामदार कोष जम्माः मासिक पारिश्रमिकको १२.५% ले हुने रकम रोजगारदाताले कामदारको नाममा खोलिएको बैंक खातामा जम्मा गर्ने छ ।(करार अवधि समाप्त हुनासाथ इज_रायल छोड्ने कामदारलाई निजको खातामा जम्मा रकम भुक्तानी दिइने छ । करार अवधि समाप्त भए पछि पनि इज_रायलमा गैह्रकानुनी रूपमा बसेमा तोकिएको प्रतिशत रकम कोषबाट कट्टा गरिने र गैह्रकानूनी बसाई ६ महिना नाघेमा कोषमा जम्मा सम्पूर्ण रकम जफत गरिने छ ।)

रोजगारदातावाट उपलब्ध गराइने स्वास्थ्य विमाको प्रिमियम रकम, आवास र खाना खर्च, सम्पत्तिकर, पानी, बिजुली महशुल, आयकर भने इज_रायली श्रम कानुन अनुसार कामदारको मासिक पारिश्रमिकवाट कट्टा हुने सुचनामा उल्लेख छ।

कति योग्यता चाहिन्छ त ?

 २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्ने। 

कम्तीमा १.५ मिटर उचाई र कम्तीमा ४५ किलोग्राम तौल हुनु पर्ने छ।  साथै कम्तिमा १० कक्षा उत्तीर्ण गरी अ.न.मी. वा सि.एम.ए. सम्बन्धी विषयमा कम्तिमा पन्ध्र महिनाको अध्ययन पूरा गरेको वा १०+२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनु पर्ने छ। 

साथै  प्रवेशाज्ञाको लागि प्रक्रिया प्रारम्भ गर्दाको मितिमा आवेदकको पासपोर्ट म्याद समाप्त हुन कम्तिमा ३ वर्ष बाँकी रहनुपर्ने छ भने  विगतमा इज_रायलमा गई रोजगारी  नगरेको हुनु पर्ने छ। 

बाबु, आमा, पति, पत्नी, छोरा, छोरी इज_रायलमा बसोबास नगरेको वा कार्यरत  रहेको ले अपलाई गर्न पाइने छैन।  शारीरिक र मानसिक रूपमा स्वस्थ्य रहेको हुनु पर्ने छ भने कुनै प्रकारको जीर्ण रोगहरू (क्षयरोग, हेपाटाइटिस,भिरिङ्गी, गोनोरिया, एड्स) बाट ग्रसित नभएको गरूङ्गो सामानउचाल्न सक्ने लगायत स्याहार केन्द्रमा सहायक कामदारको रूपमा कार्य गर्न, सामर्थ्य भएको र दुर्व्यसनमा नलागेको हुनु पर्ने सुचनामा बताइएको छ। 

कसरि अपलाई गर्ने ?

वैदेशिक रोजगार  विभागको वेबपोर्टल मा उपलब्ध अनलाइन फाराम भर्नु पर्ने छ । अनलाइन फाराम कसरि भर्ने भनि  User Manual पोर्टलमै उपलब्ध गरिएको छ।  । अनलाइन प्रणाली (FERMS)मा दर्ता भएका दरखास्त स्वीकृत/अस्वीकृत भएपश्चात आवेदकलाई प्रणालीमा दर्ता भएको मोवाइल नम्बर, ईमेलमा सूचना पठाइने छ।

८० पूर्णांक अंकभारको वस्तुगत बहुबैकल्पिक प्रश्नोत्तर प्रणाली अनुसार अंग्रेजी भाषाको लिखित परिक्षा र २० पूर्णांक अंकभारको अन्तर्वार्ता लिइने छ। भाषा परीक्षणको पाठ्यक्रम र परीक्षण विधि विभागको वेबसाइटको पोर्टलमा प्रकाशन गरिने बताइएको छ।

दरखास्त स्वीकृत भएका उम्मेदवारहरूलाई अंग्रेजी भाषाको लिखित परीक्षामा सहभागी हुने मिति, समय र स्थान तोकि इमेल/मोवाइल नम्बरमा जानकारी पठाइने छ, साथै विभागको वेबसाइट  मा प्रकाशित गरिने छ,

भाषा परीक्षामा सहभागी हुन तोकिएको परीक्षा केन्द्रमा ३ घण्टा अघि उपस्थित हुनु पर्ने  हुन्छ।  छनौट समितिले १४०० जनाको योग्यताक्रम सूचीको अन्तिम रोष्टर तयार पारी PIBA लाई उपलब्ध गराउने छ भने  PIBA ले माग संख्याको करीब ७५% (एक हजार नबढ्ने गरी) कामदार चिठ्ठाद्वारा छनौट गर्ने छ.

कामदारहरूको रोजगार सम्झौता (SEC) विभागको वेबसाइट  मा हेर्न सकिने भनिएको छ।  PIBA द्वारा छनौट गरिएका कामदारहरूको रोजगार सम्झौता हस्ताक्षरको लागि विभागमा उपलब्ध हुने छ,

त्यस्तै कामदारले रोजगार सम्झौतामा हस्ताक्षर गरेको ५ दिन भित्र प्रवेशाज्ञा जारी गर्नको लागि विभागले सिफारिस सहित सहजिकरण गर्ने छ  भने प्रवेशाज्ञाको लागि सिफारिस गरेको उम्मेदवारले प्रवेशाज्ञा पाउने वा नपाउने विषयमा विभाग उत्तरदायी नहुने विभाग ले स्पस्ट पारेको छ।

रोजगार सम्झौता भई प्रवेषाज्ञा प्राप्त गरेका कामदारलाई विभागले श्रम स्वीकृति प्रदान गर्ने छ साथै आवेदनका साथ पेश गरिएका विवरण प्रमाणहरू अन्यथा प्रमाणित भएमा जुनसुकै समयमा निजको दरखास्त रद्द गर्ने अधिकार विभागमा सुरक्षित रहने बताइएको छ।

साइप्रस बाट पनि मिल्छ त ?

अनलाइन बाट आवॆदन दिन मिल्ने भएकाले  योग्यता पुगेको छ भने साइप्रसमा रहेका नेपाली ले पनि फर्म भर्न सक्ने छन्।

तपाइँ को आवेदन स्वीकृत भएमा  अन्य प्रक्रियाको लागि  तपाइँ नेपाल नै जानु पर्ने हुन्छ। पुलिस रिपोर्ट, मेडिकल रिपोर्ट लगायतका काम गर्नु पर्ने हुन्छ।

अंग्रेजीको  लिखित र मौखिक परिक्षा पास गनु पर्ने हुन्छ। PIBA ले माग संख्याको करीब ७५% (एक हजार नबढ्ने गरी) कामदार चिठ्ठाद्वारा छनौट गर्ने छ।  भाग्यमा भए तपाइँ को नाम परे छ भने बल्ल रोजगार सम्झौता हस्ताक्षरको लागि वैदेशिक रोजगार  विभागमा जानु पर्ने हुन्छ।

साइप्रसमा काम गर्दै आउनु भएका हाउस्मेड वा केयर गिभर ले कोसिस नगरेकै राम्रो हुन्छ। नेपाल गएर यी सबै प्रक्रिया गर्न सक्छु भन्ने लाग्छ भने कोसिस गर्न सकिन्छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “१००० जनाको लागि खूल्यो इज*राइल,अप्लाई गर्ने तरिका सहित। साइप्रस बाट पनि मिल्छ कि ?

Comments are closed.