देश विदेशप्रवास

एनआरएनए महाधिवेशनः निर्वाचन अभियान कसिलो बनाउँदै डा. बद्री केसी

शेयर गर्नुहोस्

लण्डन । गैरआवसीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि उपाध्यक्ष डा.बद्री केसीले दौडधुप सुरु गरेका छन् । काठमाडौँको फर्पिङमा जन्मेर अध्ययनका क्रममा रुस पुगेपछि व्यवसाय सुरु गरेका डा. केसी वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् ।

नयाँ नेतृत्वका लागि उनले अध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेका छन् । उनको सामाजिक सञ्जाल हेर्दा अनौपचारिक रुपमा अध्यक्षको उम्मेद्वारी घोषणा गरेरै चुनावीप्रचार प्रसार लागिसकेका छन् ।

बुधबार पनि उनले दौडधुपकै क्रममा काठमाडौँमा केही सञ्चारकर्मीसँग अन्तरक्रिया गरे । पछिल्लो समय आफ्नै साख जोगाउन नसकेको एनआरएनए, धुमिल पर्दै गएको छवि, राजनीतिक दलका नेताहरुको हस्तक्षेप र चुनावी गतिविधिका बारेमा उनले आफ्ना तीता मीठा अनुभव सुनाए ।

यी सबै चुनौतिलाई चिर्न आफूले अध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेको पनि केसीले बताए । पछिल्लो समय एनआरएनएमा समस्या, चुनौति र विकृति पनि बढेको गुनासो बढिरहेको छ, उनले भने, ‘यी सबै चुनौतिको सामना गर्दै एनआरएनएलाई नयाँ उचाईमा लैजान अध्यक्षमा चुनाव लड्न लागेको हुँ ।’

उनी यतिमै रोकिएनन् । एनआरएनएभित्र बढ्दो दलीय राजनीतिक दबाब र प्रभाव तथा गैरआवासीय नेपालीका समस्याको समाधान खोज्न आफू अध्यक्ष बन्न लागेको पनि दाबी गरे । पार्टीको समर्थन लिएर चुनाव जित्नेभन्दा प्रवासी नेपालीको दुःख बुझेर नेतृत्वका लागि दौडधुप गरिरहेको उनको दाबी थियो ।

एनआरएनएको वैदेशिक रोजगार कल्याणकारी विभागका संयोजक समेत रहेका केसीले आगामी चुनावमा नयाँ एजेन्डाभन्दा अहिले भएकै एजेन्डालाई कार्यान्वयन गर्नका लागि आफ्नो नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो ।

भावीअध्यक्षका लागि केसीले राजनीतिक नेतृत्वदेखि सम्भावित प्रभावशाली व्यक्तिहरुसँगको भेटघाटलाई तीव्र पारेका छन् । यस बीचमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेताहरुसँग पनि लबिङ गरेका छन् ।

एनआरएनएको नयाँ नेतृत्वका लागि केसीसहित वर्तमान महिला उपाध्यक्ष रविना थापा र यसअघि पराजित उम्मेद्वार कूल आचार्य पनि प्यानलसहित चुनावी मैदानमा आउने तयारीमा छन् । एनआरएनएमा नयाँ नेतृत्वका लागि आगामी अक्टोबर २० देखि २५ तारिखमा चुनाव हुँदैछ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *