‘अफगानिस्तानमा पाउरोटी खाएर प्राण धानिरहेछौँ, हाम्रो उद्धार गरिदिनुहोस् ‘

शेयर गर्नुहोस्

मेरो नाम दीपेन्द्र श्रेष्ठ हो । मेरो घर सिन्धुपाल्चोक जिल्ला हो । तर अहिले म अफगानिस्तानमा आफ्नो देश फर्कंन दिन कुरिरहेको छु ।

यहाँबाट कति साथी नेपाल पुगिसके । कतिपय साथीहरू जाने तयारीमा छन् । तर हामी त यहाँबाट फर्कन पाउँछौँ कि पाउँदैनौँ थाहा छैन ।

मसहित विभिन्न ठाउँका साथीहरू सुरक्षा गार्डको काम गर्न भनेर गएको चैतमा अफगानिस्तान आइपुगेका हौँ । एजेण्टले हामीलाई काठमाण्डौबाट दुबई ल्याए ।

त्यहाँ ३७ दिन राखेर यहाँको भिसा लगाएर हामीलाई यहाँ सुरक्षाको काममा भनेर ल्याए । सुरुवातमा त २५ जना जति थियौँ हामी । उनीहरू मध्ये कतिपय काममा लागेका छन् । काममा लागेकाहरूसँग हाम्रो सम्पर्क छैन । अहिले हामी १० जना काबुलको एउटा होटलमा बसिरहेका छौँ । यहाँ बाँके, बर्दिया, सुर्खेत, सिन्धुपाल्चोक लगायतको ठाउँका साथीहरू छौँ ।

यहाँ आएर यसै बसेको पनि पाँच महिना पूरा भयो । होटलको कोठा भित्र छौँ । अहिले बाहिर निस्कन पाइँदैन । होटलको कोठामा बसेर नै समाचारहरू हेर्छौँ ।

यहाँ आएका मसहित मेरा साथीहरू धेरैजसो अवकाशप्राप्त प्रहरी, आर्मी हुनुहुन्छ । कतिपयले त राजीनामा दिएर समेत आउनुभएको छ ।

यहाँ आइपुगेका हामी सबैले एजेण्टलाई १७ देखि १८ लाख रुपैयाँसम्म बुझाएका छौँ । बढीमा एक महिनाभित्र काम लगाइदिन्छु भनेको थियो तर आज हुन्छ भन्छ, भोलि हुन्छ भन्छ । काम पाइएला भन्ने आसमा कुर्दा कुर्दै अहिले त ज्यान मात्रै पनि स्वदेश फर्कने हो कि होइन भन्ने चिन्ता सुरु भएको छ ।

बाहिर के भइरहेको छ आँखाले देखिएको छैन । तर जति समाचार हेर्‍यो, उति डर लाग्छ । हामी यहाँ बिचल्ली अवस्थामा छौँ ।

होटलले नै पाउरोटी दिन्छ, तरकारीमा आलु दिन्छ त्यही खाएर बाँचेका छौँ । बेलुका मैदाको रोटी बनाएको हुन्छ त्यही खान्छौँ । बिहान चामल र दुई चार वटा आलु दिन्छ त्यही पकाएर खान्छौँ । डेढ महिना भयो आलुभन्दा दोस्रो कुरा खान पाएको छैन । यहाँको स्थिति खराब छ । न भिसा छ, न त एजेण्टको भर । के गर्ने होला सोच्न सकेका छैनौँ ।

एजेण्टलाई हामीलाई घर फर्काइदिनुस् भन्दा यहाँबाट तिमीहरूलाई सुरक्षित स्थानमा लैजान्छु भन्छ । तर कहाँ लग्छ यो युद्ध भूमिबाट थाहा छैन ।

हामीलाई स्वदेश फर्कन पहल गरिदिनुहोस् भन्दा पनि यूएन आएर तिमीहरूलाई लैजान्छ भन्छ एजेण्टले । साँच्चै यूएन आउला त हामीलाई लिन ?

अफगानिस्तानमा अवस्था सामान्य हुँदासम्म एजेण्टले हाम्रो कागजपत्र लगेको थियो काम खोज्न भनेर । तर अहिले त त्यो कागजात पनि हामीलाई नै ल्याएर दिइसक्यो । कागजात हामीलाई दिएर एजेण्ट भने नेपाल फर्किसकेको हामीले बुझेका छौँ ।

तै पनि यहाँका अन्य एजेण्टलाई मैले उद्धारको लागि भनिरहेको छु । उसले आनाकानी गरिरहेको छ । उसले हाम्रो उद्धार गर्न मानेकै छैन । अहिले त स्थिति यस्तो छ कि हाम्रो भिसा सकिएको डेढ महिना भयो । विमानस्थल पनि बन्द छ । टिकट पनि छैन, जहाज पनि छैन । एजेण्टले भनेजस्तै यूएन हामीलाई लिन आउँछ कि आउँदैन भन्ने पनि थाहा छैन ।

घरतिर रूवाबासी छ
हाम्रो अवस्था यहाँ यस्तो छ । उता घरमा पनि अहिले त सबै कुरा थाहा भइसकेको छ । सम्झाउन त सम्झाएका छौँ । तर बाहिरको जुन परिस्थिति छ, जस्ता खबरहरू आइरहेका छन् । त्यसले परिवारलाई त्रसित बनाएको छ ।

परिवारलाई हामी चिन्ता छ । हामीलाई दुई तिरको । महिनाकै लाखभन्दा धेरै कमाइ हुन्छ भन्दै ल्याएर एजेण्टले यो हाल बनाइदियो । अब जसरी भए पनि घर फर्कन पाए हुने थियो । सरकारले हाम्रो उद्धार गर्छ गर्दैन थाहा छैन । तर आलु र पाउराेटी मात्र खाएर यसरी कति दिन बाँचिन्छ थाहा छैन ।

हामी यहाँबाट यही भन्छौँ कि हाम्रो पनि उद्धार गरिदिनुहोस्, यहाँ हाम्रो कोही छैन ।

(उज्यालो को लागि उमाकान्त पाण्डेले गर्नुभएको कुराकानीमा आधारित ।)

यो पनि पढ्नुहोस् : साइप्रसमा कुक को डिमाण्ड, तलब एक लाख २६ हजार

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like