प्रवास

अफगानिस्तानबाट ५०४ जना नेपाली स्वदेश फर्किए

शेयर गर्नुहोस्

अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुग्ने नेपालीको संख्या ५०४ पुगेको छ ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौंसम्म ल्याउनका लागि समन्वय र सहजीकरण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी कन्सुलर सेवा विभागको वेभ पोर्टलमा साँझ ५ बजेसम्म ३५६ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गरेका छन् ।

मन्त्रालयले हाल उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग उद्धारका लागि सहकार्य र समन्वय भैरहेको समेत जनाएको छ।

त्यस्तै अफगानिस्तानमा रहेका नेपालीहरुको संख्या एकिन गरी उद्धार गर्न आइतबार मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखहरुको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदलको बैठकले समेत सम्पन्न भएको छ ।

बैठकमा अफगानिस्तानमा बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरूसँगको समन्वय, उद्धारपछिको स्वदेश फिर्ती आदिको अद्यावधिक र पछिल्लो अवस्था बारेमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा रहेका नेपालीमध्ये हालसम्म कूल ३०० जनाले आफूहरु स्वदेश फर्कन चाहेको भन्दै विवरण टिपाएका छन् । कन्सुलर सेवा विभागको वेब पोर्टलमा आज साँझसम्म उक्त सङ्ख्याका नेपालीले आफ्नो विवरण टिपाएका हुन् ।

यसैगरी परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखाअन्तर्गत नायब शिष्टाचार महापालको नेतृत्वमा रहेको ‘सिच्युसन रुम’ मा तोकिएका मोबाइल नम्बर तथा इमेल ठेगानामा आज साँझ ५ बजेसम्म ४२ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् ।

त्यसमा कतिपयको नाम र राहदानी नम्बर दोहोरिएको छ भने कतिपयको एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको छ । कतिपयको उद्धार भई सुरक्षित गन्तव्यमा पुगिसकेकाले रुजु गरी बाँकीको उद्धारका लागि काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रसँग सहकार्य र समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल आइपुगेका नागरिकको अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उनीहरुलाई सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखिएको छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।