साइप्रस न्युज

युट्युवबाट कसरी भिडिओ र mp3 डाउनलोड गर्ने ? हेर्नुस् सजिलो ५ तरिका

शेयर गर्नुहोस्

युट्युव टु एमपी थ्री कन्भर्टरले युट्युवमा रहेका भिडिओबाट अडियो फाइल छुट्याउने र त्यसलाई एमपी थ्रीको रुपमा डाउनलोड गर्ने सुविधा दिने गर्दछन् । कहिलेकाहीँ तपाईंलाई भिडिओ हेर्ने भन्दा अडियो सुन्ने रहर लाग्न सक्छ ।

त्यसो त अहिलेको समयमा यस्ता कयौं विकल्प छन्, जसको सहयोगमा तपाईंले सशुल्क रुपमा अडिओ म्युजिक सुन्न सक्नुहुन्छ । जसमा युट्युव प्रिमियम, स्पोर्टिफाई, एप्पल म्युजिक, अमेजन प्राइम म्युजिक जस्ता एपहरू तपाईंको विकल्प हुन सक्छन् ।

तर पैसा तिरेरै अडियो म्युजिक सुन्नुपर्छ भन्ने बाध्यता भने छैन । यदि तपाईं कुनै पनि भिडिओमा रहेको अडियो अलग गरेर सुन्न चाहनुहुन्छ भने त्यसलाई एमपी थ्रीमा कन्भर्ट गर्न सक्नुहुन्छ ।

यसका लागि केही वेबसाइट उपलब्ध छन्, जसको सहयोगमा तपाईंले युट्युवमा रहेका भिडिओबाट अडियो अलग गरी डाउनलोड गर्न सक्नुहुन्छ । आज हामी त्यस्तै प्रकारका केही वेबसाइटको बारेमा बताउँदै छौँ ।

१. फोरके भिडिओ डाउनलोडरः 4k video downloader

फोरके भिडिओ डाउनलोडरबाट तपाईंले अनेक किसिमका सुविधा लिन सक्नुहुन्छ । विन्डोज, म्याक ओएस, लिनक्स र एन्ड्रोइडका लागि उपलब्ध फोरके भिडिओ डाउनलोडर निकै उपयोगी छ ।

यसले तपाईंलाई फेसबुक, इन्स्टाग्राम, भिमियो, युट्युव र टिकटक जस्ता विभिन्न प्लेटफर्मबाट भिडिओ, अडिओ र सबटाइटल डाउनलोड गर्ने मौका दिन्छ । यसका साथै तपाईंले म्युजिक भिडिओ र अडियोका साथै च्यानलको समग्र प्लेलिस्ट समेत डाउनलोड गर्ने सुविधा समेत यसमा पाउन सक्नुहुन्छ ।

तपाईंले यसको सहयोगमा डाउनलोड गरेका भिडिओ एडिट गर्नुका साथै स्लाइड शो समेत गर्न सक्नुहुन्छ । यसको सेवा प्रयोग गर्न पनि निकै सजिलो छ ।

यसका लागि सबैभन्दा पहिला फोरके भिडिओ डाउनलोडर एप खोल्नुहोस् र एड भिडिओ लेखिएको स्थानमा थिच्नुहोस् । जब तपाईं एक पटक भिडिओ कन्भर्ट गर्नका लागि एड गर्नुहुन्छ, स्वतः भिडिओलाई अडिओ बनाउने काम सुरु हुन्छ ।

यो प्रक्रिया पुरा भएसँगै तपाईंले शो इन फोल्डरमा जानुपर्ने हुन्छ । जहाँ तपाईंले कन्भर्ट भएका सबै अडियो ट्रयाक फेला पार्न सक्नुहुनेछ ।

२. वन्डरशेयर युनिकन्भर्टरः wondershare uniconverter

विन्डोज, म्याक ओएस, एन्ड्रोइड र आईओएसमा उपयोग गर्न सकिने यो प्लेटफर्मले आफ्नो डाउनलोड स्पिड उत्कृष्ट रहेको दाबी गर्दै आएको छ । दाबी अनुसार अन्य यस्तै प्रतिस्पर्धीको तुलनामा वन्डर शेयर युनिकर्भर्टर ३० गुणा फास्ट छ ।

यसले त्यस्ता व्यक्तिहरूका लागि अनेक सुविधा दिन्छ, जो आफूले डाउनलोड गरेका भिडिओ तथा अडियो ब्लु-रे क्वालिटीमा एडिट गर्न चाहन्छन् । यो सेवा प्रयोग गर्नका लागि सबैभन्दा पहिला यसको एप खोल्नुहोस् र बायाँतर्फको प्यानलमा कन्भर्टरको विकल्प रोज्नुहोस् ।

त्यसपछि कन्भर्सन ट्यावमा एड फाइल बटनमा दबाउनुहोस् र आफूले अडियोमा बदल्न खोजेका सबै भिडिओ फाइललाई इम्पोर्ट गर्नुहोस् । अब स्क्रिनको तल आउटपुट फर्म्याट ट्याबमा क्लिक गर्नुहोस् ।

त्यसपछि एउटा पपअप विन्डो खुल्छ, जसमा अडियो सेक्सन देख्नु हुनेछ । त्यसमा क्लिक गरेर बायाँतर्फ रहेको एमपी थ्री विकल्प चयन गर्नुहोस् । त्यहाँ तपाईंले फरक फरक बिटरेटको विकल्प पाउनु हुनेछ ।

आफ्नो रोजाइ अनुसारको अगाडि बढ्नुहोस् । त्यसपछि कन्भर्सन गर्नका लागि स्टार्ट अल लेखिएको स्थानमा थिच्नुहोस् । यो प्रक्रिया पुरा भएसँगै तपाईंले डायलग बक्सको फाइल लोकेसन सेक्सनको अघिल्लो फोल्डरमा कन्भर्ट भएका सबै फाइल पाउन सक्नुहुनेछ ।

३. स्न्यापडाउनलोडरः snapdownloader

यो कन्भर्टर विन्डोज र म्याक ओएसमा प्रयोग गर्न सकिन्छ । भिडिओबाट अडियो निकाल्नका लागि लोकप्रिय मानिने यो टुलबाट तपाईंले युट्युव भिडिओ समेत डाउनलोड गर्न सक्नुहुन्छ ।

यसको सहयोगमा तपाईंले युट्युवबाट हाई क्वालिटी भिडिओ सहजै डाउनलोड गर्न सक्नुहुन्छ । २४ घन्टाको फ्रि ट्रायलको रुपमा प्रयोग गर्न सकिने यो टुलका लागि त्यसपछि भने निश्चित शुल्क तिर्नुपर्ने हुन्छ ।

हालका लागि मोबाइल प्लेटफर्ममा मात्र उपलब्ध स्न्यापडाउनलोडर प्रयोग गर्न निकै सहज छ । यसका लागि आफूले चाहेको भिडिओको यूआरएल कपी गर्नुहोस् र स्न्यापडाउनलोडर खोल्नुहोस् ।

स्न्यापडाउनलोडरमा त्यसलाई पेस्ट गर्नुहोस् र सर्च बटन दबाउनुहोस् । त्यहाँ तपाईंले कन्भर्सनका सबै विकल्प पाउन सक्नुहुनेछ ।

त्यसो त उत्तम गुणस्तर पहिले देखि नै छनौट गरिएको हुन्छ । तर पनि तपाईंले आफू अनुकुलको क्वालिटी छनौट गर्ने सुविधा समेत पाउनु हुनेछ । कन्भर्सन पुरा भएपछि डाउनलोड नाउमा क्लिक गर्नुहोस् ।

४. फ्रिमेकः free make

यो एउटा यस्तो कन्भर्टर टुल हो, जसलाई केवल विन्डोज कम्प्युटरमा मात्र प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताका लागि यसको सबैभन्दा सकारात्मक पक्ष भनेको यसले प्रयोगकर्ताको आवश्यकताको आधारमा भिडिओ तथा अडियोको निश्चित भागलाई निकाल्ने सुविधा दिन्छ ।

विभिन्न देशमा गरी यसका नौ करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन् । भिडिओ एडिटिङको मामिलामा यो टुलले आफ्ना प्रतिस्पर्धीको तुलनामा निधै धेरै सुविधा दिने गर्दछ ।

यदि तपाईं फरक फरक प्लेटफर्मबाट भिडिओ डाउनलोड गर्न र एडिट गर्न चाहनुहुन्छ भने तपाईंले यसबाट आफ्नो इच्छाअनुसार इफेक्ट राख्न, भिडिओ काट्न, घुमाउन र तोडमोड गर्न सक्नुहुन्छ । यसको प्रयोग गर्न सुरुमा फ्रिमेकको वेबसाइट खोल्नुहोस् र त्यसमा आफूले डाउनलोड गर्न चाहेको भिडिओको यूआरएल राख्नुहोस् ।

यसमा तपाईंले एक पटकमा केवल एउटा मात्र भिडिओ छनौट गर्न पाउनुहुनेछ । अब स्क्रिनको तल दिइएको टु एमपी थ्री लेखिएको बटनमा क्लिक गर्नुहोस् । त्यहाँ उपलब्ध एमपी थ्री बिट रेट र क्वालिटीका साथै डायलग बक्स देखिनेछ ।

आफ्नो रुचि अनुसार छनौट गरी अगाडि बढ्नुहोस् । यसमा तपाईंले एमपी थ्री प्रिसेट एडिटर टुलको प्रयोग गरेर आफ्नो प्रिसेट समेत तयार पार्न सक्नुहुन्छ ।

जब तपाईं एक पटक सेटिङ तयार पार्नुहुन्छ, त्यसपछि कन्भर्टरमा क्लिक गर्नुहोस् । प्रक्रिया पुरा भइसकेपछि तपाईंले त्यसको नोटिफिकेसन समेत पाउनु हुनेछ ।

५. वाईटीडी भिडिओ डाउनलोडरः

युट्युवबाट भिडिओ डाउनलोड गर्ने यो एउटा उपयुक्त माध्यम हो । विन्डोज, म्याक, एन्ड्रोइड र आईओएसका लागि उपलब्ध यो टुलको निःशुल्क भर्सनमा यति धेरै फिचर उपलब्ध छन् कि तपाईंलाई सशुल्क भर्सनको आवश्यकता नै पर्दैन ।

यसमा तपाईंले बेला बेलामा अपडेट समेत पाउनु हुनेछ । यो टुल त्यस्ता प्रयोगकर्ताका लागि अझ बढी उपयोगी छ, जसको इन्टरनेट स्पिड स्लो छ ।

यसलाई प्रयोग गर्न सुरुमा वाईटीडी भिडिओ डाउनलोडरको डाउनलोड खन्डमा जानुहोस् र आफूले चाहेको भिडिओको यूआरएल राख्नुहोस् । जब भिडिओ डाउनलोड हुन्छ, त्यसपछि नेक्स्टमा जानुहोस् ।

त्यसपछि भिडिओ फाइललाई कन्भर्ट ट्याबमा ब्राउज गरेर छनौट गर्नुहोस् । त्यसपछि त्यहाँ दिइएको सूचीबाट एमपी थ्री छनौट गर्नुहोस् र कन्भर्टमा दबाउनुहोस् ।

यो पनि पढ्नुहोस् :

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *