प्रवास

एक नेपाली हाउसमेडलाई इम्प्लोयरले गर्भवती बनाएर नेपाल फर्काएपछि

शेयर गर्नुहोस्

मोरङकी २९ वर्षीया ललिता मगर (नाम परिवर्तन) दुई वर्षअघि कुवेतका लागि उडेकी थिइन् । तर, पुर्‍याइयो- इराक । घरेलु कामदारका रूपमा लगिएकी उनी यौन हिंसामा परिन् । दुई साताअघि ललिता चार महिनाको गर्भ बोकेर स्वदेश फर्किइन् ।

वैदेशिक रोजगारीका लागि उनी भारत हुँदै २०७६ कात्तिकमा कुवेत पुगेकी थिइन् । परिवारको आर्थिक स्थिति कमजोर रहेकाले भरथेगका लागि विदेशिएकी उनलाई दलालले कुवेत हुँदै इराक पुर्‍याए ।

‘कुवेत पुगेको दुई सातामै घरेलु रोजगारीका लागि भन्दै इराक लगे,’ ललिताले शिलापत्रसँग भनिन्, ‘जहाँ गए नि कामै गर्ने हो भनेर इराक गएँ तर नसोचेको सास्ती सहेर यस्तो हालतमा फर्किनुपर्‍यो ।’

ललिताको परिवार भोजपुरबाट मोरङ बसाइँ सरेको हो । परिवारमा शारीरिक अपाङ्गता भएका एक जना भाइ छन्, अर्की बहिनी सुस्त मनस्थितिकी ।

भाइबहिनीका लागि पनि उनले कमाउनुपर्ने भयो । धरानका विश्व राई र झापाका पाण्डव लिम्बुले ९० हजार पैसा लिएर उनलाई भारत हुँदै कुवेत पठाएका थिए ।

‘रहरले विदेश त को जान्थ्यो र ? पैसा कमाउन इराक गएकी थिएँ, ठूलो पीडा भोगेर फर्किएँ,’ उनले भनिन् ।

उनी इराकमा घरेलु कामदार थिइन्, त्यही घरको मालिकले यौन शोषण गर्न थाले । कतै हारगुहार गर्ने ठाउँ पनि उनले पाइनन् । जे गरे पनि सहनुपर्‍यो ।

ललिताले रोजगारीको तलब त पाइन्, त्योभन्दा यौन हिंसामा परेर मालिकको गर्भ बोकेर घर फर्किनुपर्‍यो । ‘धेरै सपना बोकेर विदेश गएकी थिएँ । तर, यस्तो भयो,’ उनका आँखा रसाए ।

दुई साताअघि नेपाल फर्किएकी ललिता वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका महिलाहरूको उद्धार गर्ने एक सेल्टरमा छिन् ।

गर्भ बोकेर फर्किँदा इज्जत जाने डरले उनी घर जान सकेकी छैनन् । परिवारलाई नेपाल आइपुगेको पनि बताएकी छैनन् ।

रोजगारदाता मात्र होइन, इराकमा उनी अरुबाट पनि शारीरिक शोषणमा परिन् ।

काम गर्ने घरका दुई दाजुभाइले समेत आफूमाथि जबर्जस्ती गरेको ललिता बताउँछिन् । ‘उनीहरूले निरन्तर शारीरिक शोषण गरे, म बाध्यतामा परेँ,’ उनले भनिन्, ‘पेटमा बच्चा छ भन्ने थाहा पाएपछि बल्ल उनीहरू झस्किए ।

उनीहरूले पैसा दिन्छु, नेपालमै गएर गर्भपतन गराऊ भनेर नेपाल फर्काए ।’ नेपाल फर्किने खर्चसमेत उनीहरूले नै ब्यहोरेको ललिता बताउँछिन् ।

यो पनि पढ्नुहोस् :

साइप्रस आउने नेपाली यसरी ठगिन्छन्, तुहिन्छ सपना…..

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *