देश विदेश

त्रिभुवन विमानस्थलबाट दुई करोड बढीका गरगहनासहित दुई पक्राउ

शेयर गर्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई सुनसहित पक्राउ गरेको छ।

सोमबार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनाको ब्याग चेक गर्दा तीन किलो तीन सय ६० ग्राम सुनका गरगहनासहित पक्राउ गरेको हो।

आन्तरिक उडानबाट विराटनगर जान लागेका कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीबाट सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।

उनीहरूको ब्याग एक्सरे मेसिनमा देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

विमानस्थलका अनुसार दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरका गरगहना छन्।

थप अनुसन्धानको लागि उनीहरूलाई प्रहरीले राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाएको छ।

 भदौ १८ गते  पनि चार केजी अवैध सुन सहित २ जना पक्राउ  परेका थिए 

बाँके प्रहरीले भदौ १८ गते शुक्रबार दिउँसो नेपालगञ्ज विमानस्थलबाट चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई पक्राउ गर्‍यो। सुनसहित पक्राउ पर्नेहरू काठमाडौंबाट श्री एयरलाइन्सको जहाजमा नेपालगन्ज गएका थिए। बाँके प्रहरीका अनुसार उक्त सुन झापा खुदुनाबारीका २६ वर्षीय लगुन विश्वकर्मा र मोरङ लेटाङका २८ बुद्धिमान खातीले जुत्ताको तलुवामा राखेर नेपालगञ्ज पुर्‍याएका हुन्।

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले पक्राउ पर्नेहरू सुन बोक्ने भरिया भएको बताए। ‘उक्त सुन नेपालगञ्जका व्यापारीको हो, तीन जना व्यापारीको नाममा बिल काटिएको छ’ अधिकारीले भने, ‘बिल पनि शंकास्पद छ ।’ व्यापारीको नाम उनले खुलाउन चाहेनन् । ‘थप सोधपुछ गरेर सुनसहित उनीहरूलाई राजश्व अनुसन्धान कार्यालयमा बुझाउँछौ’ अधिकारीले भने,‘आवश्यक अनुसन्धान र कारवाही राजश्व अनुसन्धानले नै गर्छ ।’

५ मिनेटको सूचना
श्री एयरलाइन्सको जहाजमा दुई जनाले सुन ल्याएर नेपालगञ्ज आउँदैछन् भन्ने सूचना प्रहरीलाई जहाज अवतरण हुनुभन्दा पाँच मिनेट अघिमात्रै पुगेको थियो। प्रहरी उपरीक्षक अधिकारीले काठमाडौंबाट आएको विशेष सूचनाका आधारमा उक्त सुन बरामद गरिएको बताए।

‘दुई जना युवा सुन ल्याएर जहाजमा आउँदैछन् भन्ने सूचना आएपछि सबै यात्रुलाई निगरानीमा राखियो’ अधिकारीले भने, ‘जुत्तामा सुनको बिस्कुट राखेकाहरूलाई हिँडडुल गर्नै अफ्ठेरो भएजस्तो देखिएपछि खानतलासी गर्दा सुन भेटिएको हो।’

प्रहरीका अनुसार लगुनले लगाएको दुवै जुत्ताको तलुवामा २/२ बिस्कुट र बुद्धिमानले लगाएको जुत्ताको तलुवामा १/१ बिस्कुट गरी ६ थान बिस्कुट भेटिएको हो। जुत्ताको तलुवामा लुकाएको उक्त सुन ३ किलो ९९४ ग्राम र बुद्धिमानले बोकेको झोलामा तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थानको (तौल २७.४९ ग्राम) गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन भेटिएको बाँके प्रहरीले जनाएको छ।

कसरी छिर्‍यो विमानस्थलबाट सुन?
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै छिरेको चार केजी बढी सुन नेपालगञ्जमा समातिएपछि सुरक्षा व्यवस्थामाथि फेरि प्रश्न उठेको छ। अवैध सुन तस्करीका थुप्रै घटनामा प्रश्न चिन्ह खडा हुने विमानस्थलको सुरक्षा व्यवस्थामाथि यस पटकको सुनकाण्डले पनि प्रश्न उब्जाएको छ।

कडा चेकजाँच हुने विमानस्थलबाट सहजै सुन नेपालगन्ज पुग्नुले कतै सुरक्षाकर्मीकै मिलेमतो हो की भन्ने पनि आशंका उब्जिएको छ। त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले विमानस्थल भएर नेपालगञ्ज सुन पुगेको घटनाबारे अनुसन्धान भइरहेको बताए।

‘विमानस्थलबाट नै कसरी सुन छिर्‍यो हामी अनुसन्धान गर्दैछौँ’, बास्तोलाले भने, ‘अनुसन्धान नगरेरै केही भन्न सकिदैन।’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले विमानस्थलबाट सुन छिरेर नेपालगञ्ज भेटाएकोबारे समाचार पढेर थाहा पाएको बताए। उनले त्यसबारे आफूले बुझ्ने प्रतिक्रिया दिएका छन्।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “त्रिभुवन विमानस्थलबाट दुई करोड बढीका गरगहनासहित दुई पक्राउ

Comments are closed.