देश विदेश

को बन्लान् यसपालिको कमेडी च्याम्पियन?

शेयर गर्नुहोस्

लोकप्रिय रियालिटी सो ‘कमेडी च्याम्पियन’ दोस्रो सिजनको सबभन्दा महत्वपूर्ण क्षण नजिकै आइपुगेको छ। भोलि, असोज २ गते टप-३ मध्येबाट विजेता घोषणा हुनेछन्।

प्रतिस्पर्धी भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापामध्ये को बन्लान् त दोस्रो कमेडी च्याम्पियन?

यो प्रश्नले कलाकारसँगै उनीहरूका आफन्तजन र शुभेच्छुकको मनमा खुल्दुली जगाएको छ। तपाईं पनि विजेता को बन्लान् भनेर पक्कै उत्सुक हुनुहुन्छ होला।

धेरैले अनुमान लगाउँदै आएको यो विषयमा आउनुस् हामी पनि एकछिन चर्चा गरौं।

कमेडी च्याम्पिनयको टप-३ मध्ये भरतमणि सबैभन्दा बलिया दाबेदार मानिन्छन्। प्रशंसकदेखि कमेडी च्याम्पियनका निर्णायकहरूले भनिसके, ‘कमेडी च्याम्पियन सिजन-२ जिते पनि नजिते पनि भरतमणिले बाजी मारी सके।’

भरतमणिको क्षमता र चर्चा हेर्दा हो पनि। भरतमणि सिजन-२ मा अरूमाथि हाबी भएका कलाकार हुन्। उनी मिमिक्रीमा निपूण छन्। पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति निकै रूचाइए।

आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले अत्यधिक रूचाएका छन्। आत्मविश्वासका साथ स्टेजमा उत्रिने उनी पूर्वेली लवजमा सहजताका साथ कमेडी गर्न सक्छन्।

त्यसैले उनी आफ्ना सबै प्रस्तुतिमार्फत दर्शकलाई बाँधिराख्न र अपिल गर्न सफल रहे। मासअपिल गर्न सक्नु भरतमणिको बलियो पक्ष हो। यही कारण उनी प्रतियोगिताभर अरूमाथि हाबी भइरहे भन्दा फरक पर्दैन।

यसमा उनको पूर्वअनुभवले पनि साथ दियो। ताप्लेजुङवासी उनी रेडियो तमोरमा ‘टेन्सन-फ्री’ कार्यक्रम चलाउँथे। यही कार्यक्रममार्फत उनले पूर्वाञ्चल हुँदै काठमाडौंसम्म आइपुग्ने आधार बनाएका हुन्।

उनले भद्रगोल टेलिशृंखलामा समेत अभिनय गरेका छन्। कमेडी च्याम्पियन-२ का निर्णायकमध्ये एक मनोज गजुरेलसँग लामो संगत गरेका उनीसँगै भरतमणिले रेडियो नेपालमा कायर्क्रमसमेत चलाएका थिए।

यस्तै अनुभवले उनलाई कमेडी च्याम्पियनमा खारिएको प्रस्तुति दिन सक्षम बनाएको हो। पटक-पटक ‘पर्फमर अफ द शो’ बनेका उनी कमेडी च्याम्पियन बन्न सफल भए पनि धेरैका लागि अप्रत्याशित हुने छैन।

टप-३ मा भरतमणिसँगै भारत सिक्किमवासी विक्की अग्रवालको चर्चा पनि कम छैन।

कलाकारमा मनोरञ्जन गराउने खुबीसँगै सिर्जनशील प्रस्तुति दिने चुनौती पनि हुन्छ। यसका लागि कलाकारले चुनौती मोल्ने जोखिम मोल्न सक्नु पर्छ। कमेडी च्याम्पियनको दोस्रो सिजनमा विक्कीले यस्तै जोखिम मोल्ने साहस देखाएर चर्चा कमाएका छन्।

टप-३ मा पुग्नुअघिको प्रस्तुतिमा विक्कीले ‘पेन्टोमाइम’ अभिनय रोजे। उनको यो रोजाइ सबै निर्णायकका लागि जोखिमपूर्ण लाग्यो। अरूले यो जोखिमको सरहाना गरे पनि निर्णायक सन्तोष पन्तका लागि यो कमेडी नै भएन। उनले विक्कीको प्रयोग स्वीकारेनन्। बरू आलोचना गरे।

पन्तले भने, ‘हाम्रो हाँस्ने स्टाइल र विदेशीको हाँस्ने स्टाइलमा फरक छ। यो प्रयोग तिम्रो लागि गाह्रो पर्न सक्छ। हाम्रो समाजले यसलाई बुझ्दैन, मैले त बुझिनँ। फिलोसोफी त भयो तर तिम्रो प्रस्तुति हेरेर कोही हाँस्यो त? यहाँ त कोही हाँसेन। हाम्रो आफ्नै स्टाइल छ। यसलाई फलो गर।’

भरिलो आँखा लिएर विक्की बोले, ‘मलाई पेन्टोमाइम अभिनय गरेकामा कुनै पनि पश्चाताप छैन। कमेडी च्याम्पियनको सेटमा म जित्नभन्दा पनि केही नयाँ गर्न आएको हुँ।’

धेरै दर्शकले निर्णायक पन्तको प्रतिक्रियामा आपत्ति जनाएपछि विक्कीको यो प्रस्तुति युट्युबमा केही दिनसम्म निरन्तर ट्रेन्डिङमा थियो।

यो विवादले विक्कीलाई फाइदा नै गर्‍यो। पेन्टोमाइमको प्रस्तुतिपछि धेरैले विक्कीको पक्ष र निर्णायक सन्तोष पन्तको विपक्षमा आफ्ना मत दिए। मुख्यतः भोटका आधारमा विजेता घोषणा गरिने रियालिटी सो भएकाले यस घटनापछि विक्कीले पाउने भोटमा पनि प्रभाव पार्ने अनुमान गर्न सकिन्छ।

भरतमणिजस्तै विक्की पनि अनुभवी कलाकार हुन्। उनी सिक्किमका स्टेजहरूमा यसअघि नै लोकप्रिय छन्। सिक्किमबाट कमेडी च्याम्पियनको सेटमा जित्नभन्दा पनि केही नयाँ गर्न आएको बताएका विक्कीले सिक्किम र नेपाल दुबैतिरका दर्शकको भोट पाएका छन्। विक्कीको सबल पक्ष हो।

यसले उनले कमेडी च्याम्पियन-२ को विजेता बनायो भने अचम्म हुने छैन।

कमेडी च्याम्पियन बने पनि नबने पनि विक्कीले धेरैको मन जितेका छन्। निर्णायकहरूको भरमार प्रशंसा पाएका छन्। देशको सीमा नाघेर आएका विक्की नेपाल र सिक्किमलाई जोड्ने प्रिय कलाकार बनिसकेका छन्।

टप-३ मा पर्नु स्वत: विजेताको हकदार हुनु हो। तर आजको मितिसम्म टप-३ मा परेका सन्तोष थापालाई धेरैले यसको दाबेदार नमानेको महसुस हुन्छ।

उनी कमेडी च्याम्पियनको यो सिजनका ‘अन्डररेटेड’ प्रतिस्पर्धी हुन् तर कमजोर प्रतिस्पर्धी होइनन्।

उनलाई न निर्णायकले पत्याएका थिए न दर्शकले। तर कमेडी च्याम्पियनको मञ्चलाई सबभन्दा बढी सदुपयोग सन्तोषले नै गरेका छन्। अनुभवी भरतमणि र विक्कीको तुलनामा सन्तोषको ‘प्रोगेस ग्राफ’ निरन्तर उकालो लागेको देखिन्छ।

नाटकमा केही काम गरेको अनुभव भए पनि सन्तोष प्रहरी बन्न हिँडेका थिए, तर बन्नु रहेछ कमेडियन। कुनै बेला डिप्रेसनबाट बाहिर निस्कन कमेडी हेर्ने उनी कमेडी च्याम्पियनको पहिलो सिजनका प्रस्तुति हेरेर सोमा आउन लालयित भएका हुन्।

अरूको देखेर सिक्न सक्ने उनले हरेक नयाँ प्रस्तुतिलाई अघिल्लो प्रस्तुतिभन्दा उत्कृष्ट बनाउन प्रशस्त मेहनत गरे। उनको प्रस्तुतिलाई निर्णायकले सराहना गर्दै गए।

उनको क्षमता देखेरै दर्शकले पनि माया दिएर भोट गरे। टप-३ मा आइपुग्दासम्म सन्तोषले प्रहरी, डन, पानीको जार बोक्ने मानिस, म्यान पावर कम्पनीवालासम्मको भूमिकामा दर्शकलाई हसाए। सामाजिक सन्दर्भका व्यंग्य जोडे।

‘नेपाली टिचर’ उनको सर्वाधिक मन पराइएको प्रस्तुति हो।

उनी दमदार प्रस्तुतिका आधारमा फाइनल आइपुगेका हुन्। गोरखाका सन्तोष जसरी अरूलाई अचम्मित पार्दै अन्तिम तीनमा परे, त्यसरी नै विजेता बने भने अर्को सर्प्राइज हुनेछ।

भोटका आधारमा आउने परिणाममा यस्तो सर्प्राइज वाञ्छित छ।

भरतमणि र विक्कीको तुलनामा कम चर्चा भए पनि यो सिजनपछि सन्तोषको जुझारूपन र मेहनत पछिसम्म स्मरणीय रहनेछ।

रियालिटी सोहरूमा हुने भोटमा स्थानीयता र क्षत्रीयताको प्रभाव देखिँदै आएको छ। कमेडी च्याम्पियनका टप-३ कलाकारको ‘होम टूर’ को प्रभाव पनि यसमा पर्ने देखिएको छ।

सन्तोषको होम टूरपछि उनको परिवारको कमजोर आर्थिक अवस्थाको कथा पनि बाहिरिएको छ। यसले पनि सन्तोषले पाउने भोटमा असर पार्ने सम्भावनाबारे चर्चा भइरहेको छ।

त्यसपछि कमेडी च्याम्पियनले दोस्रो विजेता पाउने छ। रियालिटी सो आइतबार कान्तिपुर टेलिभिजनमा लाइभ प्रसारण हुँदैछ। कमेडी च्याम्पियनको यो सिजनमा सुरूमा डिजिटल अडिसन र पछि फिजिकल अडिसन गर्दै २४ जना सहभागी छनौट गरिएको थियो।

पहिलो विजेताले २५ लाख रूपैयाँ र कार पाउने छन् भने दोस्रोले मोटरसाइकल र तेस्रोले स्कुटर पाउने छन्।

विजेता को होला भन्ने अनुमान र सम्भावनाका कुरा सकिएर नतिजा सार्वजनिक हुन अब केही घन्टा मात्र बाँकी छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *