एक हाउसमेड जो बिदा र तलब नपाई १२ वर्ष काम गर्न बाध्य भइन्

शेयर गर्नुहोस्

लेबनानबाट फोन आउँदा गजबहादुर मोक्तानले छोरी साल्मोमायालाई भनिरहेका हुन्थे– ठूली घर फर्क । १९ वर्षको उमेरमै घरेलु कामदार (हाउसमेड) को काम गर्न लेबनान पुगेकी साल्मोमाया भने खाली हात घर फर्किने आँट नभएको जवाफ दिने गर्थिन् ।

आफ्नो पारिश्रमिक कुर्दा–कुर्दा साल्मोमायाको १२ वर्ष तीन महिना बित्यो । अहिले उनले न्यूनतम तलबबापत कम्तीमा १८ हजार डलर (करिब २१ लाख ४२ हजार रुपैयाँ) तलब पाउन बाँकी छ ।

यसमा वार्षिक विदाबापत पाउने तलब भने जोडिएको छैन ।

काभ्रेको महाभारत गाउँपालिका–७ की साल्मोलाई दलालले श्रमस्वीकृति नलिई २०६६ जेठ १५ मा लेबनान पठाएको थियो । त्यही दिनदेखि नै उनी राजधानी बेरुतस्थित ९२ वर्षीय फारुक खादोरको घरमा काम गर्दै आइरहेकी थिइन् ।

‘छोरीको १२ वर्षको कमाइ भनेको अहिलेसम्म ३ हजार ७ सय डलर मात्रै पाएका छौं,’ गजबहादुरले भने, ‘अरू पैसा साहुको हातमा छ ।’

उनलाई सुरु महिनाको मासिक तलब १ सय ५० डलर दिइएको थियो । एक वर्षपछि २ सय डलर पुर्‍याइयो ।

त्यसपछि तलब दिन छाडियो । लेबनानमा लामो समय काम गरिसकेका घरेलु कामदारले ४ सय डलर तलबसम्म पाउने गरेका छन् ।

तलब नपाएको थाहा पाएपछि गजबहादुरले साल्मोलाई लेबनान पुगेको ५ वर्षदेखि नै फिर्ता बोलाउन थालेको थिएँ ।

‘अरूका छोराछोरी विदेश गएको दुई वर्षपछि आउँदै–फर्किंदै गरेको देख्छु । आफ्नो छोरी आउने नै होइन । उसलाई आऊ भन्छु तर उसको मालिकले पासपोर्ट दिँदैन, तलब–खर्च पनि दिँदैन,’ उनले भने, ‘छोरी घरबाहिर पनि निस्कन नपाउने, साथीभाइसँग पनि भेटघाट गर्न नपाउने स्थिति बन्यो । पूरै अँध्यारो कोठामा राखेको जस्तो भयो ।’

तलबसहित स्वदेश आउने स्थिति नदेखेपछि गजबहादुरले उद्धार गरी पठाइदिन कन्सुलर विभागमा निवेदन दिएका छन् ।

लेबनानस्थित अवैतानिक महावाणिज्यदूतको कार्यालयका अनुसार ३१ वर्षीया साल्मोलाई दुई महिनाअगाडि नै उद्धार गरी कारितासको सेल्टरमा राखिएको छ ।

‘साल्मोलाई १० वर्षभन्दा बढी समयदेखि तलब नदिई घरमै श्रमशोषण गरी राखिएको रहेछ । हामीले घरबाट उद्धार गरी सेल्टरमा लगेर राखेका छौं,’ अवैतानिक महावाणिज्यदूत मोहम्मद घौजायलले भने, ‘लेबनानको न्यायिक निकायसँग पैरवी गरिरहेका छौं ।’

अवैतानिक महावाणिज्यदूतको कार्यालयले साल्मोका मालिकविरुद्ध अध्यागमन विभागमा तलबसहितको मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

यसमा दुई पटकसम्म छलफल गरे पनि मालिकले तलब दिन अस्वीकार गरेको साल्मोले बताइन् । ‘मालिकले सम्पत्ति बेचेर तलब दिन्छु भन्छ । अहिले नेपाल पठाइदिन्छु भन्छ,’ उनले भनिन्, ‘यत्रो वर्ष दिनरात नभनी काम गरेपछि तलब नलिई म घर फर्किन सक्तिनँ ।’

साल्मोले १२ वर्षसम्म आफूलाई बिर्सेर कठिनपूर्वक काम गर्दा पनि तलब नपाउँदा दुःख लागेको बताइन् ।

‘किन आएछु, कहाँ आएर फसेछुजस्तो लाग्छ,’ उनले भनिन्, ‘म जेलभित्र रहेको जस्तो लाग्छ । मालिक–मालिक्नीसँग मात्रै घरबाट बाहिर निस्कन पाइन्थ्यो । बिदा कहिले लिन पाइनँ । घरमा नियमित कुरा गर्न पैसा हुँदैन्थ्यो ।’ उनले आफूसँग आवासीय भिसा र वैधानिक राहदानी पनि नभएको बताइन् ।

‘पहिलो दुई वर्ष मात्रै भिसा लगाइदियो । त्यसपछि न मैले परिचयपत्र पाए न मेरो पासपोर्ट नै बन्यो,’ उनले भनिन् ।

मालिकले साल्मोविरुद्ध वकिल राखेर आफूलाई माफी दिन भन्दै मुद्दा लड्न थालेको छ । लेबनानमा कार्यरत घरेलु कामदारको अधिकारको पक्षमा लडिरहेका ‘दि इज लेबनान’ का संस्थापक दीपेन्द्र उप्रेतीले साल्मोका मालिक आर्थिक रूपमा बलियो भएकोले सहजै भाग्न नपाउने बताए ।

‘लेबनानमा घरेलु कामदारलाई शोषण गरेको पुष्टि हुँदा कुनै पनि रोजगारदातालाई जेल सजाय तोकेको मैले देखेको छैन । त्यसकारण कानुनी लडाइँको सट्टा सामाजिक प्रतिष्ठाको विषय उठाउँछौं ।

उनीहरू आफ्नो सामाजिक इज्जत/प्रतिष्ठाको बढी ख्याल गर्छन्,’ एनआरएनए लेबनानका संस्थापकसमेत रहेका उप्रेतीले भने, ‘साल्मोको मालिकलाई पनि आउँदो मंगलबारसम्म समय दिएका छौं ।

त्यो दिनसम्म पीडितसँग सहमति नगरे हामी सार्वजनिक अभियान थाल्नेछौं ।’

एनआरएनए लेबनानका अध्यक्ष अशोक थापाले आफूसँग दुई वर्षअगाडि नै साल्मो सर्म्पकमा आए पनि समस्या समाधान हुन नसकेको बताए ।

गजबहादुरले भने जसरी भए पनि तलब दिई उद्धार गर्न लेबनान सरकारलाई अनुरोध गरेका छन् । ‘१० वर्षको मिहिनेत हातमा पारिदिनुपर्‍यो,’ उनले भने ।

यो पनि पढ्नुहोस : साइप्रस आउने नेपाली हाउसमेड  यसरी ठगिन्छन्, तुहिन्छ सपना…..

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *