देश विदेश

नारायणहिटीबाट पूर्वराजाको श्रीपेच चोर्ने प्रयास असफल

शेयर गर्नुहोस्

रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् ।

नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार शुक्रबार अवलकोनका लागि संग्रहालय पुगेका मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच चोर्ने असफल प्रयास गरेका थिए ।

श्रीपेच रहेको सिसा फुटाउनका लागि घर्तीले उक्त कोठामा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास गरेका थिए । सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको दाहालले बताए ।

‘श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ । श्रीपेच रहेकै एकातर्फको भित्तामा सिसाको सोकेस छ । त्यो सिसाको सोकेस फुटाएर उनले खुकुरी झिकी श्रीपेच निकाल्ने प्रयास गरेको देखिन्छ’ दाहालले भने ।

उनका अनुसार सेना सुरक्षाका लागि लगातार खटिने भएकाले चोरीको जोखिम हुँदैन । ‘उनलाई श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेको हुनसक्छ,’ दाहालले भने, ‘उनको मानसिक अवस्था त्यति ठीक छैन कि भन्ने लागेको छ ।’

टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।

‘राजा बन्छु’ भन्दै घर्तीले श्रीपेच रहेको सोकेस फुटाएर निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको जानकारी आफूले पाएको एसपी सिंहको भनाइ छ । घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।