देश विदेश

विदेशबाट आउँदा कमिसनको लोभमा सुन ल्याइदिँदै हुनुहुन्छ ? पक्राउ पर्नुहोला !

शेयर गर्नुहोस्

कमजोर आर्थिक अवस्था सुधार्न खाडी पुग्नेहरु सुनको कमिसनको लोभमा घर नपुग्दै जेल पर्न थालेका छन् ।

सुन तस्करहरुले खाडीबाट स्वदेश फर्कने नेपालीहरुलाई सुन नेपाल पुर्‍याइदिए कमिसन दिने गरेका छन् । तर सोही अवैध सुन नेपाल ल्याउँदा प्रहरी चेकजाँचमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनीहरु पक्राउ पर्दै आएका छन् ।

सुन तस्करहरुले दुवइ, मलेसिया, कतारमा रहेका नेपालीहरुलाई घर फर्किने बेला सुन नेपाल पुर्‍याइदिएवापत कमिसन दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सुन तस्कर गर्नेहरुले घर फर्किन लागेका नेपालीहरुको खोजी गर्छन् ।

विमानस्थलमा विभिन्न समयमा काम गरिसकेका प्रहरी अधिकारीहरु भन्छन्,“गरिबीले विदेश गएकाहरु सानो लोभमा पर्छन् । त्यहाँ रहेका तस्करहरुले बाला, औँठी, सिक्री बनाएर सुन उनीहरुलाई भिराउँछन् । काठमाडौंमा तस्करका एजेन्ट आउँछन् सुन लैजान्छन् । त्यही क्रममा धेरैजसो पक्राउ पर्छन् । पक्राउ परेपछि कानुनी प्रक्रियामा जाँदा जेल समेत जान्छन् ।”

तस्करहरुले विदेशबाट सुन दिएर पठाउने नेपालीको फोटो, हुलिया सबै विवरण नेपालमा रहेका एजेन्टलाई पठाउँछन् ।

उनीहरुले भाइबर, ह्वाट्एपलगायतका सामाजिक सञ्जालको प्रयोग गर्दै फोटोसहितको विवरण पठाउँछन् ।

विमानस्थलमा एजेन्टहरु आउँछन् । विमानस्थलबाट बाहिरिनेबित्तिकै उनीहरुले सम्पर्क गर्छन् । सुन लिएर जान्छन् आवश्यक कमिसन दिन्छन् ।

उनीहरुले सुनको मात्रा हेरेर कमिसन दिने गरेको पटक–पटकको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोला तोकिएको मापदण्ड र अवैध रुपमा ओसारपोसार भएको सुनसहित प्रहरीले कयौंलाई पक्राउ गर्दै आएको बताउँछन् ।

उनका अनुसार धेरैजसो विदेशबाट काम गरेर स्वदेश फर्किनेहरुले तस्करको सुन बोकेर ल्याउँछन् भने कतिपय गिरोह भिजिट भिसामा गएर तस्करीमा लागेको समेत पाइएको छ ।

एसएसपी बास्तोला लोभमा परेर अवैध कारोबारमा संलग्न नहुन विदेशमा रहेका नेपालीलाई सुझाव दिन्छन् ।

आइतबार (हिजो) पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट १ सय ४९ दशमलव ५ ग्राम सुनको बाला ३ थान सहित २ जना पक्राउ परे ।

पक्राउ पर्नेहरुमा भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–७ ठेगाना भएका ३३ वर्षीय समुन्द्र दंगाल र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने संखुवासभा खाँदबारी नगरपालिका–११ ठेगाना भएका ४३ वर्षीय सन्तबिर राई रहेका छन् ।

समुन्द्रले सिंगापुर एयरलाइन्सको उडानद्वारा मलेसियाबाट सिंगापुर हुँदै काठमाडौं आएका यात्रुहरुलाई भन्सार छली गर्न उक्त परिमाणको धातु लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो ।

थप सोधपुछको क्रममा उक्त कार्यमा राई समेतको संलग्नता रहेको भन्ने खुल्न आएपछि राईलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

आइतबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ५० ग्राम सुन बाला १४ थान र सिक्री १ थान प्रहरीले बरामद गरेको छ ।

सिंगापुर र मलेसियाबाट काठमाडौं आएका यात्रुहरुलाई सुन बोकाई भन्सार छली गर्न लगाई काठमाडौं विमानस्थलमा संकलन गर्न लागेको भन्ने सूचनाको आधारमा सो सुन बरामद गरेको हो ।

सो क्रममा प्रहरीले विमानस्थलको विभिन्न स्थानहरुबाट शंकास्पद १५ जना यात्रुहरुको साथबाट सो सुन बरामद गरेको हो ।

अनुसन्धानको क्रममा उनीहरुलाई सुनका बाला तथा सिक्री मलेसियाको विमानस्थल र आसपासबाट नामथर स्पष्ट नखुलाएका व्यक्तिहरुले दिई पठाएको र उक्त सामान काठमाडौं विमानस्थल आसपास तथा विभिन्न होटलहरुमा रिसिभ गर्न आउने व्यक्तिलाई दिनु भनेर ल्याएको खुलेको छ ।

बरामद सुन जस्तो देखिने धातु तथा पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

नेपालमा वैध बाटोबाट सुन ल्याउँदा लाग्ने भन्सार शुल्क नपरोस् भनेर सुन तस्करले तस्करीको नयाँ तरिका अपनाउन थालेका हुन् ।

प्रहरीले विमानस्थलमा दिनुहँजसो सुनसहित विदेशबाट स्वदेश फर्किएका नेपालीहरुलाई पक्राउ गर्दै आएको छ ।

बार्हखरीमा प्रकाशित सामाग्री 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।