देश विदेश

वैदेशिक रोजगारीमा जाने बढे, श्रम स्वीकृति लिन ठेलमठेल

शेयर गर्नुहोस्

कोरोना महामारीका कारण दुई वर्षयता धेरै नेपालीले विदेशमा काम गुमाए भने वैदेशिक रोजगारीमा जाने अवसर पनि पाएका थिएनन् । तर, कोरोना महामारीको असर घट्दै गएपछि पछिल्लो केही महिनायता वैदेशिक रोजगारी फेरि पुरानै लयतर्फ उन्मुख भएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार मुख्य रुपमा खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत, साइप्रस ,ओमान लगायतका देशमा पनि नेपालीहरु गइरहेका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङ महामारीका कारण आउन छाडेको श्रमिकको माग एक्कासी आउँदा वैदेशिक रोजगार क्षेत्रमै तरङ्ग आएको बताउँछन् । विदेशमा खोप अभियानपछि व्यवसायिक तथा औद्योगिक क्षेत्र चलायमान भएकाले श्रमिकको माग बढेको उनको भनाइ छ ।

‘महामारीका कारण डर त्रासले नै श्रमिकहरु फर्किएका थिए, कतिपय उद्योग व्यवसाय बन्द भएका थिए, ती सबै क्षेत्र अहिले सञ्चालनमा आएका छन्,’ उनले भने, ‘आर्थिक गतिविधि बढेपछि विदेशमा श्रमिकको अभाव भएको छ, यसले यहाँ माग पनि बढ्न पुगेको हो ।’

अबको केही महिना श्रमिकको माग बढ्दै जाने गुरुङको आकलन छ । यसले नेपालका बेरोजगार युवा र महामारीले ठप्प रहेको वैदेशिक रोजगार व्यवसायलाई लाभ मिल्ने गुरुङ बताउँछन् ।

वैदेशिक रोजार विभागका अनुसार २०७८ वैशाखमा २४ हजार ३६३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । त्यसमा १२ हजार ५३७ जना नयाँ श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिएकाहरु थिए ।

गत साउनदेखि कात्तिकसम्म १ लाख ५६ हजार ५७ जना नेपाली वैधानिक रुपमा वैदेशिक रोजगारीका लागि गएका छन् ।

साउनदेखि कात्तिक महिनासम्म्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ९६ हजार ३३४ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ७२३ पुगेको छ ।

श्रम स्वीकृति लिन ताहचलमा ठेलमठेल

विदेशिने नेपालीको संख्या बढेपछि सरकारलाई भने श्रम स्वीकृति लगायतका सेवा प्रवाहमा कठिनाइ परेको छ । श्रम स्वीकृति दिने ताहचलस्थित वैदेशिक रोजगकार कार्यालयमा भीड बढेपनि सेवा प्रवाहमा कोटा प्रणाली कायम राखिएको छ ।

भीड बढ्दै गएपछि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले आवश्यक सुधारहरु गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले अनलाइन तथा अफलाइन टोकन संख्या बढाउन, सहायता कक्ष स्थापना गर्न, प्रक्रियागत झन्झटहरु बटाएर सहजीकरण गर्न र दुई सिफ्टमा सेवा प्रवाहको व्यवस्था मिलाउन भनेको थियो ।

मन्त्रालयको निर्देशनअनुसार ताहाचलबाट दुई सिफ्टमा श्रम स्वीकृति दिन दिन थालिएको विभागले जनाएको छ । ताहचलमा हिजोआज राति ८ बजेसम्म सेवा दिनुपर्ने अवस्था आएको विभागको भनाइ छ ।

यो खबर अनलाइन खबर मा प्रकाशित छ।

यो पनि पढ्नुहोस् : ज्यान जोखिममा राखेर टर्की पुगेर पनि २ औला र १५ लाख गुम्यो। यसरि ठग्छन एजेन्टले !

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।