महत्वपूर्ण जानकारीसाइप्रस न्युज

इ-पासपोर्ट बनाउने कसरी ? साइप्रसबाट बनाउन कति रकम लाग्छ ?

शेयर गर्नुहोस्
समिम मियाँ
१३ डिसेम्बर २०२१/ लार्नाका

नेपाल सरकारले  मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को प्रतिस्थापन गर्दै तेस्रो पुस्ताको पासपोर्ट ई–पासपोर्ट (विद्युतीय राहदानी) जारी गर्न सुरु गरेको छ। केन्द्रीयस्तरमा जारी भएको इलेक्ट्रोनिक पासपोर्ट मंसिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाट र केहि समय पछि विदेश स्थित नेपाली नियोग बाट पनि जारी हुनेछ।

डिजिटल चिपमा आधारित ई–पासपाेर्ट जारी भएपछि सेवाग्राहीलाई झन्झट कम हुने र आफ्नो विवरण पनि थप सुरक्षित हुने बताइएको छ।

ई–पासपोर्ट बनाउनको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको भए पनि विदेश मा हुनेले नयाँ इ-पासपोर्ट बनाउन परेमा राष्ट्रिय परिचयपत्र आवश्यक नपर्ने राहदानी विभागले जनाएको छ। साइप्रस वा इजरायल दुतावास  बाट भने २ महिना पछि बाट मात्र आवेदन दिन मिल्ने विभागले जानकारी दिएको हो।

नेपालमा फाराम बुझाउनेहरुको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग वा जिल्ला वा तोकिएका इलाका प्रशासन छान्न सकिने र जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिंदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिने व्यवस्था छ ।

राहदानी विभागमा सामान्य अवस्थामा र राष्ट्रिय परिचयपत्रसँगको विवरण भिडेको र आवश्यक कागजात रुजु भएको अवस्थामा मात्र दुई कार्य दिनको सेवा लिन सकिन्छ ।

NEpali-mini-market-nicosia-cyprus-ads

अबदेखि संसारभर प्रचलित, वैज्ञानिक र भरपर्दो मानिएको इलेक्ट्रोनिक पासपोर्ट सुरु भएको विभागले जनाएको छ।

सेवाग्राहीले पहिलेको पासपोर्टमा जस्तै बुकलेट पाउनेछन्। नयाँ इलेक्ट्रोनिक पासपोर्ट ३४ पृष्ठको छ। नयाँ पासपोर्ट राष्ट्रिय परिचयपत्रसँग पनि कनेक्ट गरिएको विभागले जनाएको छ। उक्त कार्यको लागि विभाग र गृह मन्त्रालयले समन्वय गरेका छन्।

विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार यो पासपोर्ट जारी गर्न धेरै समय लाग्दैन। सेवाग्राहीलाई पनि कार्यालयमा धेरै समय कुर्नुपर्दैन। उनका अनुसार यो उत्तिकै विश्वसनीय छ।

विगतमा प्रदान गर्दै आएको पासपोर्टभन्दा यो पासपोर्ट बनाउन निकै कम समय लाग्छ। यस्तो पासपोर्टमा राखिएको व्यक्तिगत रेकर्ड र विवरणहरू फेरबदल गर्न झन्झट हुने भएकोले कागजात पेस गर्दा चेकजाँच गर्न आग्रह गरिएको छ।

राहदानी लिनको लागि अनिवार्यरुपमा अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । छिटो बुकिग गर्नेको पालो पहिले आउँछ ।

विभागले नेपाली नागरिकलाई साधारण राहदानी जारी गर्छ। यो जारी भएको एक वर्षभित्र सम्बन्धित व्यक्तिले लगिसक्नुपर्छ नभए विभागले रद्द गर्नेछ। पटक–पटक विदेशिनुपर्नेका लागि ६६ पृष्ठको र छोटो अवधिका लागि चाहिनेका लागि ३४ पृष्ठको साधारण राहदानी जारी गरिने निर्देशक आरनले जानकारी दिए। तल उल्लेखित लिंक खोलेपछि आवेदनको प्रकार र राहदानीको प्रकार छान्नु पर्छ ।

हाल ३४ पृष्ठको साधारण राहदानी मात्र छान्नु होला । ६६ पृष्ठको राहदानी करिब दुई हप्ता पछि उपलब्ध हुन्छ ।

इ पासपोर्ट को लागि आवेदन दिन यहाँ क्लिक गर्नुहोस्।

डिभोर्स भएका महिलाले पुर्व श्रीमान् को थर नराखी पासपोर्ट लिन चाहेमा डिभोर्स पेपर सहित आवेदन दिएमा पुर्व श्रीमान् को थर नराखी पासपोर्ट लिन सकिन्छ।

साइप्रस र इजरायल लगायत अन्य देश बाट इ-पासपोर्ट बनाउन कति शुल्क लाग्छ ?

रुसी महासंघ र नेपाली राजदुतावास मस्कोको सहप्रमाणित मुलुक र साइप्रसको लागि नेपाली नियोगमा निवेदन दिएर राहदानी लिँदा प्रति राहदानी चौतिस पृष्ठको हकमा ८० युरो र छैसट्ठी पृष्ठको हकमा १३० युरो वा सो बराबरको स्थानीय मुद्रा शुल्क तिनुपर्छ।

साथै, इजरायल, मलेसिया, कतार, साउदी अरेविया, संयुक्त अरब इमिरेट्स, बहराइन, लेबनान, इराक, इरान, कुवेत, सिरिया, जोर्डन, ओमान र यमन स्थित नेपाली नियोग र सो नियोगको सहप्रमाणिकृत मुलुकको लागि सम्बन्धित नियोगबाट राहदानी लिँदा चौतिस पृष्ठको ५० अमेरिकी डलर र छैसट्ठी पृष्ठको हकमा १०० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा शुल्क तिनुपर्छ।

रुसी महासंघ र नेपाली राजदुतावास मस्कोको सहप्रमाणित मुलुक र साइप्रस बाहेकका युरोपेली मुलुकका विदेश स्थित नेपाली नियोगबाट राहदानी लिँदा चौतिस पृष्ठको १२० युरो र छैसट्ठी पृष्ठको हकमा १७० युरो वा सो बराबरको स्थानीय मुद्रा शुल्क तिनुपर्छ

उत्तर र दक्षिण अमेरिकी महादेश अन्तर्गतका देशहर, अष्ट्रेलिया, न्युजिल्यान्ड, जापान, दक्षिण कोरिया र हङकङस्थित नेपाली नियोगमा निवेदन दिँदा प्रति राहदानी चौतिस पृष्ठको हकमा १५० अमेरिकी डलर र छैसष्टि पृष्ठको दुई सय डलर वा सो बराबरको स्थानीय मुद्रा लाग्छ।

माथिका बाहेक अन्य एसियाली, अफ्रिकी र बाँकी सबै देशस्थित नियोगमा राहदानी बनाउनको लागि निवेदन दिँदा प्रति राहदानी चौतिस पृष्ठको हकमा ८० अमेरिकी डलर र छैसट्ठी पृष्ठको हकमा १३० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा शुल्क तिनुपर्छ

यदि  राहदानी हराएको, पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानी प्रयोग हुन नसक्ने भएकोमा नियोगबाट नयाँ राहदानी लिनुपर्दा तोकिएको शुल्कको दोब्बर शुल्क तिर्नुपर्छ।

१३ डिसेम्बर २०२१ पछि विद्युतीय राहदानीको लागि बुकिग गर्ने समय पाउन सहज हुँदैछ ।

१६ बर्ष माथिका र नेपालमा आवेदन गर्नेहरुको हकमा Activate भएको राष्ट्रिय परिचय पत्र नम्बर आवश्यक पर्छ । Activate भए नभएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको हट लाइन नम्बरमा  फोन गरेर वा भाइबर ह्वास्ट एपमा मेसेज पठाएर एकीन गरी सकेपछि मात्र लाइभ इनरोलमेन्टको लागि जानुहोला ।

विद्युतीय राहदानी सम्बन्धी थप जानकारी आवश्यक परेमा विभागको हटलाइन नम्बरहरु वा मोवाइल नं. ९८५१३२६८०१ र ९८५१३२६८०२ मा कार्यालय समय भित्र सम्पर्क गर्न सकिन्छ ।

अनलाइन भुक्तानीको व्यवस्था छिटै गरिने बिभागले जनाएको छ । हाल नगदबाट भुक्तानी गर्न सकिने व्यवस्था छ ।

यो पनि पढ्नुहोस् : इ-पासपोर्ट बारे  तपाइँ ले जान्नै परे कुराहरु , धेरै सोधिने प्रश्नहरु।

 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।