प्रवास

गैरकानुनी रुपमा टर्कीबाट ग्रीस छिर्ने क्रममा चारजना नेपालीको मृत्यु भएको पुष्टि

शेयर गर्नुहोस्
सझासबालमा प्रकाशित सामाग्री

गत मंसिरमा ग्रीसको उत्तरपूर्वी सिमाना नजिक भएको मिनिबस दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस छिर्ने क्रममा मध्यरातमा उनीहरुको गाडी दुर्घटनामा परेर मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन् ।

ग्रीस प्रहरीले पठाएको फोटो प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) को वेबसाइटमा राखिएको थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको भिएनास्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासका द्वितीय सचिव धनञ्जय मेहताले कन्सुलर सेवा विभागबाट सोमबार दूतावासलाई चार वटै शवको पहिचान भएको जानकारी प्राप्त भएको र अब शवलाई नेपाल पठाउने प्रक्रिया शुरु गरिसकेको बताए ।

दुर्घटनामा घाइते भएका अन्य दुई नेपाली भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्य सोही गाडी दुर्घटनामा परेर बाँच्न सफल भएका थिए ।

हाल ग्रीसको एथेन्स शहरमा रहेका उनीहरुबाट नै गाडीमा अन्य चार जना नेपालीहरु पनि सवार रहेको खुल्न आएको थियो ।

उक्त दुर्घटनामा चार नेपालीसहित सातजना आप्रवासीहरूको मृत्यु भएको थियो भने दुई नेपाली सहित आठ जना घाइते भएका थिए ।

उक्त घटनामा खटिएका प्रहरीहरुको अनुसार गाडी तीव्र गतिमा यात्रा गरिरहेको अवस्थामा दुर्घटनामा परेको थियो । चालक आफै मानव तस्करीमा संलग्न थिए ।

राजमार्गबाट ​​बाहिर निस्कन खोज्दा उक्त मिनिबस नियन्त्रण बाहिर हुँदा टोल बुथमा ठोक्किएको थियो, त्यसपछि छेउछाउको भण्डारण कन्टेनरमा ठोक्किएर ७ जनाको मृत्यु भएको स्थानीय संचार माध्यमहरुके समाचार लेखेका थिए । उक्त सवारीको चालक भने घाइते मात्र भएका थिए ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।