देश विदेश

बैंक खाताबाटै रकम चोरी, प्रहरीमा उजुरीको चाङ

शेयर गर्नुहोस्

विराटनगर महानगरपालिका–५ का प्रणयकुमार पोखरेलको विराटनगरस्थित एनआईसी एसिया बैंकको खातामा रहेको २९ हजार रुपैयाँ एकाएक गायब भयो । विद्युत प्राधिकरणका पूर्व कर्मचारी पोखरेलको खातामा डिसेम्बर १७ मा प्राधिकरणले अघिल्लो महिनाको पेन्सन २९ हजार ४५३ रुपैयाँ ९९ पैसा जम्मा गरिदिएको थियो । तर उनले आफ्नो बैक खातामा सञ्चित रकम चलाउन नपाउँदै अरुले नै खाताबाट सो रकम झिकेको म्यासेज उनको मोबाइलमा आएको थियो ।

 

डिसेम्बर १८ का दिन दिउँसो १२ः२२ मा पोखरेलको मोबाइलमा बैंकबाट २५ हजार रुपैयाँ डेबिट भएको (निकालेको) म्यासेज आयो । त्यसको केही बेरमै फेरि ४ हजार रुपैयाँ निकालेको म्यासेज आयो । ‘म घरमै बसिरहेको थिएँ, अचानक दुई पटक रकम झिकेको म्यासेज आयो । मैले रकम झिकेको थिइनँ र कसैलाई चेक पनि दिएको थिइनँ । के भयो भनेर बैंकमा गएर बुझ्दा नविल बैंकमा रकम ट्रान्सफर भएको जानकारी पाएँ,’ पोखरेलले भने ।

उनी रकम खोजी गर्दै विराटनगरकै नविल बैंक पुगे । नविल बैंकले अरुको खाता हेर्न नपाइने बताएर उनलाई फिर्ता पठायो । पेन्सन बापतको रकम आफ्नै खाताबाट हराएपछि उनी एनआइसी एसिया बैंकमै गए । बैंकले खाताबाट रकम हराएको उनको गुनासोप्रति कुनै ध्यान दिएन, बरु प्रहरीमा उजुरी गर्न भन्यो ।

पोखरेलले भने, ‘हामी बैंकमा पैसा राखेपछि ढुक्क हुन्छौं, सुरक्षित छ भन्ने ठान्छौं तर मैले बैंकमा गएर मेरो पैसा बैंकबाटै हरायो खोजीदिनु पर्‍यो भन्दा प्रहरीमा उजुरी दिनु, यहाँबाट केही हुँदैन भन्ने जवाफ पाएँ ।’

त्यसपछि पोखरेल जिल्ला प्रहरी कार्यालय मोरङमा गए । उनले खातामा रकम जम्मा भएको र हराएको सबै विवरण उल्लेख गरी उजुरी दिए । प्रहरीले यस्ता धेरै घटना आएको र अहिलेसम्म यसरी हराएको रकम फिर्ता गर्न नसकेको जानकारी दिँदै तर पनि खोजी गरिदिने आश्वासन दिएर कारवाही प्रक्रिया अघि बढायो । प्रहरीले रकम ट्रान्सफर भएको नविल बैंकको उक्त खाता रोक्का गरिदिन पत्र लेखिदियो । पोखरेल सो पत्र बोकेर नविल बैंक गए । तर, नविल बैंकले एनआइसी एसिया बैंकले उपलब्ध गराएको विवरणमा उल्लेखित खाता नम्बर आफ्नो बैंकको नभई ‘फेक’ रहेको बतायो ।

पोखरेलको पैसा नविल बैंकबाट २५ हजार ई–सेवामा र चार हजार ‘खल्ती’ डिजिटल सेवामा गएको विवरण छ । खल्तीको केवाइसीमा उल्लेख भएको मोबाइल नम्बर पदम पौडेलको नाममा दर्ता भएको पाइएको छ । तर, प्रहरी भने पौडलले नै रकम लगेको भन्नेमा विश्वस्त छैन । पोखरेलको यो समस्या प्रहरीका लागि नौलो थिएन र यस्ता थुप्रै उजुरी प्रहरीसँग थियो । बैंकबाट पैसा हराएको र चोरी गर्ने व्यक्ति फेला नपरेको घटना प्रहरीका लागि तनाबको विषय थियो ।

गत मंसिर ७ गते विराटनगरका मनोजकुमार जैसवालको खाताबाट पनि यसैगरी रकम चोरिएको थियो । राष्ट्रिय वाणिज्य बैंकमा रहेको उनको खाताबाट १ लाख ५८ हजार रुपैयाँ हरायो । जैसवालको खाताबाट लक्ष्मी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक र खल्ती सेवामा उक्त रकम ट्रान्सफर भएको भेटियो तर रकम जैसवालले ट्रान्सफर गरेका थिएनन् ।

उनको उजुरीमाथि प्रहरीले एक महिनादेखि अनुसन्धान गरिरहे पनि रकम चोर्ने व्यक्तिको नजिकसम्म पुग्न सकेको छैन ।

त्यसैगरी मंसिर ९ गते विशाल राजवंशीको एनआइसी एसिया बैंकमा रहेको खाताबाट २ लाख ३० हजार रुपैयाँ हरायो । राजवंशीको खातामा भएको उक्त रकम अरु कसैले झिकेको देखिएपछि प्रहरीमा राजवंशीले उजुरी दिएका छन् । तर, प्रहरी सो रकम झिक्ने व्यक्तिसम्म अहिलेसम्म पुग्न सकेको छैन ।

पछिल्ला समय बैंक खाताबाटै धमाधम रकम हराउन थालेपछि बैंकमा पैसा राखेर ढुक्कले बसेका सर्वसाधारणमा त्रास बढेको छ ।

विराटनगरस्थित एनआइसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकबाट समेत रकम हराइरहेको पाइएको छ । इ–सेवा, खल्ती, इमो र ह्वाट्सएपको प्रयोग गर्दै ह्याकरहरूले बैंकको पैसा आफ्नो खातामा रकमान्तर गर्ने क्रम बढेको हो ।

खातावालाले प्रहरीमा उजुरी दिए पनि प्रहरी त्यस्ता अपराधी पत्ता लगाउन असफल बन्दै आएको छ । बैक जस्तो संवेदनशील वित्तीय संस्थाबाट एकाएक सर्वसाधारणको पैसा हराइरहँदा सर्वसाधारणको निक्षेप सुरक्षाप्रति राष्ट्र बैंक र सरकारको ध्यान जान सकेको छैन ।

प्रविधिको प्रयोग गरी चोरी गर्नेले बैंक र यस्ता सेवा प्रदायक संस्थालाई माध्यम बनाउनुले ती संस्थाहरुको कमजोर सुरक्षा प्रणाली उजागार गरेको सरोकारवालाहरु बताउँछन् ।

प्रहरीमा उजुरीको चाङ

पछिल्लो दुई महिनाको अवधिमा मोरङ प्रहरीमा बैंकबाटै रकम चोरी हुने र बैंकका सेवाग्राही ठगिएको उजुरी बढेको छ । बैंकको खाताबाट रकम चोरी भएका प्रायः घटनामा खल्ती र इसेवा जस्ता सेवा प्रदायक संस्थाहरुको प्रयोग हुने गरेको पाइएको छ ।

पीडितले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान अघि बढाए पनि अपराधी पत्ता लाग्न सकेको छैन ।

‘पीडितको उजुरीका आधारमा अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले भने, ‘प्रहरीको एकल प्रयासमा मात्र समस्या समाधान गर्न कठिन छ ।’ यस विषयमा नेपाल राष्ट्र बैंक पनि समवेदनशील हुनुपर्ने उनले बताए ।

प्रहरी नायव उपरीक्षक श्रेष्ठले पछिल्लो समयमा यस प्रकारको समस्यासहित सात वटा उजुरी परेको बताए । उनले बैंकमा जम्मा भएको रकम बैंकबाटै हराउँदा सम्बन्धित बैंक नै त्यसको पहिलो जिम्मेवार हुनुपर्ने भन्दै बैंकले प्रहरीतिर समस्या पन्छाउनुभन्दा समस्या समाधानका लागि संयुक्त पहल गर्नुपर्ने देखिएको बताए

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।