संघसंस्था गतिविधि

लिम्बु जातिहरुले कसरी चासोक तङ्नाम मनाउछन त ?

शेयर गर्नुहोस्

लेखक :- सन्देश मदेन

हामी नेपालका मुलबासी लिम्बू समुदाय आफैमा मौलिक सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो । हाम्रो मौलिक संस्कृति मध्ये कृषि जीवनशैलीसँग मुख्य सरोकार रहेको चासोक तङ्नाम सांस्कृतिक पहिचान दिलाउने चाड हो । विभिन्न जातजातिको पनि कृषिसँग आफ्नै सम्बन्ध भए पनि लिम्बूका लागि भने सामाजिक, पारिवारिक, राजनीतिक, सांस्कृतिक, नैतिक जीवन पद्धतिबारे निर्देश गर्ने मुन्धुममै स्पष्ट उल्लेख भएकाले चासोक तङ्नामलाई विशेष चाडका रूपमा मनाउँदै आएका छौ ।

चासोक (न्वागीपूजा) अर्थात् उँधौलीलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानेका छन् । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । ‘याक्थुङ मुन्धुम’ मा चासोक तङ्नामको शुरुआतबारे वर्णन गरिएको छ ।

मुन्धुमअनुसार कृषि युगअघि आदिम याक्थुङ्वाका पूर्खा सावायेत्हाङहरू जङ्गलमा पाइने तरुल, भ्याकुर, कन्दमूल आदि आगोमा नपकाई का“चै खाएर जीवनयापन गर्थे । जसले गर्दा कुपोषण र रोगव्याधिको सिकार हुन्थे । त्यसबाट मुक्ति पाउन उनीहरूले सर्वशक्तिमान तागेरा निङ्वाफुमाङ (प्रकृति) को पूजाआराधना गरे । त्यसपछि उनीहरूले पेनारमाङदःक् (कोदो), परामा (कोदोसँगै फल्ने बिरुवा), ताक्मारु (घैया धान), तुम्री (जुनेलो), साङ्घामा, लिङ्घामा र लङ्वामा आदि अन्नका बीउबिजन पनि पत्ता लगाए ।

आदिम पुर्खा सावायेत्हाङहरूले प्रकृतिबाट यसरी पाएको बीउबिजन तिनका चेली सिवेरा एक्थुक्मा र सिवेरा यावुङ्केक्माले काठ, ढुङ्गाको खन्ती र अङ्कुसेले खोरिया फा“डेर भस्मेमा छरिन् । त्यसपछि सावायेत्हाङहरूले बीउ बिजनको महत्व बुझेर सामुहिक खेतीपाती गर्न सिके । खेतीपातीसँगै उनीहरूले खोरिया र भस्मेमा उत्पादन भएका अन्नबाली आगोमा पकाएर खान थाले । बल्ल सावायेत्हाङका सन्तानले कुपोषण र रोगव्याधिबाट मुक्ति पाए । अन्नबालीको बीउ संरक्षण गर्दै खेती गर्न र फलेको बाली आगोमा पकाएर खान सिकाउने आदिम स्त्री सिवेरा याक्थुङ्मा (युमा?) प्रति हार्दिक कृतज्ञता प्रकट गर्न सावायेत्हाङहरूले पहिले सिवेरा याक्थुङ्मालाई चढाए ।

अनिमात्र सावायेत्हाङहरूले ती अन्नबाली खाने वाचा गरे ।यसरी मुन्धुम’ वर्णन गरिएको आधारमा अहिलेसम्म लिम्बू समुदायले मानव हित गर्ने सिवेरा एक्थुक्माप्रति कृतज्ञता व्यक्त गर्न अन्नबाली फलेपछि पैंयुको फूल फुलेसँगै मंसिर पुसमा चासोक तङ्नाम गर्दै आएका छन् ।( नया पाकेको बाली आफ्नो पितृ पुर्खा या प्रकृती लाई चढाउने ) चाडपर्व मनाउदै आएका छन ।

यो चाड हामी लिम्बू समुदायमा सामाजिक सद्भाव र सम्बन्ध बढाउने माध्यम बनेको छ । पछिल्लो कालखण्डमा चासोक तङ्नामलाई सामुहिक रूपमा मनाउँदै नया“ पुस्तामा हस्तान्तरण गरेर सांस्कृतिक सम्पदालाई कायम राख्ने प्रयास लिम्बू समुदायले जारी राखेका छन् । यो एकदमै महत्त्व र सरहनिय कार्य हो ।

सर्बाधिकार लेखकमा निहित छ ।

शेयर गर्नुहोस्