देश विदेश

ऋणले थला पर्न थालेको श्रीलंका पुगे चिनियाँ विदेशमन्त्री

शेयर गर्नुहोस्

२५ पुस, काठमाडौं । चीनका विदेश मन्त्री वाङ यीले कर्जा संकट र विदेशी मुद्राको अभाव झेलिरहेको श्रीलंकाको भ्रमण गरेका छन् । चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरई) अघि बढाउने उद्देश्यसहित यी श्रीलंका पुगेका हुन् ।

माल्दिभ्सको भ्रमणपछि शनिबार श्रीलंका पुगेका यीले त्यहाँका राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग छलफल गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

आज नै चिनियाँ लगानीमा निर्माण गरिएको चर्चित कोलम्बो पोर्ट सिटीबाट यी र प्रधानमन्त्री राजापाक्षेले सम्बोधन गर्ने बताइएको छ ।

आन्तरिक एवं वैदेशिक ऋण संकट र विदेशी मुद्रा सञ्चिती हालसम्मकै न्यून हुँदा श्रीलंकाको अर्थतन्त्र टाट पल्टिने जोखिममा रहेका बेला चिनियाँ विदेशमन्त्रीले श्रीलंकाको भ्रमण गरेका हुन् ।

श्रीलंकाले गत वर्षको आर्थिक संकटसँग जुध्न लिएको १ अर्बसँगै चीनलाई ५ अर्ब अमेरिकी डलरभन्दा बढी ऋण तिर्न बाँकी छ । विशेषगरी चिनियाँ ऋणमा बनेको पूर्वाधारबाट राजस्व संकलन हुन नसक्दा श्रीलंकामा ऋण संकट देखा परेको हो ।

यसबाहेक, श्रीलंकामा हाल विदेशी मुद्रा सञ्चिती केबल १ अर्ब ६० करोड रहेको छ । जुन रकम केही हप्ता आयात गर्न मात्रै पुग्छ । विदेशी मुद्राको अभावका कारण आयातकर्ताले अत्यावश्यक वस्तु बोकेका कार्गो भित्र्याउन सकेका छैनन् भने उत्पादकले बाहिरबाट कच्चा पदार्थ ल्याउन सकिरहेका छैनन् ।

हालसम्मकै खराब आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा मुद्रास्फीति र खाद्यान्नको मूल्य आकाशिँदा समेत जनजीवन निकै कष्टकर बनेको छ । पछिल्लो संकटमा कोभिड-१९ को महामारी र यसबाट पर्यटन क्षेत्रमा परेको असरको समेत हात रहेको छ ।

शेयर गर्नुहोस्