देश विदेश

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सेप्टेम्बरबाट एयर अरेबिया र विज एयर थपिँदै, हप्तामा चार उडान गर्दै !

शेयर गर्नुहोस्

काठमाडौं : भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि आगामी सेप्टेम्बरदेखि दुई अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी थपिने भएका छन्।

एयर अरेबिया र विज एयरले आउँदो सेप्टेम्बरदेखि नियमित व्यावसायिक उडान गर्ने तयारी गरेको विमानस्थल प्रवक्ता श्यामकिशोर शाहले बताए। उनका अनुसार एयर अरेबियाले साताको चारवटा उडान गर्ने अनुमति पाइसकेको छ।

आउँदो साता सेक्युरिटी अडिटका लागि विज एयरका प्राविधिक निरीक्षणका लागि भैरहवा आउने तयारी रहेको उनले जानकारी दिए। हंगेरी बेस रहेको यो अल्ट्रा लो कस्ट वायुसेवाले एयरबसको ३२१ निओ सिरिजको जहाज संचालनमा ल्याउने योजना बनाएको छ।

विजको १ सय ९० सिट क्षमताको यो जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको हो। यी दुई कम्पनी आएसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या तीनवटा पुग्ने छ।

यो विमानस्थल संचालनमा आएसँगै व्यावसायिक उडान सुरु गरेको जजिरा एयरवेजले भने तत्काल उडान संख्या थप्ने योजना नरहेको बताउँदै प्रवक्ता शाहले भने,’दुई दिन यता यात्रु सहभागिता कमै छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशन दिए अनुसार नेपाल वायुसेवा निगमको तर्फबाट ग्राउण्ड ह्याण्डलिङमा कुनै सहुलियत दिइएको छैन। कम्पनीले सेप्टेम्बरबाट मात्र उडान संख्या वृद्धि गर्ने जनाएको छ।

ग्राउण्ड ह्याण्डलिङ बापत एकपटक भैरहवा आउँदा कम्पनीले करिब तीन लाख रुपैयाँ तिर्दै आएको उनले जानकारी दिए। यता नागरिक उड्डयन प्राधिकरणले भने ल्याण्डिङ, पार्किङ, कम्युनिकेसन, नेभिगेसन वापतको शुल्क शतप्रतिशत छुट दिइएको उनले जानकारी दिए। उनका अनुसार यो कम्पनीले साताको तीनवटा उडान गर्दै आएको छ।

शेयर गर्नुहोस्