देश विदेश

इ-पासपोर्ट बनाउन लाइन , अनलाइनको भने पनि सास्ती उस्तै

शेयर गर्नुहोस्

काठमाडौ ।

त्रिपुरेश्वरको नयाँ भव्य भवनमा नारायणहिटीबाट सरेपछि सेवाग्राहीलाई लागेको थियो अब पासपोर्ट सजिलै पाइनेछ । त्यसमा अनलाइन प्रणालीसमेत अपनाएपछि पासपोर्ट वितरण झनै सहज हुन्छ । तर, त्यसो हुन सकेन । मोरङका राजकुमार बास्तोला पुरानो पासपोर्ट हराएपछि नयाँ पासपोर्ट बनाउन भनेर काठमाण्डौ आउनु भएको एक हप्ता भयो । तर, उहाँले अझै अनलाइन फर्म भर्न सक्नु भएको छैन ।

दुबई जानका लागि भिसा आइसकेको बताउने बास्तोला निराश हुँदै भन्नुहुन्छ, ‘मेरो त फर्म नै सबमिट भएको छैन । भयो भने पनि हप्ता, दश दिन यसै लाग्छ । अनि पासपोर्ट पाउने चाहिँ कहिले ?’ आफू जस्ता पीडितहरुको लागि बास्तोलाको सुझाव छ, ‘जसको भिसा लागिसकेको छ, टिकट भइसकेको छ र पासपोर्ट हरायो वा अन्य कुनै कारणले मिसप्लेस भयो भने त्यस्ता व्यक्तिका लागि छुट्टै व्यवस्था गरिदिए हुन्थ्यो ।’

पासपोर्टका लागि अनलाइन फर्म पहिले बेलुकी ४ बजेपछि खुल्थ्यो, अहिले बिहान ११ बजे नै खुल्छ । त्यसमा पनि धेरैको फर्म समावेश हुँदैन । घरबाटै अनलाइन फर्म भर्नेहरु धेरैको फर्म समावेश नभएको गुनासो छ । तर, विभाग नजिक अनलाइन फर्म भर्न भनेर बसेकाहरुले फर्म भर्दा भने समावेश हुने गरेको छ । सामान्यतया एउटा अनलाइन फर्म भरेको २ सय रुपैयाँ लिने गरेका छन् फर्म भर्नेहरुले । तर, यसमा पनि २ हजार रुपैयाँदेखि ४ हजार रुपैयाँ लिने गरेको बताउँछन् सेवाग्राही ।

बाराबाट आउनु भएका रामरतन दास अनलाइन फर्म कतिबेला खुल्छ भनेर अनलाइन फर्म भर्ने ठाउँमा लाइन लागेर बस्नुभएको छ । म्यानपावर कम्पनीलाई बुझाएको पासपोर्ट कम्पनीले हराइदिएका कारण उहाँले यो सास्ती पाउनु भएको हो । फर्म भर्न प्रतिक्षारत दास भन्नुहुन्छ, ‘म्यानपावरले नै पासपोर्ट हराइदियो । अहिले भिसा आइसकेछ । कम्पनीले नै चाँडो पासपोर्ट बनाएर ल्याउ भन्छ । अब यस्तो तालले कहाँ कहिले बनाएर लाने । फर्म भरेका २ सय रुपैयाँ लाग्ने गरेकोमा मसँग अहिले ४ हजार मागिरहेछन् । अर्जेन्टी छ अब दिने कि नदिने ।’

पहिले नारायणहिटी दरबारको पश्चिम गेटमा रहेको राहदानी विभागबाट एमआरपी अर्थात मेशिन रिडेबल पासपोर्ट जारी हुँदा सेवाग्राहीको एकदमै भिडभाड हुने गर्थ्याे । एमआरपीमा भिडभाड भएका कारण अनलाइनमार्फत पासपोर्ट वितरण प्रणाली अपनाइयो । तर, यसले पनि सेवाग्राहीको भिडभाड र लाइन भने कम हुन सकेन । नाम अनलाइन भए पनि मानिस स्वयं उपस्थित पनि हुनुपर्ने हुनाले यसले अनलाइनका नाममा लाइन बसाएर झन दुःख थपिदिएको छ ।

बाजुराबाट पासपोर्ट बनाउन आउनु भएका मदनदास तिमल्सिना लाइन बसेर असिन पसिन भएर बाहिर निस्कनु भएको छ । उहाँले एक दिन अगाडि मात्रै अनलाइन फर्म भरे पनि उहाँको भने फर्म समावेश भयो र भोलिपल्टै बायोमेट्रिकको पालो आयो । भित्रबाट असिन पसिन भएर आउनु भएका तिमल्सिना भन्नुहुन्छ, ‘धेरै अप्ठ्यारो छ । एउटै लाइन ४५ मिनेट बस्नुपर्छ । बल्ल बायोमेट्रिक सकियो । अझ राजश्व बुझाउन बाँकी छ ।’

उहाँले थप्नुभयो, ‘म भने पानी खान मन लागेर साथीलाई लाइनमा राखेर आएको । १२ हजार रुपैयाँको भौचर काटेको छ । अब एकछिनमा गएर बुझाउनुपर्छ । बल्ल २१ दिनपछि पासपोर्ट आउँछ भन्छन्, हेरौँ अब कहिले आउने हो ।’

सुनसरीका बाबुराम ठकुरी पासपोर्ट बनाउन भनेरै काठमाण्डौ आउनु भएको हो तर यहाँको भिड र मान्छेले पाएको दुःख देखेर उहाँ अब काठमाण्डौबाट नभएर जिल्लाबाटै राहदानी बनाउने निष्कर्षमा पुग्नुभएको छ । ‘म पासपोर्ट बनाउन भनेर हिजो बेलुका आएको । तर, यहाँको गतिविधि देखेर फर्म नभरीकन बसिराखेको छु’ उहाँले भन्नुभयो ।

पार्सपोर्ट बनाउन कति दिन लाग्छ भन्ने ठ्याक्कै यकिन छैन । अनलाइन फर्म भर्दा कसैको फर्म स्वीकृत भइहाल्छ भने कसैको फर्म भने एकै पटकमा स्वीकृत हुँदैन । फर्म स्वीकृत भइहाले पनि कसैको भोलिपल्ट नै बायोमेट्रिकको लागि पालो आउँछ भने कसैको एक हप्ता पनि लाग्न सक्छ । यसले गर्दा टाढा टाढा जिल्लाबाट आएका मान्छेलाई काठमाण्डौको लामो बसाइले खर्च धेरै लाग्ने र कोही कोही अड्कलेर लिएर आएको रकमले नपुगेर बेखर्ची भइ सापटी लिनुपर्ने अवस्थासम्म हुन्छ ।

‘टाढा टाढा जिल्लाबाट आएर काठमाण्डौमा बसेको छ । भाडा तिर्नुपर्छ । खान महंगाइ छ । यस्तो अवस्थामा पासपोर्ट निकाल्दा करिब करिब ५० हजारदेखि ६० हजार रुपैयाँ खर्च हुन्छ जस्तो लागिसक्यो मलाई । त्यसमाथि अरु दुःख छँदैछ’ ठकुरीले आफ्नो अनुभव सुनाउनुभयो ।

विभागले नागरिकलाई सहज होस् भनेर अनलाइनको व्यवस्था गरे पनि झन् असहज र अप्ठ्यारो छ । पासपोर्टको माग नै धेरै भएका कारण भिड रहेको विभागका प्रवक्ता डमरुवल्लभ पौडेल बताउनुहुन्छ । ‘विभागले दैनिक २ हजार पासपोर्ट इस्यु गर्छ । दैनिक २ हजार लिन आउने अनि २ हजार बनाउन आउने अनि उहाँहरुसँग आउने साथीसमेत हुँदा दैनिक झण्डै ५/६ हजार मान्छेको भिड त धान्न गाह्रो हुन्छ नि’ उहाँले भन्नुभयो ।

विभागले अनलाइन सेवा भने पनि सम्पूर्ण काम अनलाइन हुँदैन । केवल फर्म भर्ने काम मात्र अनलाइन हुन्छ । फर्म भरिसकेपछि फर्म लिएरै रुजु गर्न भौतिक रुपमा उपस्थित हुनुपर्छ । बैंक पनि विभागभित्र भएको हुँदा बैंकमा पैसा बुझाउन पनि लाइन बस्नुपर्छ । साथै बायोमेट्रिक गर्न पनि भौतिक रुपमा उपस्थित हुनुपर्छ । अर्को कुरा कन्सुलर सेवा विभाग पनि राहदानी विभागभित्रै छ । जहाँ विभिन्न दस्तावेजहरु प्रमाणित गर्न जानुपर्छ ।

ई–पासपोर्ट भने पनि केवल फर्म भर्ने काम मात्र अनलाइन र बाँकी सबै कामको लागि मान्छे आफैँ उपस्थित हुनुपर्ने साथै दैनिक झण्डै ५/६ हजार मान्छे आउने हुँदा विभागको भिड कम गर्न नसकिएको बताउँदै प्रवक्ता पौडेल भन्नुहुन्छ, ‘दिनमा यत्तिको मान्छे आउने अफिस भिडभाड नभएर के हुन्छ ?  उज्यालो अनलाइन मा प्रकाशित 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।