देश विदेश

सीमानामा अलपत्र नेपालीलाई तत्काल प्रवेश दिन नेपाली कांग्रेसको माग

शेयर गर्नुहोस्

जिएनएन
नेपाली कांग्रेसले सीमानामा अलपत्र नेपालीलाई तत्काल प्रवेश दिन माग गरेको छ। कांग्रेस प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरेर सीमामा अलपत्र रहेका नेपालीलाई नेपाल भित्रिन दिन माग गरेका हुन्।

भारत सरकारले रेल र बसमार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउनेबारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त भएको शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्।

कयौं नाकामा प्रवेश नपाएर नेपालीहरु अलपत्र स्थितिमा रहेको पनि उनले बताएका छन्। ‘नेपाली कयौं दिनदेखि भारत संगको विभिन्न सिमा नाकामा अलपत्र स्थितिमा छन्, पछिल्लो चौबीस घण्टामा थप हजारौं नेपाली सिमा क्षेत्रमा आइपुगेको विवरण नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

जोखिमरहित ढंगले प्रवेश गराउन सरकारले तत्काल गम्भीरतासाथ पहल नगरे खाने बस्ने कठिनाइमा हजारौं नेपाली दशगजा क्षेत्रमा थप प्रताडित हुने प्रवक्ता शर्माले उल्लेख गरेका छन्।

लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्ने भएकाले नाकामा आइपुगेका सबै नेपालीलाई व्यवस्थित ढंगले प्रवेश गराउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

‘साथै उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परिक्षण पश्चात् सुरक्षित रूपमा घर पुर्‌याउने प्रबन्ध गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

लुकिछिपी प्रवेशबाट यसबीचमा संक्रमण फैलिन योगदान पुगेको परिदृश्य स्मरण गर्दै सतर्कता र उच्च मानवीय भावना साथ सरकार हुनुको दायित्व निर्वाह गर्न नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको छ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *