देश विदेश

राष्ट्रिय जनगणनाको तयारी हुँदै

शेयर गर्नुहोस्

वाग्मती । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रिय जनगणना, २०७८ को तयारी भइरहेको छ । नेपालमा सर्वप्रथम विसं १९६८ सालमा शुरु भएको यो जनगणना विसं २०७८ सालमा हुने जनगणना नेपालको १२औँ राष्ट्रिय जनगणना हो । २०७८ को तयारीस्वरुप मकवानपुरमा नमूना जनगणना गत असारमा सम्पन्न भएको छ । कोरोना भाइरसको प्रकोपका कारण २०७६ चैतमा सम्पन्न हुने नमूना जनगणना असारमा सकिएको हो । नमूनाका लागि मकवानपुरको चार स्थानलाई गणना क्षेत्र मानेर जनगणना भएको जिल्ला तथ्याङ्क कार्यालय मकवानपुरका तथ्याङ्क अधिकृत राजेश दासले जानकारी दिए ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ९ मा, थाहा नगरपालिकाको २ नम्बर वडामा र इन्द्रसरोवर गाउँपालिकाको ५ नम्बर वडामा नमूना जनगणना भएको थियो । एक सुपरिवेक्षकसहित चार गणकद्वारा चार गणना क्षेत्रका ६३८ घरको जनगणना भएको थियो । असारमा भएको नमूना जनगणनामा मकवानपुरको तथ्याङ्क ६५ प्रतिशत मात्र आएको अधिकृत दासले बताए । कोभिड–१९ को अवस्थामा भएको नमूना जनगणनामा सबै तथ्याङ्क आउन नसेकेको बताइएको छ ।

कार्यालयका अनुसार ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित राष्ट्रिय जनगणना आगामी २०७८ जेठ २५ गतेबाट असार ८ गतेसम्म हुने भएको छ । नेपाल राजपत्रमा राष्ट्रिय जनगणना, २०७८ को एकीकृत प्रश्नावली यही भदौ १५ गते प्रकाशित पनि भइसकको छ । राष्ट्रिय जनगणना, २०७८ मा सोधिने प्रश्नावलीमा घर र घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सार्वजनिक गरिएको छ । पहिलो प्रश्नावलीमा सुपरिवेक्षकले घर तथा घरपरिवार सूचीकरणमार्फत प्रत्येक घर तथा परिवारमा पुगी सम्पूर्ण घरको प्रयोगसहित सङ्ख्या, घरको तला, परिवारको बैंक खाता, ऋणमा पहुँच, सरकारी अनुदानमा बनेको घर, व्यावसायिक तथा प्राविधिक शिक्षा वा तालीम, परिवारमा अक्सर बसोबास गरेका परिवारका सदस्य (महिला, पुरुष र अन्य लिङ्गी) सङ्ख्या र परिवारको कृषिसम्बन्धी लगायतका विवरणहरु सङ्कलन गरिनेछ । दोस्रो तथा मुख्य प्रश्नावलीमार्फत परिवारिक विवरण र व्यक्तिगत विवरणहरु सङ्कलन गरिने छ ।

पारिवारिक विवरणमा घरको स्वामित्व, घरको संरचना, खानेपानी, शौचालय, बत्तीको स्रोत, खाना पकाउने इन्धन, मृत्युसम्बन्धी, परिवारमा अनुपस्थित विदेश गएका, महिलाको नाममा घरजग्गा तथा साना घरेलु व्यवसाय तथा अन्य घरायसी साधन र सुविधाहरु आदिको विवरण सोधिनेछ । त्यसैगरी व्यक्तिगत विवरणमा घरपरिवारका सदस्य तथा व्यक्तिको लिङ्ग, उमेर जातजाति, भाषा धर्म वैवाहिक स्थिति, बालबालिका, अपाङ्गता, बसाइसराइ, प्रजनन्, आर्थिक क्रियाकलापलगायतका विवरणहरु सङ्कलन गरिनेछ । घर तथा घरपरिवार सूचीकरण आगामी २०७८ साल वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म २० दिन र मुख्य प्रश्नावली २०७८ जेठ २५ देखि असार ८ गतेसम्म १५ दिन हुने भएको छ ।

त्यस्तै तेस्रो प्रश्नावलीको विवरण सुपरिवेक्षकले प्रत्येक स्थानीय तहका सबै वडा कार्यालयबाट सामुदायिक प्रश्नावलीमार्फत वडास्तरको आधारभूत स्रोत, साधन क्षमता र पूर्वाधारसम्बन्धी विवरणहरु सङ्कलन गर्नेछन् । नेपालमा विसं १९६८ (सन् १९११) मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता प्रत्येक दश–दश वर्षमा जनगणना हुँदै आएको छ । पछिल्लो पटक सम्पन्न राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कअनुसार देशको कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ ।


श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *