देश विदेश

सडकले फेरिँदै रूपाको रूप

शेयर गर्नुहोस्

‘पोखरा–रूपै फेर्ने रूपा ।’ विहान एउटा, दिउँसो अर्को र साँझमा फरक रूप देखिन्छ रूपातालको । यहीँ रूपाकै नामबाट बन्यो रूपा गाउँपालिका । कास्कीको पूर्वीउत्तर क्षेत्रमा रहेको रूपा गाँउ विकासको दृष्टिकोणले निकै पछाडी छ । यसैको उदाहरण हो सडक सञ्जाल ।

विकासको पहिलो सूचक मानिएको सडक पूर्वाधार यहाँ ढिलो मात्रै बनेको छ । कास्कीमा पोखरा महानगरपालिकासँगै ४ वटा गाउँपालिका छन् । संघीयता आउनुभन्दा पहिले सडक सञ्जालको विकास खासै थिएन । तर, अहिले रूपाको रूपै फेरिएको छ । सडक सञ्जाल गाउँपालिकाका सबै वडामा पुगेको छ ।  

गाउँपालिका स्थापनाअघि सडक सञ्जाल केवल धुलाम्मे थियो । ट्रयाक मात्रै खोलेर राखिएको थियो । कालोपत्रे भन्ने गाउँपालिकामै थिएन् । थियो त केबल २० मिटर मात्रै । संघीयता पछि बनेको गाउँपालिकाले सडक निर्माणलाई प्राथामिक्तामा राख्यो ।

  

‘हाम्रो गाउँपालिकाको २० मिटर मात्रै सडक कालोपत्रे थियो,’ गाउँपालिकाका अध्यक्ष नवराज ओझाले भने ‘अहिले सडकले रूप फेरेको मात्रै छैन यहाँका नागरिकको दैनिकी समेत परिवर्तन गरिदिएको छ ।’ संघीयताको पहिलो वर्ष स्थानीय तह कानुन निर्माणमा जुट्यो । त्यसपछिका वर्ष कानुन बनाएर कार्यन्वयन गर्ने तर्फ अग्रसर रह्यो । पछिल्ला वर्षहरूलाई गाउँपालिकाले सडक पूर्वाधारको वर्षका रूपमा मनाउने निर्णय गर्‍यो । निर्णयसँगै गाउँपालिकाको सबै वडामा सडक सञ्जाल पुर्याउने व्यवस्था गाउँपालिकाले गरेको थियो । ‘सोही नीति अनुसार अहिले ८५ किलोमिटर सडक कालोपत्रे हुने अन्तिम तयारीमा पुगेको छ,’ उनले भने ‘सबै जसो सडकको निर्माण टेण्डरमा गइसकेको छ । बन्ने क्रम अन्तिम चरणमा छन् ।’

रूपाकोट–थुम्कीसम्मको १३ किलोमिटर सडक निर्माण भएको छ । बेगनास–भोर्लेटार १२ किलोमिटर सडकको काम भइरहेको छ । शिशुवा–पोल्याङटारसम्मको १६.२ किलोमिटर निर्णाधिन चरणमा छ ।

गाउँपालिकमा ७ वटा वडा रहेका छन् । सबै वडालाई धुने रिङरोड (चक्रपथ) निर्माण गर्ने योजनासहितको काम प्रक्रियामा गइसकेको बताइएको छ । चक्रपथ ६४ किलोमिटरको बन्ने छ । चक्रपथको पहिलो खण्ड पोल्याङ–फैंचोकसम्मको १० किलोमिटर सडकको काम सुरु भएको गाउँपालिकाको अध्यक्ष ओझाले बताए ।  

गाउँ जोडिने विभिन्न कनेक्टिङ सडकलाई समेत प्राथमिकतामा राखेर काम भइरहेको उनको भनाइ छ । कनेक्टिङ रोड ५.२ किलोमिटर सडकलाई अमेरिकन प्रविधिको अस्फाल्ट प्रविधिबाट कालोपत्रे गरिएको छ । साना सडकलाई ढलान गरिएको छ । ‘सडकको नयाँ ट्रयाक खोल्नेभन्दा पनि पुराना ट्रयाकलाई स्तरोन्ननि गर्न प्राथमिकतामा राखेका छौं ।’ अध्यक्ष ओझाले भने ।

कास्कीकै तेस्रो ठूलो ताल रूपाको वरपर समेत सडक बन्ने छ । तर, त्यो सडक केवल साइक्लिङ ट्रयाक मात्रै हुने विश्वास छ । पूर्वाधारकै रूपमा बाँध विहीन रूपातालमा बाँध निर्माणको काम समेत अगाडि बढाइएको छ । बाँधले तालको सहत बढाउने छ । सतह बढेसँगै अन्य विकास (विशेष गरी पर्यटन) हुने गाउँपालिकाको विश्वास छ ।

अभियान खानेपानी

गाउँपालिकाको चालु आर्थिक वर्षको अभियान खानेपानी भएको अध्यक्ष ओझाले बताए । प्रत्येक घरमा खानेपानीको पुर्‍याउने लक्ष्यका साथ गाउँपालिकाले काम गर्दै आएको उनले बताए ।

स्थानीय तह हुनुअघि गाउँले खानेपानीको अभाव झेल्दै आएका थिए । १ सय २ घरपरिवार मात्रै खानेपानीको पहुँच भित्र थिए । तर, अहिले ८० प्रतिशत घरमा खानेपानीको धारा पुगेको बताइएको छ । ‘एक घर, एक धारा हाम्रो अभियान हो ।’ गाउँपालिका अध्यक्ष ओझाले भने, ‘यो वर्षलाई हामीले खानेपानीको वर्ष मनाउने निर्णयसँगै खानेपानीको पहुँच सबैमा पुर्‍याउने गरी काम गरेका छौं ।’

गाउँपालिकामा ४ हजार ५ सय घरपरिवार छन् । सबै घरपरिवारलाई आधारभुत खानेपानी पुर्‍याउन गाउँपालिकाकै बजेट खर्चिएको छ । केही ठूलो आयोजनालाई भने दातृ संस्थालाई आग्रह गरिएको छ । अध्यक्ष ओझाका अनुसार ६ करोड रुपैयाँको बजेट दातृ निकायसँग मागेर खानेपानी आपूर्तिको लागि योजना अघि बढाइएको छ । गाउँपालिकामा विभिन्न ५४ वटा खानेपानी योजनाहरूमा काम भइरहेका बताइएको छ । ‘आयोजनाहरू सबै अन्तिम चरणमा पुगेका छन्,’ अध्यक्ष ओझाले भने, ‘आयोजना सकिएपछि सबै गाँउलेको घरमा खानेपानीका धारा जडान गरिने छ । खानेपानीको पहुँच पुग्ने छ ।’

खानेपानीसँगै सिंचाइलाई समेत व्यवस्थापन गरिएको छ । बाँझो जमिनमा सिंचाइको सुविधा पुर्‍याई खेती गरिने लक्ष्य गाउँपालिकाको छ । ७ हजार रोपनी क्षेत्रफललाई सिंचाइ सुविधा पुर्‍याइने छ । यसबाट उत्पादन भएका कृषिजन्य वस्तुलाई बजारीकरण गरेर गाउँपालिकालाई कृषिबाटै समृद्धि बनाउने योजना छ । सिंचाइको पहुँच पुगेपछि कृषिको पकेट क्षेत्र बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष ओझाले बताए । पशुपालनलाई समेत विशेष प्राथमिकता राखेर कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।  

‘सिंचाइ सुविधा नहुँदा बर्खे धान मात्रै उत्पादन हुन्थ्यो । अब गहुँ, आलु, बेमौसमी तरकारीलगायत उत्पादनमा ध्यान दिइएको छ,’ अध्यक्ष ओझाले भने । कृषिको लागि पकेट क्षेत्र बनाइएको छ । सहकारी मार्फत विरुवा तथा बीउ विजन उत्पादन गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा वार्षिक ७ क्वीन्टल कफी उत्पादन भएको तथ्यांक छ । २ हजार लिटरभन्दा बढी मह उत्पादन भएको छ । ‘सहकारी मार्फत उत्पादन गरेर बजारीकरण गर्न सहजीकरण गरिने छ,’ गाउँपालिका अध्यक्ष ओझाले भने ।

२१ विद्यालयमा पक्की भवन

गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि पनि उस्तै राम्रो काम गरेको स्थानीयको भनाइ छ । शिक्षा र स्वास्थ्यमा नयाँ ‘आयाम’ ल्याउने गरी काम गरेको गाउँपालिकाको दाबी छ । अहिलेसम्म २१ वटा विद्यालयको पक्की भवन निर्माण गरेको बताइएको छ ।  

गाउँमै कृषिको इन्जिनियरिङ पढाइ सुरु गरिएको छ । यो विषय अन्य स्थानीय तहमा अहिलेसम्म छैन । सिभिल इन्जिनियरिङको पढाइ समेत सुरु गरिएको छ । गाउँका युवाहरूलाई रोजगारयुक्त शिक्षा प्रदान गरेर बेरोजगारी समस्याको समाधान गर्ने अभियानमा गाउँपालिकाले काम गर्दै आएको अध्यक्ष ओझाले बताए ।  

विद्यालयस्तरीय पढाइलाई थप गुणस्तरीय बनाउने योजना समेत अघि बढाइएको उनको भनाइ छ । गाउँपालिकाले ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम समेत सञ्चालन गरेको छ । विद्यालयलाई प्रविधि मैत्री बनाउने उद्धेश्यले उक्त अभियान सञ्चालन गरेको अध्यक्ष ओझाले बताए ।

स्वास्थ्यका काम

गत चैत ११ गतेदेखि कोरोना भाइरसका कारण लकडाउन सुरु भएको थियो । लकडाउनसँगै कोरोना सम्बन्धी सचेतनाको कार्यक्रम सबैभन्दा पहिला यही गाउँपालिकाले नै गरेको थियो । सम्भावित जोखिमलाई ध्यानमा राखेर आइसोलेसन तथा क्वारेन्टिन निर्माण गरिएको थियो । गाउँपालिकावासीको घर घरमा पुगेर औषधि समेत पुर्‍याइएको थियो । स्वास्थ्य चौकीको स्तरोन्नति गरिएको छ । स्वास्थ्य चौकीमा ल्याब (प्रयोगशाला) को समेत व्यवस्थापन गरिएको छ ।

पर्यटनलाई प्रोत्साहन

पर्यटन आर्थिक विकासको मेरुदण्ड नै हो । पर्यटन विकास नै दिगो विकासको आधार पनि हो । रूपै फेर्ने रूपातालदेखि पोखराको बजार नै नियाल्न सकिने स्याकलुङकोट डाडो छ ।

स्याकलुङकोट पर्यटनको गन्तव्य हो । कोटबाट पोखरा र आसपासका बजारसँगै उत्तरी क्षेत्रको हिमाली दृष्य देखिन्छ । यहाँ पार्क निर्माण गरिएको छ । भ्यु टावर समेत छन् । बाल उद्यान छ । होमस्टे मार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्य गाउपालिकाको रहेको छ । पाहुँनालाई गाउँमै बनाइएको ठेकी (काठको भाँडो) उपहार उपलब्ध गरेर वन पर्यटनलाई प्रोत्साहन गर्दै आएको छ ।  

पर्यटनसँगै गाउँपालिकाले खेलकुद क्षेत्रमा समेत फड्को मार्दै आएको छ । एक निर्वाचन क्षेत्र, एक खेलमैदानसँगै एक वडा, एक मैदानको नीतिलाई कार्यन्वयनमा लिएर खेल मैदानको पूर्वाधार समेत बनाउने तयारी गाउँपालिकाको छ ।

प्रकाशित: २८ माघ २०७७ ०८:०९ बुधबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *